१३ औँ दक्षिण एसियाली खेलकुदः सुरक्षा व्यवस्था कडा, ८९ वटा होटल बुकिङ !

मंसिर १३, काठमाडौं । मंसिर १५ गतेदेखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी लगभग पूरा भइसकेको छ ।   

सागलाई लक्षित गर्दै प्रहरीले सुरक्षा व्यवस्था पनि कडा पारिसकेको छ । सागमा अवाञ्छनीय गतिविधि हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको हो । सागलाई सुरक्षित रुपमा अवतरण गर्न भिभिआइपी, भिआईपी, अतिथि, खेलाडी, पदाधिकारी, रेफ्री, मिडिया र दर्शकको सुरक्षा व्यवस्थामा कमी नहुने प्रहरीको भनाइ छ ।   

विदेशी पाहुनाका लागि सुरक्षा अझ चुस्त गरिनेछ । सम्भावित हुलदङ्गाका लागि होटलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा समेत विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको छ ।   

पाहुनाहरुलाई विमानास्थलदेखि होटलसम्म, खेल्ने मैदानदेखि उनीहरुले भ्रमण गर्ने स्थलसम्म कडा सुरक्षा हुनेछ । आइतबारदेखि औपचारिक रुपमा सुरु हुने सागका लागि १८ हजार सुरक्षा तैनाथ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।   

प्रहरी प्रधान कार्यालयका अनुसार साग प्रतियोगितामा नेपाल प्रहरीमात्र १० हजार ५ सय परिचालन हुनेछन् ।   

महानगरीय प्रहरी परिसर काठमाडौँबाट ४ हजार ५००, जिल्ला प्रहरी कार्यालय कास्कीबाट २ हजार, महानगरीय प्रहरी परिसर ललितपुरबाट १ हजार ४००, जिल्ला प्रहरी कार्यालय धनुषाबाट ६ सय, ट्राफिक प्रहरी ७ सय र प्रहरी प्रधान कार्यालय मातहतबाट १३ सय जना प्रहरी सागमा परिचालन हुनेछन् ।   

प्रहरी महानिरिक्षक खनालले विशेष परिस्थितिका लागि थप सुरक्षाकर्मीको टिम तयार गरिने जानकारी दिए । यसैगरी सदस्यसचिव सिलवालले दर्शहरुलाई रङ्गशालामा रहेका सिटमा क्षति नपुर्याउन आग्रह गरे । रङ्गशालामा दर्शकहरुको गतिविधिलाई निगरानी गर्न सिसिटिभी जडान गरिएको त छ नै इ टिकटबाट पनि दर्शक पहिचान गरी कारवाही गरिनेछ । 

साग खेलमा अफिसियल, प्रशिक्षक र निर्णायकहरु गरेर ५५ सयभन्दा बढी उपस्थित हुनेछन् । यस्तै विदेशी पाहुनाहरुको लागि मध्यनजर गर्दै काठमाडौँका ३१, ललितपुरका १२, जनकपुरका ३ र पोखराका ४३ होटल समेत बुकिङ गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।   

ट्राफिक व्यवस्थापन 

सागमा काठमाडौँका सडकमा हुने जामलाई व्यवस्थापन गर्न चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन विभिन्न उपाय अपनाइने भएको छ । सागको समयमा ठूला मालवाहक सवारी साधन रिङरोडभित्र प्रवेश गर्न नदिने बताइएको छ ।   

दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गमा वानवे लागू गरिनेछ । उद्घाटन तथा समापनका दिन रिङरोडभित्र जोर–बिजोर सवारी साधन मात्र चलाउन पाउने नियम लागू गरिएको छ ।   

दर्शकका लागि पार्किङ स्थल टुँडिखेलमा तोकिएको छ । सो स्थानमा पार्किङ गर्न काठमाडौँ मल अगाडिको ढोका प्रयोग हुनेछ । रंगशालाभित्र भीभीआइपीको मात्र पार्किङ हुनेछ । 

टिकट 

राष्ट्रिय खेलकुद परिषद्ले सागमा हुने खेलका लागि इ सेवासँग सहकार्य गरेको छ । इ सेवाले अहिले फुटबल, बास्केटल र भलिबलका टिकट अनलाइनमार्फत् बिक्री सुरु गरिरकेको छ । सागमा खेल हेर्न चाहनेहरुले साग डट इसेवा डट कम डट एनपीमा गएर टिकट खरिद गर्न सक्नेछन् । 

खेलमा नेपालबाट ५ सय ९९ जना खेलाडीहरुले सहभागीता जनाउने छन् ।  जसमा ३ सय १२ पुरुष र २ सय ८७ महिला खेलाडीहरु छन् ।   

आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ्ग, जुडो, कराँते, शुटिङ्ग, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, भारोत्तोलन, उसु, कुस्ती, भलिबल, विच भलिबल, फुटबल, ह्याण्डबल, बास्केटबल, ३ इन्टु ३ बास्केटबल, खो खो, ट्राइयाथोलन, कबड्डी, क्रिकेट, गल्फ, साइक्लिङ्गमा प्रतिस्पर्धा हुनेछ ।   

खेलहरु काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा हुनेछन् । 

राखेपले प्रतियोगिताको प्रशारण अधिकार भारतीय कम्पनी नक्षत्र न्युजलाई बेचिसकेको छ । प्रतियोगिताका अधिकांश खेल नेपाल टेलिभिजनमा प्रत्यक्ष हेर्न पाइनेछ ।   

मंसिर २४ गते खेल समापन हुनेछ । सोही दिन विदेशी पाुहनाहरुलाई बिदाई गरिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *