राम–जानकी विवाहपञ्चमी महोत्सवः जन्तीलाई स्वागत गर्न राष्ट्रपति जनकपुरमा

मंसिर १३, जनकपुरधाम । जनकपुरमा साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव धुमधामका साथ मनाईँदै छ ।
त्रेतायुगमा भगवान राम र सिता बीच भएको वैवाहिक कार्यक्रमको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामका साथ मनाइने यो विवाहपञ्चमी हेर्न भारत लगायत विभिन्न मुलुकका भक्तजनहरु सहभागी भएका छन् ।
सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत शुक्रबार चौथो दिन तिलकोत्सव मनाईँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारी पनि आज जनकपुर पुगेकी छिन् ।

यो दिन अयोध्याबाट जन्ती लिन आउने प्रचलन छ । अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम पुगेकी हुन् ।
शुक्रबार रङभूमी मैदानमा एक कार्यक्रमका बिच राष्ट्रपति भण्डारी जन्तीलाई स्वागत गर्नुका साथै जानकी मन्दिरमा पूजा समेत गर्नेछिन् । राष्ट्रपति भण्डारीले सम्बोधन समेत गर्ने कार्यक्रम छ ।
विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन आज रंगभुमि मैदान बाह्रबिग्हामा तिलकोत्सव, मटकोर, स्वयंवर मनाइनेछ । वैवाहिक कार्यक्रम पश्चात रामकलेवा अर्थात विदाई समारोह आयोजना गरिने चलन छ।
विवाहपञ्चमीमा कुनै प्रकारको अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था समेत कडा पारिएको छ।








