डा. केसीले स्थगित गरे अनशन

कार्तिक २६, काठमाडौं । डा. गोविन्द केसीले आफ्नो जारी १७ औं अनशन स्थगित गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले देशको सीमा विवादको मुद्दा चलेका कारण उक्त मुद्दा सुल्झाउन साथ दिनका लागि अनशन स्थगित गरेको जानकारी गराएका हुन् ।
भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिए समाचारले आफूलाई स्तब्ध बनाएको डा. केसीले बताए ।
‘सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो । आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’, डा. केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ, केसीले जारी गरेको विज्ञप्तिः
दूरदारजमा बस्ने विपन्न लगायत सबै नागरिकको सुलभ, सस्तो वा निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो, गुणस्तरीय चिकित्सा वा स्वास्थ्य शिक्षा पाउने अधिकारका लागि हामी लामो समयदेखि लडिआएका छौं । यसै क्रममा सरकारसमक्ष विभिन्न ७ बुँदै माग राखेर यही कार्तिक १७ गतेदेखि सत्याग्रहरत छौं । यही बीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ ।
यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु । सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो । सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिं छैन । आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा विना भेदभाव र विना भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ । आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो ।
तर सत्तामा हुनेहरुले राष्ट्रियताको वहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन । त्यसैले अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कुटनीतिक माध्यमबाट मिचिएको भुमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं । त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन । चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन ।
राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं । तर स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि हाम्रो लडाइँ जारी रहने तथा सरकारले हाम्रा माग पूरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने जानकारी पनि गराउँदछौं । हामीलाई यस सत्याग्रहका क्रममा हृदयदेखि सहयोग गर्ने तथा हाम्रो अभियानसँग जोडिने देशभरका सबै नागरिकहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दर्छौं । डडेल्धुरा, बैतडी र डोटीलगायत सुदुरपश्चिमका सबै जिल्लाका आम नागरिक, डडेल्धुरा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, स्थानीय पत्रकारहरु, पेशागत संघ संगठनका सदस्यहरु, उद्योगी व्यवसायीहरु, यातायात व्यवसायी र मजदुरहरु लगायतप्रति विशेष कृतज्ञता व्यक्त गर्दर्छौं ।
डा. गोविन्द केसी
डडेल्धुरा २०७६।७।२६








