बैदेशिक रोजगारीमा गएकाहरु समुह गठन गरेरै विपन्नलाई सहयोग गर्छन्

कात्तिक १६, बाग्लुङ । वैदेशिक रोजगारीमा गएकाहरुलाई केवल घरको माया मात्र छैन यो देश र समाज प्रति पनि उनीहरु चिन्तन मनन गर्छन । आवश्यक पर्दा गाउँ समाजमा हुने मेला महोत्सवदेखि आपतविपदमा परेकाहरुलाई उत्तिकै सहयोग गर्दछन ।   

संस्थागत होस या व्यक्तिगत या समुह बनेर जुन सुकै ढंगबाट भएपनि सहयोग गर्ने परम्परा आजभोली निकै बढेको छ । दुखःसुखमा साथ दिने र आत्मियता राख्ने नेपालीको स्वभाव सदियौं देखि समाजमा रहँदै आएको छ ।   

पछिल्लो समय यसैको एउटा ज्वलन्त उदाहरण हो रोजगारीको सिलसिलामा जापानमा रहेका केहि युवाहरुको समुह । यो समुहले विगत डेढ वर्ष यता प्रत्येक महिना कुनै न कुनै विपन्न, गरिब, दलित र पिछडीएका परिवारलाई सहयोग गर्दै आइरहेको छ । ५/६ जना मिलेर Help Every Month For Someone  निर्माण गरेर डेढ वर्ष देखि मासिक सहयोग गरिरहेको छ ।   

ग्रुपमा बिमल श्रेष्ठ, प्रल्हाद अधिकारी, निशान भट्ट, लोकेन्द्र भण्डारी, सुवास खत्री र मिन थापा रहेका छन । उनीहरुले कहिले धादिङको चेपाङ बस्तीका विपन्न परिवार, कहिले चितवनका मृगौला पिडित, कहिले आर्थिक अभावमा परेका विद्यालय, विद्यार्थीलाई लत्ता कपडा र नगद सहयोग गर्दै आईरहेका छन ।   

यो समुहले केहि दिनअघि बागलुङको गलकोट नगरपालिका ७ मल्मका २ परिवारलाई नगद र लत्ता कपडा सहयोग गर्यो । स्थानिय जनहित कला केन्द्रको ५ औं वार्षिकोत्सव तथा तिहार मेलाको अवसरमा मल्मका विपन्न परिवार कुमारी दमाई र धन कुमारी विश्वकर्मालाई झण्डै ५० हजार बराबरको खाद्यान्न, लत्ता कपडा र नगद सहयोग हस्तान्तरण गरेको ग्रुपका सदस्य सुवास खत्रीले जानकारी दिए ।   

समाजमा आपत विपतमा परेका नागरिकलाई थोरै भएपनि राहत होस भन्ने उद्देश्यले समुह मार्फत सहयोग गर्न थालिएको खत्रीले बताए । गत वर्ष धादिङको गल्छी गाउपालिका वडा नं ३ पोखरीका कृष्ण वाणालाई नगद २१ हजार, ६ हजारको खाद्यान्न र ३ हजारको लत्ता कपडा सहयोग प्रदान गरिएको सदस्य मिन थापाले बताए । थापाका अनुसार धादिङकै ज्वालामुखी वडा नं १ का प्रसाद दुवाडीलाई नगद ४० हजार आर्थिक सहयोग गरिएको छ ।   

समुहले प्रत्येक महिना देशभरका कुनै न कुनै स्थानमा डेढ वर्ष यता सहयोग गर्दै आईरहेको छ । उनीहरुले आफु सक्दो रकम समुह भित्रै संकलन गरेर समाजमा सहयोग गर्दै आईरहेको सदस्य निशान भट्टले बताए । उनले विदेशमा रहेर पनि आफनो देशमा आर्थिक अभावका कारण दुख पाईरहेकाहरुलाई सेवा गर्नु आफुहरुको दायित्व रहेको जिकिर गरे । यस्ता अभियानले धेरैलाई राहत त प्राप्त भएको छ नै प्रेरणा र हौसला पनि मिल्ने समुहले विश्वास लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *