आलम प्रकरणः जाहेरवाला पीडित र साक्षीलाई सुरक्षा चुनौति, कडा सुरक्षा दिँदै प्रहरी

मंसिर ५, काठमाडौँ । राजपुर बमकाण्डमा निलम्वित सांसद मोहम्मद आफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि जाहेरवाला, पीडित र साक्षीलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ ।
छोरा मारिएको भन्दै आलमविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका श्रीनारायण सिंहको सुरक्षाका लागि रौतहट प्रहरीले प्रहरी हवल्दार खटाएको छ । उनले २४ सै घण्टा सिंहको सुरक्षा दिँदै आएका छन् ।
जाहेरवालामध्ये सिंहलाई बढी सुरक्षा थ्रेट देखिएकाले प्रहरी खटाइएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए । अर्का जाहेरवाला रोक्सना खातुनको ०६७ माघ १० गते हत्या भइसकेको छ ।
null
खातुनको हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन । सिंह परिवारको सुरक्षाका लागि नजिकैको चौकीबाट समेत प्रहरी खटिने गरेका छन् ।
पछिल्ला दिनमा प्रत्यक्षरूपमा धम्की नआएको तर फकाउने मनसायले कुराहरू आउने गरेको सिंहका छोरा सतेन्द्रप्रताप सिंहले बताए । आलमको मुद्दामा प्रहरीले अनुसन्धान गर्दा पनि सिंह परिवारलाई मुद्दा फिर्ताको दबाब आएको थियो ।
बम बिस्फोटका घाइते भनिएका सर्लाही जिल्ला गडैता–२ पिपरातटोलका सफि अहमद तथा भारतको बिहार राज्यस्थित बैरगनिया मुसाचौकका गौरीशंकर रामलाई पनि प्रहरीले सुरक्षा दिएको छ । अहमद र रामले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। उनीहरूलाई प्रहरीले आफ्नो सेल्टरमा सुरक्षा दिएको छ ।
यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।








