अन्धकारमय सैपाम गाउँ, समस्याबाट गुज्रिएको विद्यालय

मंसिर ६, । चितवनको खैरहनी नगरपालिका ९ सिमलटाँडीबाट करिव ३० मिनेटको समयमा कालिका नगरपालिका ११ को सैपाम गाउँ पुग्न सकिन्छ ।
कालिका नगरपालिकाबाटै पुग्न सैपाम गाउँमा पुग्न करिव १ घण्टा वढि समय लाग्छ । तर सहज बाटो भने कालिका तिरबाट छैन् । खैरहनीको सिमलटाँडी हुँदै मोटरसाईकल मार्फत जंगलको बाटो भएर सो गाउँ पुगिन्छ । जंगलको बाटो हाल सालै निर्माण गरिएको छ ।
कालिका नगरपालिकाको अन्य क्षेत्रको तुलनामा भौगोलिक हिसावले सैपाम विकट पनि छैन । तर पनि यहाँ अहिले सम्म बिजुली पुुग्न सकेको छैन । जसका कारण यहाँका स्थानीय अन्धकारमय जीबन बिताउन बाध्य छन् । उनीहरु अहिले पनि टुकीको साहारामा छन् ।

कतिले सोलार जडान गरेका छन् । सैपाममा ५५ घरधुरी छ । उनीहरु सबै चेपाङ समुदायका हुन् । स्थानीय शुभ शान्ति राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर प्रजाका अनुसार बिजुली बत्ती ल्याउन अहिले सम्म पहल भएको छैन् । वर्षौदेखी अन्धकारमा जीवन बिताउनु परेको छ । अध्यक्ष प्रजाले भने ‘धेरैले टुकी बाल्छन्, थोरैको घरमा एक दुई बटा बत्ती बल्ने सोलार छ ।’
सैपाम विद्यालयमा विद्यार्थी छ, संरचना छैन्
सैपाममा शुभ शान्ति राष्ट्रिय आधारभूत विद्यालय छ । त्यहाँ वाल विकास कक्षादेखी ३ कक्षा सम्म अध्यापन हुन्छ । पछिल्लो दुई वर्षको डाटा हेर्दा गत वर्षको तुलनामा यस वर्ष विद्यार्थी बढेका छन् । कक्षा ३ सम्म मात्र पठनपाठन हुने भएकाले कक्षा ४ पढ्न त्यहाँका विद्यार्थीहरु छिमेकी नगरपालिकाको विद्यालय धाउनु पर्ने बाध्यता छ । अघिल्लो वर्ष ५९ जना विद्यार्थी रहेको सो विद्यालयमा चालु वर्षमा ७३ जना पुगेका छन् । खाजा कार्यक्रमले त्यहाँ विद्यार्थी टिकेका छन् ।
सैपाम विद्यालयको वाल विकास कक्षामा २६ जना, कक्षा १ मा २४ जना, कक्षा २ मा १२ जना र कक्षा ३ मा ११ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ३ उर्तिण भएपछि सैपामका विद्यार्थी छिमेकी राप्ती नगरपालिका १० मा रहेको समीटार माध्यमिक विद्यालय र राष्ट्रिय आधारभूत विद्यालय पोखरी जानु पर्ने बाध्यता रहेको शुभ शान्ति राष्ट्रिय आधारभूत विद्यालय सैपामका प्रधानाध्यापक नविन गुरुङले बताए । उनले भने ‘आफ्नै वडामा नजिकै माध्यमिक विद्यालय छैन, कक्षा ४ देखी अध्ययन गर्न छिमेकी नगरपालिका जानु पर्ने अवस्था छ ।’ सैपामबाट समीटार पुग्न करिa २ घण्टा तथा पोखरी पुग्न डेढ घण्टा हिड्नु पर्छ । भौगोलिक अवस्थाकै कारण कतिपयले त ३ कक्षा पछि पढाई छाड्ने गरेका छन् । ३ कक्षा पढेपछि ४ कक्षामा भर्ना भएपनि केही दिन हाजिर भएर छाड्ने गरेको उनको भनाई छ । यस विद्यालयबाट अध्ययन गरेका २ जनाले यस वर्ष एसईई उर्तिण गरेका छन् ।
भौगोलिक विकटताले गाँजेको सैपाम स्थित शुभ शान्ति राष्ट्रिय आधारभूत विद्यालय भौतिक रुपमा पनि गरिव छ । भौतिक संरचना अभावका कारण पठनपाठनमा समस्या हुँदै आएको विद्यालयका प्रधानाध्यापक गुरुङ बताउँछन् । विद्यालयको जम्मा ४ वटा कोठा छ । बाल विकास कक्षादेखी कक्षा ३ सम्म ४ वटा कोठा आवश्यक पर्छ । तर कोठा अभावका कारण कक्षा २ र ३ लाई एउटै कोठामा राखेर पढाउन बाध्य रहेको प्रधानाध्यापक गुरुङले बताए । चार वटा कोठा मध्ये एउटा कार्यालयका लागि प्रयोग गरिएको छ ।
आवश्यक कोठा छैन्,२ र ३ लाई एउटै कोठामा पढाउँदै आएका छौ प्रधानाध्यापक गुरुङले भने – एउटै कक्षामा पढाउँदा जति सिकाउनु पर्ने हो त्यो पुरा भएको छैन्, पढाईमा असर पर्दै आएको छ । कोठा भित्र एक तर्फ कक्षा २ र अर्को तर्फ कक्षा ३ लाई राखेर पढाईदै आएको छ । सो विद्यालयमा दुई जनाको दरवन्दी छ । त्यसवाहेक एक जना शिक्षकलाई निजी श्रोतबाट राखिएको छ भने एक जना सहयोगी कार्यकर्ता छन् ।
जाडोको चिन्ता
सैपाम गाउँका स्थानिको आयश्रोत छैन । आम्दानीको श्रोत नहुँदा मिठो मसिनो खान नपाउने यहाँका स्थानीयलाई जाडो मौषम पनि पिरलो वन्ने गरेको छ । बाक्लो कपडा किन्ने क्षमता यहाँका स्थानिमा छैन । जसले जाडो समय उनीहरुलाई चिन्ताले सताउने गरेको छ । चिसो बेला एक सरो लुगा लगाएर यहाँका विद्यार्थीहरु पढ्न आउने गरेको प्रधानाध्यापक गुरुङले बताए । कालिका नगरपालिकाले गत महिना एक एक सेट ट्रयाकसुट सहित स्टेशनरी विद्यार्थीलाई बितरण गरेको थियो । बिजुली नहुँदा अन्धकारमा रहेको यस बस्तीमा अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाको नजर त्यहाँ पुग्न सकेको छैनन् ।








