के तपाईँ दयालु हुनुहुन्छ ? दयालुपनले बढाउन सक्छ तपाईँको आयु

मंसिर १, काठमाडौं । तपाईंको दयालु स्वभावले तपाईंलाई के असर गर्छ ? यसले सायद तपाईंलाई खुसी दिलाउँछ वा तपाईंमा अरुको भलो गर्ने भावना वृद्धि हुन्छ । यो एक प्रकारको वास्तविकता हुनसक्छ । 

यद्यपी, एउटा नयाँ अनुसन्धानमा वैज्ञानिक र शिक्षाविद्का अनुसार दयालु बन्दा मानिसले अन्य धेरै कुरा प्राप्त गर्न सक्छन् । यसले तपाईंको जीवनकाल पनि बढाउने बताइएको छ । 

यो अनुसन्धान युसिएलएको बेडारी काइन्डनेस इन्स्टिच्युटका सदस्यले गरेका हुन् । 

Image result for दयालु

संस्थानका निर्देशक ड्यानियल फेस्लरले भने, ‘हामी आफ्नो शोधमा वैज्ञानिक दृष्टिकोणको पनि कुरा गरिरहेका छौँ । हामी मनोविज्ञान, जीव विज्ञानमा भएको सकारात्मक सामाजिक सहभागिताबारे पनि कुरा गरिरहेका छौं ।’ 

हालैका दिनमा दयालु भावना निकै चर्चामा छ । 

अमेरिकाका वरिष्ठ डेमोक्रेट नेता एलिजा कमिंक्ष्सको गत महिना निधनपछि पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले शोक सन्देशमा उनको दयालु भावनालाई निकै प्राथमिकता दिएका थिए । 

उनले भनेका थिए, ‘एक बलियो व्यक्तिमा दयालु भावना पनि समावेश हुन्छ । दया र करुणा तपाईंको कमजोरी होइन । इमान्दारीताका साथ भन्ने हो भने अरुलाई  सम्मानजनक व्यवहार गर्नु तपाईंको बचपना होइन ।’ 

त्यही कार्यक्रममा उपस्थित अमेरिकी हास्यकलाकार एवम् टिभी होस्ट एलेन डिजेनर्सले जर्ज डब्ल्यू बुशसँग आफ्नो दोस्तीका केही कहानी साझा गरिन् । 

उनले भनिन्, ‘जब म भन्छु, ‘एक अर्काप्रति दयालु बन्नुहोस्’, तब तपाईंलाई दया गर्नेहरुका लागि मात्र नभई सबैप्रति दयालु हुनुहोस् भन्ने मेरो आशय हो ।’ 

अब यहाँ प्रश्न यो उठ्छ कि आखिर दयालु हुनुको अर्थ के हो ? र यो यति महत्वपूर्ण किन छ ? थुप्रै विशेषज्ञले यी प्रश्नको जवाफ खोज्ने कोसिस गरिरहेका छन् र यो प्रति निकै गम्भीर पनि छन् । 

ड्यानियल फेस्लरले आफ्नो शोधमा मानिसहरुको दयालु व्यवहारले अरुलाई पनि दयालु बन्न कसरी प्रेरित गर्छ भनेर जान्ने कोसिस गरेका छन् । 

उनले भने, ‘मलाई लाग्छ कि यो भन्न सही हुनेछ कि हामी सबै एक प्रकारको निर्दयी जुगमा बाँचिरहेका छौँ ।’ 

फेस्लर भन्छन्, ‘अमेरिकासहित संसारभरी हामीले देखिरहेका छौं कि मानिसहरुबीच भिन्न राजनीतिक विचारधारा र विभिन्न धर्मका कारण संघर्ष  बढिरहेको छ ।’ 

फेस्लरका अनुसार मानिसहरुको यस्तो व्यवहार कुनै नौलो कुरा होइन । उनी भन्छन्, ‘साधारणतया मानिसहरु आक्रामक हुने र एक्लै बस्ने सम्भावना अत्यधिक हुन्छ । उनीहरु अरुको चिन्ता गर्न र भलाईलाई कमै महत्व दिन्छन् ।’ 

बेडारी फाउन्डेशनबाट दुई करोड अमेरिकी डलरको मद्दत पाएपछि यो संस्था स्थापना भएको हो । यसलाई जेनिफर म्याथ्यु ह्यारिसले स्थापना गरेका हुन् । यो संस्थाको उद्देश्य जनता र नेता दुबैलाई प्रेरित गर्नु पनि हो । 

ह्यारिसका अनुसार आधुनिक समाजमा दयालु भावना किन यति दुर्लभ भइरहेको छ भनेर जान्न र विज्ञान र आध्यात्मिकताबीचको खाल्डोलाई पुर्नका लागि अनुसन्धानको आवश्यकता थियो । 

फेस्लर भन्छन्, ‘तपाईंलाई हेप्ने वा तपाईंबारे कम चिन्तित हुने र तपाईंसँग खुल्ला रुपमा दुश्मनी राख्ने व्यक्तिसँग बस्नु तपाईंका लागि घातक छ । यसले तपाईंको जीवनकाल छोटो बनाउँछ ।’ 

उनले भने, ‘यसको विपरित एक अर्काप्रति दया देखाउने र प्रेम दर्साउने व्यक्तिमा तनाव कम हुन्छ र यसले राम्रो जीवनयापनका लागि मद्दत पनि गर्नेछ ।’ 

यहाँसम्म कि जब एक कफी पसलमा एक वेटरले हाँस्दै ‘तपाईंलाई कस्तो छ रु’ भनेर सोध्छन् तब यसले पनि मानिसहरुको सुखमा बढोत्तरी गर्न सक्छ । 

फेस्लर भन्छन्, ‘कसैप्रति कसरी दयालु हुने भनेर सोच्दा मात्रै पनि यसले तपाईंको रक्तचाप कम गर्छ । यसको चिकित्सकीय लाभ छ । डिप्रेशन र चिन्ताको उपचारमा पनि यो लाभकारी हुन्छ ।’ 

कोलम्बिया विश्वविद्यालयकी डाक्टर केली हार्डिंगले आफ्नो नयाँ किताब ‘द र्‍याबिट इफेक्ट’ मा यो विषयमा निकै विस्तारपूर्वक लेखेकी छिन् । 

उनले भनिन्, ‘दयालु हुँदा प्रतिरक्षा प्रणाली वृद्धि गर्न र रक्तचाप कम गर्न मद्दत गर्छ । यसले मानिसहरुलाई लामो समयसम्म जीवित रहन र स्वस्थ बन्न मद्दत गर्छ । यसको सबैभन्दा राम्रो कुरा के हो भने यो हामीले निःशुल्क पाउँछौं ।’ 

आफ्नो किताबको नाम बताउँदै उनी भन्छिन्, ‘मैले सन् १९७० को दशकमा खरायोमाथि गरिएको एक अध्ययनबारे सुनेकी थिएँ । उक्त अध्ययनमा यो थाहा भयो कि जुन खरायोलाई दयालु शोधकर्ताको रेखदेखमा राखियो, उनीहरुको स्वास्थ्य निकै राम्रो थियो ।’ 

उनले भनिन्, ‘एक डाक्टरको रुपमा म यो अनुसन्धानले चकित गरेकी थिएँ । मलाई यस्तो लाग्यो कि यो कुनै महत्वपूर्ण सन्देश थियो । दयालु भावनाले धेरै कुरा परिवर्तन गर्न सक्छ ।’ 

केली हार्डिंगका अनुसार आफूप्रति दयालु हुनुको तुलनामा अरुप्रति दयालु हुनु सजिलो काम हो । 

उनी भन्छिन्, ‘आफूमाथि र अरुमाथि दया गर्ने अनेकौं तरिका छन् । कार्यस्थलमा, स्कूलमा र घरमा दयालु हँदा सबैभन्दा उत्कृष्ट परिणाम प्राप्त हुन्छ । मेडिकल क्षेत्रमा विभिन्न विशिष्ट प्रविधी भित्रिएलान् तर पनि ती दयालु भावनासँग प्रतिस्पर्धा गर्न सक्दैनन् । मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यबीचको सम्बन्ध निकै महत्वपूर्ण छ ।’ 

काइन्डनेस विशेषज्ञ ग्याब्रिएला भ्यान रिज दयालु बन्नका लागि केही आवश्यक टिप्स सुझाउँछिन् जुन यस प्रकार छः 

१. अरुलाई ध्यान दिएर सुन्ने कोसिस गर्नुहोस् (आफ्नो दिमागमा पहिले नै कुनै उत्तर तयार गर्नुको साटो) 

२. कसैको रुखो व्यवहारलाई प्रेमले जवाफ दिनुहोस् । यदि कसैले रुखो तरिकाले कुरा गर्छ भने तपाईंले साथीजस्तै व्यवहार गरेर उनलाई भन्नुहोस् कि ‘तपाईंको दिन निकै मुश्किल थियो ?’ तपाईंले एकै क्षणमा यसको असर देख्नुहुनेछ ।’ 

३. कुनै यस्तो व्यक्तिसँग कुरा गर्नुहोस् जसले एक्लो महसुस गरिरहेको छ । यस्तो गर्दा तपाईंले उनलाई महत्व दिनुहुन्छ ।’ 

४. ती पल सम्झनुहोस् जब तपाईं निर्दयी बन्नुहुन्छ । जब तपाईंलाई रिस उठ्छ तब लामो सास फेर्नुहोस् र दिमागलाई शान्त बनाउँदै केही कदम पछि हट्नुहोस् । बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =