हतियार सहित पक्राउ परेका तरुण दलका सभापति कारागार चलान

मंसिर ३, नेपालगञ्ज । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलका नगर अध्यक्ष कारागार चलान भएका छन् ।  हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका हुन् । 

जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी शाहलाई पुर्पक्षका लागि कारागार पठाइएको बताए ।   

गत कात्तिक १४ गते राति साढे ८ः०० बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित तरुण दलका नगर सभापति शाहलाई प्रहरीले पक्राउ गरेको थियो । 

सोहि मुद्दामा शाहसँगै पक्राउ परेका अन्य तीनजनालाई भने एक लाख ५० हजार धरौटी माग गरिएको प्रहरीले जनाएको छ । 

सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चारजनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । 

उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।  शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा१८च ४२११ नंको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्ट बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको थियाे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *