पहिलोपटक राजा महेन्द्रको अन्तर्वार्ता लिने यादव खरेलको पत्रकारिता अनुभव

२०१६ सालतिर रेडियो नेपालको खुब क्रेज थियो । हरकोहीको रहर हुन्थ्यो, ‘ओहो ! रेडियोमा बोल्न पाए !’ 

टिभी, इन्टरनेटको पहुँच नभएको त्यो जुगमा रेडियोको क्रेज हुनु स्वभाविक थियो । पत्रपत्रिका पनि कमै थिए । रेडियोमा बोल्ने भनेपछि शान नै छुट्टै । सेलिब्रेटीको दर्जामा थिए रेडियोकर्मी । दिनहुँ पत्रहरु आउँथे । भेटौँ भन्ने प्रस्ताव त कतिकति ।   

त्यही सालमा विगतमा झैँ रेडियो नेपालले एउटा विज्ञापन निकाल्यो, कर्मचारी आवश्यकताको । रेडियोमा आफ्नो आवाज घन्काउने सपना देखेका उनले भ्वाइस टेष्ट दिए । पास पनि भए । करिब ८ वर्षको उमेरदेखि देखेको सपना १६ वर्षको कलिलै उमेरमा पुरा गरे यादव खरेलले । महिनामा ३ सय पारिश्रमिक थियो उनको ।   

हुन त बहुप्रतिभाशाली व्यक्तित्वमा गनिन्छन् खरेल । साहित्यकार, पत्रकार, निर्माता, निर्देशक आदि इत्यादी । तर उनको पहिलो परिचय ‘पत्रकार’ हो ।   

‘पहिलो पटक रेडियोमा बोलेर, कार्यक्रम चलाएर निस्कँदा त सबैले मलाई नै हेरिरहेका छन् कि जस्तो लाग्थ्यो । निकै खुशी लाग्ने, ओहो ! मैँले रेडियोमा बोलेँ जस्तो हुन्थ्यो । सबैतिर मैँ फैलिएँ जस्तो’, उनी फुरुङ्ग हुँदै सुनाउँछन् ।   

करिब ९ वर्ष रेडियो नेपालमा काम गरेका उनले राजनीतिक देखि बाल कार्यक्रमसम्म चलाए । हरेक मामिलामा दख्खल राख्थे उनी ।   

वास्तवमा पत्रकार देश र समाजका ऐना हुन् । पत्रकार बन्नका लागि निश्वार्थ सेवाभाव अत्यावश्यक छ । तर कमै भेटिन्छन् यस्ता पत्रकार, जो नागरिकलाई सही सूचना सूचित गर्छन् । विना मुनाफा । लाग्थ्यो पत्रकारितामा विकृति पछिल्लो समयतिर मात्रै फैलिएको हो । तर होइन, यो त परम्पराकै रुपमा स्थापित भइसकेको रहेछ, नेपाली समाजमा । पत्रकार यादव खरेलसँग पनि रहेछन् यस्ता तीता अनुभव । पैसाको बिटोमा बिकेर गलतलाई सही र सहीलाई गलत भन्दै नागरिकमा भ्रम छरिने चलन चल्तीमा रहेछ उनको पत्रकारिताको समयमा पनि ।   

‘मैँले ‘घुँयत्रो’ भन्ने साप्ताहिक पत्रिका निकालेको थिएँ । दुई वर्षजति चलाएँ । त्यसमा अनुभव राम्रो भएन अनि छोडिदिएँ । पत्रकारितामा इमान्दारिता नै देखिनँ ।’ उनी भन्छन्–‘विज्ञापन माग्दै ब्ल्याकमेलिङ गरिँदो रहेछ । पैसा हेरेर पक्ष–विपक्षमा लेखिँदो रहेछ । धेरै हदसम्म हतियारका रुपमा पत्रकारितालाई प्रयोग गरेको देखियो । र, यो काम म बाट हुँदैन भन्ने लाग्यो अनि छोडिदिएँ । तर केही थिए, जो पैसामा बिक्री भएनन् कहिल्यै’, पत्रकारिताका तीता बेथिती सम्झिए यादवले ।   

०००                                                                    ०००                                                                 ००० 

रेडियो नेपालको जागिर छोडेर सन् १९६९ सालतिर ब्रिटिस् काउन्सिलको पूर्ण छात्रवृत्तिमा फिल्म पढ्न उनी बेलायत पुगे । त्यतिबेला बेलायतमा नेपाली पुग्नु भनेको चानचुने कुरा थिएन । २५ सालतिर भर्खरै सुरु भएको थियो, बीबीसी नेपाली सेवा पनि ।   

बीबीसीलाई कर्मचारी आवश्यक थियो । उसैको आग्रहमा यादवले त्यहीँ जागिर सुरु गरे । प्रारम्भिक कालका सञ्चालक नै उनी भए । 

त्यहाँ यसो गर, त्यसो गर, योसँग अन्तर्वार्ता लिऊ, त्यस्तो केही हुँदैन थियो । यादव आफैँ निर्णय गर्थे । बीबीसीकै कार्यकाल सुनाउँदै जाँदा उनले राजा महेन्द्रसँगको अन्तर्वार्ताको क्षण सम्झिहाले । बीबीसीका लागि पहिलोपटक यादवले नै अन्तर्वार्ता लिएका थिए, राजा महेन्द्रको ।   

बेलायतको बसाईंका क्रममा राजा महेन्द्र लण्डन आउँदैछन् भन्ने सुनेपछि उनलाई महेन्द्रको अन्तर्वार्ता लिने चाह जाग्यो । चाहना हुँदैमा त्यतिबेला राजाको अन्तर्वार्ता कहाँ लिन पाउनु ! अहिले प्रधानमन्त्रीको अन्तर्वार्ता लिन त यति गाह्रो छ मिडियालाई, झन् त्यो बेला । त्यसमाथि राजा ! 

दूतावाससँग आग्रह गरेपछि सम्भव भयो महेन्द्रसँग अन्तर्वार्ता । तर अन्तर्वार्तामा के सोधियो भन्ने उनलाई ठ्याक्कै हेक्का छैन । एकैछिन गमे र, भने, ‘त्यस्तै समसामयिक विषयमा लिएँ हुँला ।’ 

त्यो समयमा प्रेस नियन्त्रित नै थियो । सर्वसाधारणका कुरामा स्वतन्त्रता भएतापनि देशको सार्वभौमिकता, अन्तर्राष्ट्रिय सम्बन्ध, राजसंस्था लगायतका विषय, अनि महेन्द्र राजाले २०१७ सालमा पञ्चायतको व्यवस्था गरेपछि, यसको विरोधमा लेख्न छुट थिएन ।   

राजसंस्थाको विरोध गर्न पाइँदैन थियो । विरोध गर्यो कि डण्डा हानी हाल्थे । पत्रकार विरोधमा लेख्न डराउँथे, लेख्दैन थिए । इमान्दारितासँग गर्दा फाइदाको व्यापार थिएन पत्रकारिता । सर्कुलेशन सिमित हुन्थे । छाप्न कठिन थियो । मिहेनत धेरै जान्थ्यो, बिक्री भने थोरै । त्यसमाथि जसले ब्ल्याकमेल गर्यो, जो पत्रकारिताको नाममा सीआईडीको काम गर्थे तीनैलाई जान्थे विज्ञापन । उनीहरुकै हुन्थ्यो मेजमानी । उनीहरु नै घुम्थे देशविदेश । निमय अनुसार लेख्नेले त विज्ञापन नै नपाउने ।   

पत्रकारिता पेशा भनेकै इमान्दारितामा आधारित पेशा हो । अन्यायमा परेकाहरुको आवाज हो पत्रकारिता । गलत तरिकाले लाभ लिनु हुँदैन । बेइमानी गर्नु हुँदैन, बिक्री हुनुहुँदैन ।   

त्यो समयमा इमान्दार पत्रकार मदनमणि दिक्षित थिए रे । उनी सिद्धान्तमै अडिक रहे, सम्झौता गरेनन् । उनले जमानामा एउटा सानो घर लिएका थिए, त्यहीँ बित्यो उनको जीवन । उनले बाँचुञ्जेल पत्रकारितालाई कमाउने बाटोका रुपमा प्रयोग नै गरेनन् भन्छन् खरेल ।   

कति पार्टीले आफ्ना विचारहरु जनतामाझ लैजाने उद्देश्यले आफ्नै पत्रिका पनि निकालेका थिए । कांग्रेस प्रख्यात थियो । उसको आफ्नै लगानीमा ‘कल्पना’ भन्ने पत्रिका थियो । उनीहरुले आफ्ना विचार लेख्थे त्यसमा ।   

अहिले चाहीँ कुन पार्टीको नजिक हुने भन्ने हुन्छ । कतिमा त उनीहरुले लगानी गरिदिएका हुन्छन् ।   

अथवा केही फाइदाहरु दिएर पत्रिकालाई आफ्नो पक्षमा लिन्छन् ।   

पछिल्लो समय फेक पत्रकारिता मौलाएकोमा चिन्तित छन् खरेल । आखिर उनी पनि पत्रकार न हुन्, पत्रकारिताको विकृति सहन मुश्किल पर्छ पत्रकारलाई । उनी सचेत नागरिकका हैसियतले नियालीरहेका छन् पत्रकारिताका विकृतिहरु । उनी कुनैपनि पत्रिका पढ्नुभन्दा पहिले त्यसको सम्पादकीय हेर्छन् । पत्रिकाले विषयअनुसार लेखेको पक्ष, विपक्ष या तटस्थता नियाल्छन् । एक दुई ओटा सम्पादकीय हेर्दै जाँदा यो वास्तवमै पत्रिका हो या होइन ठ्याक्कै छुट्याउँछन् र पढ्नै छोडिदिन्छन् ।   

पहिला सञ्चार माध्यम सिमित थिए । अहिले त डिजिटल टेक्नोलोजीले गर्दा घरघरमा अनलाइन भए । यसैले निम्त्यायो विकृति । प्रेस अथवा वाक स्वतन्त्रताको अवस्थामा यो तत्कालै नियन्त्रणमा लिन पनि सकिँदैन । कसैलाई लेखेकै भरमा बन्देज लगाउन पाइएन । ‘अहिले त लाग्छ, यो सरकारी नियन्त्रण भन्दा बाहिर छ । गलत नियतले मिथ्या कुरा निकाल्ने केहीलाई त कारवाही पनि भइरहेको छ । यसको मुख्य विकल्प भनेको जनता, पाठक नै सचेत हुनुपर्छ’, उनी भन्छन् ।   

पछिल्लो समय सरकारले पत्रकारितामाथि अंकुश लगाउन खोज्नुलाई गलत मान्छन् उनी । संविधानले पनि दिँदैन । मौलिक अधिकार हो स्वतन्त्रता । विचार फरक राख्यो, विरोध आयो भन्दैमा प्रेस नियन्त्रणमा लिन नहुने तथा पत्रिकामार्फत् स्वतन्त्र रुपमा विचारहरु बाहिर आउन दिनुपर्ने उनको भनाइ छ । प्रेसमा अंकुश लगाउनु भन्दा पनि कानूनी राज्य प्रत्याभूत हुनु आवश्यक छ ।   

पार्टीकै संरक्षणमा हुन्छन् अपराधी । पछिल्लो समय ठुला राजनीतिक प्रकरणहरु बाहिर आएका छन् । कुनै पद, ओहोदा नहेरी यस्ता विकृति उजागर गर्नु भनेकै पत्रकारको धर्म हो, यादव भन्छन् ।   

०००                                                                    ०००                                                                 ००० 

खरेलको बाल्यकालको चलचित्र अनुभव पनि बडो अनौठो, रोचक छ । उनी स्कूल पढ्दै थिए त्यतिबेला । काठमाडौंमा जनसेवा भन्ने सिनेमा हल थियो । सिनेमा धार्मिक जनराको थियो । चलचित्रको नाम भने बुढ्यौलीले ठ्याक्कै याद हुन दिएन उनलाई । बिर्सिसके । शताब्दि कहाँबाट कहाँ पुगिसक्यो, के मात्रै सम्झिउन् ! 

हलभित्र छिरेको सम्झिए । खचाखच थिए मान्छे । सिनेमा कतापट्टीबाट हेर्ने उनलाई थाहा थिएन । आवाज आएपछि बल्ल थाहा पाए, उनी पर्दा पट्टी नहेरी प्रोजेक्टरले लाइट फालिरहेकोतिर हेरिरहेका रहेछन् ।   

बेलायतबाट फिल्म् मेकिङमा स्नातक गरेर सन् १९७१ मा नेपाल फर्किएका खरेल पछि आफैँ निर्देशक बनिहाले ! चलचित्र क्षेत्रमा उनको योगदान अतुलनीय छ ।   

अन्तर्वार्ताका क्रममा नै राजा महेन्द्रले उनलाई भनेका थिए, ‘तिमीले चलचित्र क्षेत्रमा केही गर्नुपर्छ’ । उनी नेपाल आएपछि नै खडा भएको हो शाही नेपाल चलचित्र संस्थान । उनी शाही नेपाल चलचित्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धक थिए ।   

उनी अध्यक्ष भएर कार्यभार सम्हाल्दा राष्ट्रकवि माधव घिमिरे, नाट्यसम्राट बालकृष्ण सम, श्रीधर खनाल लगायत त्यत्तिबेलाका चर्चित हस्तीहरु सदस्य थिए ।   

चलचित्र विकास बोर्ड, संगीत रोयल्टी संकलन समाजका संस्थापक अध्यक्ष समेत हुन् खरेल । 

उनैको नेतृत्वमा नेपाली चलचित्रको जग बसेको हो । आधारशिला खडा भएको हो । जनशक्ति उत्पादनकै लागि उनले कतिलाई पढ्न समेत पठाए । ट्रेनिङ दिलाए । क्यामेराम्यानसम्म भारतबाट ल्याइने समयमा उनले यहीँ सिर्जना गरे म्यानपावर ।   

आफ्नै (नेपालकै) म्यानपावर र लगानीमा उनले चलचित्र ‘चेलिबेटी’ निर्माण गरे । वास्तवमा त्यो जमानै सकसजनक थियो प्राविधिक हिसाबले ।   

तैपनि उनले आँटे । सरकारलाई चेलिबेटी बेचबिखनका विषयमा घच्घच्याउनु थियो उनलाई । प्रलोभनमा परि देह व्यापारको शिकार भएका चेलिबेटीलाई सचेत गराउन चाहन्थे उनी ।   

उनीहरुलाई फर्केपछि पनि समाजले स्वीकार्नुपर्छ भन्ने सन्देश पनि दिनु थियो । त्यसैले उनले यही कथा रोजे । कथा पनि उनैकाे ।  

एउटा चलचित्र निर्माण गर्न ३० लाख जति लाग्थ्यो सालाखाला । चलचित्र तयार हुन साधारणतया ६ महिना लाग्थ्यो । तर उनीसँग काम गर्ने कसैले पनि पारिश्रमिक तोकेनन्, भारतीयले बाहेक । जति दिए, त्यति लिन्थे । अहिलेजस्तो लाखौँ लाखको डिमाण्ड हुँदैन थियो । ‘कतिले त पैसा नै लिँदैन थिए’–उनी सम्झन्छन्  ।   

त्यो बेलाको ३० लाख भनेको अहिलेको ३ करोड जत्तिकै हुन्थ्यो । त्यत्रो खर्च गरेर फिल्म बनायो क्रेज चाहीँ भारतको । दर्शक भन्दा बढी भारतीय सिनेमाबाट प्रभावित थिए नेपाली सिनेमा हलहरु । शुक्रबार र शनिबार अलि व्यापार हुन्छ, यस्तो बेलामा पनि हिन्दी नै चलाइन्थ्यो । नेपालीलाई प्राथमिकता दिइँदैन थियो ।   

उनी सम्झन्छन्–‘मैँले पनि यो कुरा उठाएको थिएँ । हामीले कति जुलुस निकाल्यौँ । तर सरकार नै भारतबाट प्रभावित भएका कारण त्यति उपलब्धि भने हात पार्न सकिएन ।’   

करिब आधा दर्जन बढी चलचित्र (प्रेमपिण्ड, चेलिबेटी, लोभीपापी, आँधीबेहरी, श्रीस्वस्थानी, नासो, हत्तेरी, आदीकवि भानुभक्त) निर्माण गरेका उनकाे अन्तिम चलचित्र ‘हत्तेरी’ हाे । अब भने निर्देशनको मुडमा छैनन् उनी । अब नभ्याउने रे । फुर्सद छैन रे ।   

०००                                                                    ०००                                                                 ००० 

साहित्यको क्रेडिट दिन छुटाउँदैनन् उनी केशरी खरेललाई ।   

केशरी खरेल उनका भतिज थिए । उमेर भने उनको भन्दा ज्यादा थियो । ५–७ वर्ष जेठा । खरेल हाइस्कुल पढ्दै गर्दा केशरी आक्कल झुक्कल कविता लेख्थे । यादवले उनैको सिको गरेर अनुप्रास मिलाई–मिलाई कविता लेख्ने अभ्यास गर्न थाले ।   

एउटा कविता जन्मियो… 

–’गाई खान्छिन् घाँस, पानी र नुन 

उनी एक असल जनावर हुन् ।’ 

यही कविताबाट सुरु भएको कविताको यात्रा–निरन्तरताले कयौँ कविता, लेख, रचना जन्माइसके उनले । गर्भ बसेको भने उही १२ सालतिर हो । गीत संगीतको लत भने रेडियो नेपालमा छँदै बस्यो । माहोलै गीत संगीतको थियो रेडियोमा । संगत उस्तै ।   

  

२०२० सालतिर डीबी महेश पाल्पाली र रत्नबहादुर खड्गीले गाएको ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले’ गीतले संगीत जगतमा छुट्टै परिचय दिलायो खरेललाई ।   

‘गैरी खेतको शिरै हान्यो’ गीत हरेक विद्यालयको सांगीतिक कार्यक्रममा बज्छन् अझै । उनका कयौँ गीतहरु लोकप्रिय, सदाबहार छन् । 

उनले दुई दर्जन बढी कविता, नियात्रा, मुक्तक संग्रह प्रकाशन गरिसकेका छन् । दुई दर्जन गीतहरुमा उनका शब्दहरु नाचिरहेका छन् । बज्छन् अझै संगीतका धुनसँगै ती शब्दहरु ।   

अहिले दुवै क्षेत्रमा अग्रपंक्तिमा छ उनको नाम ।   

वि.सं. १९९९ साल, फागुन १२ गते काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिएका खरेल उमेरले ७६ नाघे । कपाल फुलिसक्यो तर, फुलेका छैनन् उनका साहित्यिक जोस–जाँगर । सिर्जनामै व्यस्त छन् उनी अझै । 

‘नयाँ गीतहरु रेकर्ड भइरहेका छन् । कार्यक्रमतिर अलि व्यस्त हुन्छु । पुराना बाँकी रहेका लेखहरु पुरा गर्दैछु । आत्मकथाहरु, पुराना सम्झनाहरु हुन्छन् । तर म पात्र हुँदिन, समाज परिवेश हुन्छ । म यो उमेरसम्म आइपुग्दाका परिवर्तनहरु टाढाबाट नियालिरहेको छु ।’– उनको वर्तमान हो यो ।   

उनी अहिले काठमाडौंको गौरीघाटस्थित घरमा बस्छन् । खरेलले खरेलथोकमै सिके खरिको बोटमा लेख्न । अक्षर चिन्न सक्ने भए । काठमाडौंको पद्यमोदय हाईस्कूलमा उनको औपचारिक शिक्षा सुरु भएको हो, कक्षा १० सम्मको पढाइ त्यहीँबाट पुरा गरे उनले । 

पढाइमा मध्यम खालका विद्यार्थी भएतापनि खेलकुद देखि साहित्यसम्म उनकै नाम अगाडी आउँथ्यो । हरेक गतिविधिमा उनी भाग लिन्थे, कहिले जित्थे त कहिले हार्थे । तर जिन्दगीमा भने उनले कहिल्यै हार्नु परेन ।   

उनी समाज सेवामा पनि उतिकै सक्रिय छन् । २०३० सालमा उनी नेपाल आँखा अस्पतालको संस्थापक आजीवन सदस्य हुँदै अध्यक्ष सम्म भए । परिवार नियोजन संघमा पनि उनले उपाध्यक्ष हुँदै महानिर्देशकको भूमिका निभाए । 

वास्तवमा उनी पेजमा अटाउने स्टोरी होइनन् । साधारण व्यक्तिको जीवन लेख्न त समय लाग्छ भने उनी त बहुप्रतिभाशाली ! 

एउटा मात्रै परिचय भए पो ! 

लेख्न र पढ्न समय लाग्छ ! 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =