टी-१० लिगः पारसको टिमले सन्दीपको टीमलाई हरायो, पारसले लिए एक विकेट, सन्दीप बेञ्चमा
मंसिर ७, एजेन्सी । यूएईको आबुधाबीमा जारी टी १० लिग क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको टीमले सन्दीप लामिछानेको टिमलाई पराजित गरेको छ । पारस खड्काको टिम आबुधाबीले सन्दीप लामिछानेको टिम कर्नाटका टस्कर्सलाई ३४ रनले पराजित गरेको हो।
आबुधाबीस्थित शेखजायद क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आबुधाबीले १० ओभरमा दुई विकेट गुमाउँदै एक सय २८ रन बनाउन सफल भयो । त्यसमा लुक राइटले ५७ रन, र मोइन अलीले ३५ रन बनाएका थिए ।
शुक्रबारको खेलमा नेपाली खेलाडी पारस खड्काले ब्याटिङ गर्ने अवसर पाएका थिएनन् भने सन्दीप पनि बेञ्चमा बसेका थिए । १२९ रनको विजयी लक्ष्य पाएको कर्नाटका १० ओभरमा ६ विकेट गुमाउँदै ९४ रनमा रोकियो । उसका लागि कुनै पनि खेलाडीले राम्रो खेल्न सकेनन् ।
ब्याटिङमा मौका नपाएका पारसले बलिङमा गर्ने क्रममा भने २ ओभरमा ३० रन दिएर एक विकेट लिएका थिए ।