विद्यार्थीको अतिरिक्त शुल्क १५ दिनभित्र फिर्ता गर्न निजी मेडिकल कलेजलाई शिक्षामन्त्रीको निर्देशन, नभए ठगी मुद्दा
कार्तिक २५, काठमाडौं । सरकारले निजी कलेजहरुलाई १५ दिनभित्र विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता दिन निर्देशन दिएको छ ।
सोमबार शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले १५ दिनभित्र विद्यार्थीबाट लिइएको शुल्क फिर्ता दिन निर्देशन दिएका हुन् । फिर्ता नगरे ठगीको मुद्दा चलाउन सरकार बाध्य हुने उनको चेतावनी छ ।
कलेजहरुलाई आफ्ना विद्यार्थीको माग सम्बोधन गर्न आग्रह गर्दै मन्त्री पोखरेलले तालाचाबी बुझाइदिन्छौं भनेको भरमा निजी मेडिकल कलेजहरु उम्कन नपाउने बताए । ‘कानून सबैका लागि लागू हुन्छ । तालाचाबी बुझाइदिन्छौं भनेको भरमा निजी मेडिकल कलेजहरुलाई उन्मुक्ति दिइँदैन । अहिले विद्यार्थीहरुको माग सम्बोधन गरेर पठनपाठन सहज रुपमा हुने वातावरण बनाए मेडिकल कलेजहरुको शुल्क र संरचनाबारे नयाँ ढंगले बहस गर्न शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोग सकारात्मक छ’, उनले भने ।
उनले अभिभावक र विद्यार्थीहरुलाई पनि गुपचुप रुपमा असमान सर्तहरु स्वीकार नगर्न आग्रहसमेत गरेका छन् ।
पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीको विषयमा पनि प्रतिक्रिया राखे । अनशन छोडेर कानून कार्यान्वयनमा सघाउन डा. केसीलाई उनको अनुरोध छ ।
अहिले देश सीमा विवादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनसन बसेर सरकारलाई अनावश्यक दबाब नदिन डा. केसीलाई मन्त्री पोखरेलले आग्रह गरे ।