सिमा अतिक्रमणविरुद्ध विद्यार्थीको विरोध

मंसिर १३, काठमाडौं । नेपालका विभिन्न भूभाग आफ्नो नक्सामा समेटेर भारतले नयाँ नक्सा जारी गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग अतिक्रमण गरेको विरोधमा आज त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले विरोध स्वरुप र्यालीसहित कोणसभा गरेको र्यालीमा सहभागी के आर पाण्डुलिपिले जानकारी दिए ।
भारतको हेपाह प्रवृत्ति र सिमा अतिक्रमणको ज्यादती विरुद्ध आवाज उठाएको विद्यार्थीहरुले जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालय घडी भवन अगाडिको कोण सभामा बोल्दै वक्ताहरुले देशको सिमा मिचिएको विरुद्ध टुलुटुलु हेरेर नबस्ने तथा सरकारले आदेश दिएको खण्डमा सिमामै गएर लड्न तयार रहेको बताए ।
भारतले पछिल्लो समय नेपाली भूभाग कालापानीको लिम्पयाधुरा, लिपुलेक समेतलाई आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले नेपालमा चौतर्फी रुपमा यसको विरोध भइरहेको छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमि एक इन्च पनि कसैलाई नदिने भन्दै सिमा फिर्ता ल्याउन कुटनीतिक पहल गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
हिजो बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पनि तथ्य र प्रमाणका आधारमा नेपालको जमिन फिर्ता ल्याउने बताएका थिए ।
मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ।
‘ऐतिहासिक दस्तावेज, भारतीय राजपत्र, नक्सा लगायतका विभिन्न प्रमाणहरूले लिम्पियाधुरासम्म नेपालकै भएको देखाएको छ । तथ्य र प्रमाण पुगेको जमीनको मात्रै दाबी गरेको छ । भारतले यसलार्य स्वीकार गर्नुपर्छ । हामीलाई कसैको एक इन्च जमिन पनि चाहिएको छैन । आफ्नो पनि दिँदैनौँ’, मन्त्री बाँस्कोटाले भनेका थिए ।
सरकारले सिमा विवाद समाधानका लगि कुटनीतिक पहल सुरु गरिसकेको उनको भनाइ थियो ।








