स्वास्थ्य मन्त्रालयले खुलायो वीपीको सिनेट स्थगित हुनुको कारण

कात्तिक २६, काठमाडौं । स्वास्थ्य मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४३ औं सिनेट स्थगित हुनुको कारण खुलाएको छ । मन्त्रालयले अस्ती कात्तिक २४ गते विज्ञप्ति प्रकाशित गरी मन्त्रालयले प्रतिष्ठानमा रजिष्ट्रार नभएकोले सिनेट बस्न नसक्ने बताएको छ ।   

मन्त्रालयका निमित्त सचिब दिपेन्द्र रमण सिंहले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको ऐन २०४९ को दफा ७ र १० तथा  प्रतिष्ठानको नियमावली २०५५ को नियम ८.४ बमोजिक शिक्षाध्यक्ष र रजिष्ट्रारको काम कर्तब्य र अधिकार सम्बन्धि स्पष्ट ब्यवस्था गरिएपनि प्रतिष्ठानमा हाल शिक्षाध्यक्ष कार्यवाहक उपकुलपति भइसकेको र रजिष्ट्रार पद रिक्त रहेको अवस्थामा प्रतिष्ठानको ऐन र नियमावली अनुसार कार्यवाहक उपकुलपति स्वयं एक्लै परिषद्को बैठकमा रजिष्ट्रार र शिक्षाध्यक्षको समेतको भूमिका निवाृह गर्न विधिसम्मत नभएकोले सिनेट स्थगित गरिएको बताइएको छ ।   

मन्त्रालयले २२ गतेको सिनेट स्थगितका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा स्वास्थ्यमन्त्रीसँग जोडिएर आएका समाचारहरु गलत भएको बताएको छ ।   

२२ गते तोकिएको ४३ औं सिनेट स्थगित हुनमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष विएन यादवलाई रजिष्ट्रारमा सिफारिस गर्न भनेको समाचार प्रकाशित भएको थियो । विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार मन्त्री यादवले डा. विएन यादवलाई रजिष्ट्रार बनाउन कार्यवाहक उपकुलपति डा. गुरु खनाललाई दवाव दिएका थिए । त्यस विपरित कार्यवाहक उपकुलपति डा. खनालले सिनेट स्थगित गरेका थिए । डा. विएन यादव र मन्त्री उपेन्द्र यादवविच घनिष्ट सम्बन्ध छ । मन्त्री यादवकै जोडवलमा डा. यादव राप्तिको शिक्षाध्यक्ष छन् । 

सोसाइटीले सोध्यो सिनेट स्थगित हुनुको कारण 

यसैविच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीले सिनेट बैठक स्थगन हुनुको जवाफ दिन माग गरेको छ । प्रतिष्ठानस्थित फ्याकल्टीले आज मंगलबार विज्ञप्ती जारी गर्दै ४३ औं सिनेट बैठक अकस्मात स्थगित हुनुको कारण माग गरेको छ ।   

सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेल र महासचिव डा.एस.पी.रिमालले विज्ञप्तीमा महिनौं अघि योजनासहित प्रस्ताव गरिएको बैठक रातारात स्थगित हुनु लज्जास्पद घटना भएको बताएका छन् । सिनेट स्थगित हुँदा प्रतिष्ठानको विभिन्न शाखा र इमान्दार फ्याकल्टीहरुको मनोवल गिर्दो अवस्थामा रहेको बताइएको छ । 

सोसाइटीले रजिष्ट्रार नभै सिनेट बैठक नहुने हो भने बैठकको मिति तय नहुनुपर्ने र बैठक बोलाएर सबै सदस्यहरु काठमाडौंमा उपस्थित भइसकेपछि रजिष्ट्रार नभै सिनेट नहुने वहानामा बैठक स्थगन गर्नु गैरजिम्मेवारपुर्ण कार्य भएको जिकिर गरेको छ ।   

‘विश्वविद्यालय जस्तो प्राज्ञिक स्थलमा यी र यस्ता घटनाले कस्तो उदाहरण प्रस्तुत गर्दैछन् ? प्रज्ञास्थल कति हदसम्म उपेक्षित छ ? कस्तो भविष्य निर्माण उन्मुख हामी छौं ? भन्ने अनगिन्ती प्रश्नहरु एकैसाथ उब्जिएका छन् ।’ जारी विज्ञप्तिमा भनिएको छ ।   

विज्ञप्तीमा सिनेट बैठक स्थगत गर्दा प्रतिष्ठानलाई परेको आर्थिक भारको जिम्मा कस्ले लिने ? समेत प्रश्न गरिएको छ । फ्याकल्टीले प्रतिष्ठानको छवि र प्रतिष्ठामा आँच आएको तथा दीर्घकालिन हितमा पर्न गएको क्षतिपूर्ति कसले तिर्ने ? भन्ने प्रश्न उठाएको छ । प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनालले भने केहि प्राविधिक कारणवस सिनेट स्थगित भएको र चाँडै मिति तय गर्ने बताए ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *