धरानको विकासमा उम्मेद्वारको आ–आफ्नै दावी, कसले गर्लान धरानको विकास ?

मंसिर ४, धरान । स्थानीय तहको उपनिर्वाचनका उम्मेद्वारहरु अहिले मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त भएकै बेला सुनसरीको धरानमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यलयको आयोजना तथा पत्रकार महासंघ सुनसरीको संयोजनमा मेयर पदका उमेदरहरुबीच संवाद कार्यक्रम आयोजना गरिएको छ ।
आज आयोजित संवाद कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेद्वार प्रकाश राई, नेपाली कांग्रेसका तिलक राई, समाजवादी पार्टीका गजेन्द्र बहादुर लिम्बु र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका उम्मेद्वार अमर बहादुर लिम्बुले सहभागीता जनाएका थिए ।
कार्यक्रममा नेकपाका उम्मेद्वार प्रकाश राईले धरानको शिक्षा, स्वास्थ्य, खानेपानी तथा विकास निर्माणका कुरामा कुनै कसर बाँकी नराखी काम गर्ने बताए । ‘शिक्षा क्षेत्र सर्वसुलभ हुनुपर्छ भन्ने हाम्रो कुरा हो, यहाँका सामाजिक सवालका बिषयमा पनि हामीले आवाज उठाउँदै आएका छौं ।’ उनले भने ।

भौतिक विकास देखिने कुरा भएको तर्क गर्दै मानवीय विकासमा पनि जोड दिनुपर्ने राईले बताए । प्रकाश राईले समग्र धरानको विकासका लागि आफूले कुनै कसर बाँकी नराखी काम गर्ने । धरानमा खानेपानी आयोजनाको समस्या रहेपनि त्यसलाई चाँडै समाधान गरेर वितरण गर्ने उनको तर्क थियो ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले धरानलाई आर्थिक रुपमा सक्षम बनाउन आफू लागि पर्ने बताए । राईले धरानलाई आर्थिक, भौतिक, सामाजिक र सांस्कृतिक रुपमा अगाडि बढाउन आवश्यक रहेको र त्यसका लागि उपमहानगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । उनले उपमहानगरमा बेथिति र भ्रष्टाचार बढेको भन्दै आफुले जितेपछि त्यसलाई रोक्ने दावी गरे ।
राईले धरानमा रहेको दक्षिण एसियाकै सुविधासम्पन्न वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले बिरामीका लागि बेड खाली नहुने समस्या ज्यूँका त्यूँ रहेको र त्यसलाई हल गर्न पनि र स्वास्थ्य क्षेत्रमा प्रभावकारी ढंगले काम गर्ने वातावरण सृजना आफनो जित आबश्यक रहेको जिकिर गरे ।
समाजवादी पार्टीका गजेन्द्र बहादुर लिम्बु (गजेन्द्र इस्वो) ले धरानमा युवाहरु बेरोजगार रहेको बताउँदै उनीहरुलाई रोजगारीको अवसर सृजना गर्ने दावी गरे । ‘धरानको आर्थिक विकासका लागि तुरुन्त आर्थिक अवस्था सुधार गर्नुपर्छ ।’ उनले भने । त्यतीमात्र नभई लिम्बुले ‘पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने तर्क गरे । उनले आफुले जिते धरानलाई नयाँ हिसाबमा विकास गर्न सक्ने दावि गरे ।
यता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अमर बहादुर लिम्बु (अमर इजम)ले आफू धरानको मेयर बनेमा कुनै पनि हालतमा धरानलाई प्रदेश १ को राजधानी बनाउने दावी गरे ।
धरानमा सुकुम्बासीलाई नक्सा दिनका लागि सरकारले कन्जुस्याईं गरेको इजमको भनाई थियो । ‘अब सुकुम्बासीलाई घर नम्बर मात्र दिएर हुदैन, धनीपूर्जा पनि दिनुपर्छ त्यसको नेतृत्व म गर्न सक्छु ।’ ईजमले भने । उनले आफू मेयर पदमा बिजयी भएको खण्डमा निजी र सरकारी विद्यालयमा समान शिक्षा प्रणाली लागू गर्ने बताए ।
कार्यक्रममा सर्वसाधारण धराने जनता र बुद्धिजिवीहरुले धरानको विकास कसरी गर्ने विषयमा जिज्ञासा राखेका थिए भने, ती जिज्ञासाको जवाफ मञ्चमा उपस्थित उम्मेद्वारहरुले दिएका थिए ।
धरानमा अबको मेयर को हुने ? चर्चा चलिँरहँदा उता सेयर कास्टले गरेको सर्वेक्षणले धरानमा ३९ प्रतिशतको अनुपातमा बेरोजगारी समस्या रहेको देखाएको छ । यसैगरी २२ प्रतिशत सडक मर्मत नहुँदाको समस्या, १६ प्रतिशत गरीबीको समस्या, १५ प्रतिशत खानेपानीको अभाव र ८ प्रतिशत जनतामा खानेपानीको पहुँच नै नपुगिरहेको देखाएको छ ।








