अपहरणमा परेकाले उम्मेद्वारी फिर्ता लिन सकेनन् नेकपाका बागी उम्मेद्वारले

कात्तिक २४, काठमाडौँ । बागलुङका एक उम्मेद्वार अपहरणमा परेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ का स्वतन्त्र उम्मेदवार शेरमान घर्ती मगर अपहरणमा परेका हुन् ।   

नेकपा बागलुङले निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ताका लागि तोकिएको समयअघि शेरमान घर्ती मगर अपहरणमा परेका हुन् । यस नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले पनि उम्मेद्वार धर्ती मगर अपरहणमा परेको बताउँदै अपहरणमा परेकै कारण उनको उम्मेदवारी फिर्ता हुन नसकेको समेत बताए । 

बागी उम्मेद्वारको रुपमा उठेका शेरबहादुरले आफ्नो उम्मेद्वारी फिर्ता लिने भनेका थिए । सोहि अनुरुप उम्मेद्वारी फिर्ता लिने समयमा केहि ब्यक्तिहरुले अपहरण नै गरेको नेकपाको जिकिर छ ।   

‘उम्मेदवारी फिर्ता लिनबाट रोक्न केही व्यक्तिहरुले अपहरण गरेको देखियो । पछि प्रहरीको सहयोगमा उद्दार गरी जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा ल्याउँदा उम्मेदवारी फिर्ता लिने समय सकिइसकेकोले उम्मेदवारी फिर्ता हुन सकेन’ अध्यक्ष सापकोटाले बताए ।   

बाग्लुङमा नेकपाले बागलुङ प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीलाई सघाउने सहमति भएपनि उक्त निर्णय अस्वीकार गर्दै पूर्वमाओवादी निकट घर्तीले बागी उम्मेदवारी दिएका थिए । 

सापकोटाले घर्तीलाई कसले अपहरण गरेको भन्नेबारे भने खुलाएनन् । ‘अहिले हामी छलफलमा छौं, केहि भन्न सक्ने अवस्था छैन ।’ सापकोटाले भने । 

आइतबार प्रहरीले उनलाई बुर्तिबाङ बजारस्थित स्थानीय नेता तुलसी अर्यालको घरमा फेला पारेर हेलिकप्टरमार्फत बागलुङ बजार लगेको थियो । अर्याल २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार थिए । 

उनलाई हेलिकप्टर मार्फत बागलुङ बजार लगिएको भएपनि २० मिनेट ढिला भएकाले उम्मेदवारी फिर्ता हुन सकेन । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय बिहान १० देखि १ बजेको लागि तोकेकोमा मगर करीब २० मिनेट ढिला पुगेका थिए ।   

घर्तीको उम्मेदवारी फिर्ता नभएको भन्दै उनको नाम पनि समेटेर अन्तिम नामावली सार्वजनिक गरिने जिल्ला निर्वाचन अधिकृत विकाशचन्द्र शर्माले बताए । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार बागलुङ निर्वाचन क्षेत्र नं. २ को (ख) मा रिक्त प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेसका जितबहादुर शेरचन, रा.प्र.पा.(संयुक्त) का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार बि.क., राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारी (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले,  मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगर गरी १० जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका थिए । तस्विरः उजिर मगरकाे फेसवुकबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *