महाकाली सन्धिबारे कुरा उठाउँदा पार्टी छोड्नुपर्योः वामदेव गौतम

कार्तिक २५, काठमाडौं । सत्तारुढ नेकपाका सचिवालय सदस्य वामदेव गौतमले महाकाली सन्धिबारे कुरा उठाउँदा पार्टीबाटै अलग्गिनु परेको स्मरण गरेका छन् ।   

आज (सोमबार) पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले तुलसीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासलमा आयोजना गरेको ‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा’ विषयक बहस कार्यक्रममा नेता वामदेवले २२ वर्षअघि एमाले–माले विभाजनको क्षण स्मरण गरेका हुन् ।   

पार्टीको तिक्तताबारे स्मरण गर्दै उनले भने, ‘२०५४ सालमा महाकाली एकीकृत सन्धी गर्नु हुँदैन भनेर आवाज उठायौं। तर एकीकृत सन्धिको विरोध गर्दा पार्टी छोडेर हिँड्नुपर्यो । चार वर्ष अलग पार्टी (माले) खोल्यौं। फेरि एमालेमै सङ्घर्ष गर्ने भनेर फर्कियौं।’ 

त्यसपछि सीमा अतिक्रमणको विषयमा पार्टीमा कुनै पनि बहस हुन नसेकेको उनले बताए। भारतले पछिल्लाे पटक नक्सा नै जारी गरेपछि यो विषयमा राष्ट्रिय एकता जुटेको उनको भनाइ थियो।  

भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेपछि नेपालमा चर्को बहस चलिरहँदा नेता गौतमले तत्काल नै नेपालले नक्सा जारी गर्नुपर्ने बताए। उनले भने, ‘हामीले कति समय विदेशीले बनाएको नक्साबाट चल्ने।  यस विषयमा अहिले राष्ट्रिय सहमति जुटेको छ । छलफल गरेर कालापानीबाट भारतीय अर्धसैन्य बल फिर्ता गराउने बेला यही हो तत्काल नै नयाँ नक्सा निकाल्नुपर्छ। यसमा डराउनुपर्ने अवस्था छैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =