नौ वर्षमा १० देशबाट २३ जना मोस्ट वान्टेड ल्याइयो, २८ नेपाली अझै रेड नोटिसमाः अधिकांश सुन तस्करी प्रकरणका

कात्तिक ९, काठमाडौँ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले रेड नोटिस जारी गरेका ३० जना अझै फरार छन् । यीमध्ये २८ नेपाली र दुई भारतीय छन् । विगतमा रेड नोटिस जारी भएका व्यक्तिहरूको विवरण वेबसाइटमा राख्ने गरिएकोमा केही वर्षयता प्रहरीले यसलाई गोप्य राख्न थालेको छ । सार्वजनिक गर्दा पक्राउ गर्न कठिन भएपछि गोप्य राख्न थालिएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए ।  

-सन् २०११ मा एक अभियुक्तलाई मात्रै विदेशबाट पक्राउ गरी नेपाल ल्याउन प्रहरी सफल भयो । नक्कली कागजपत्र बनाएको मुद्दामा फरार रोशन पाण्डेलाई क्यानडामा पक्राउ गरेर ल्याइएको थियो । 

-सन् २०१२ मा दुईजना अभियुक्त झिकाउन प्रहरी सफल भयो । ठगी मुद्दामा फरार विनिता प्रधानलाई थाइल्यान्डबाट र हत्याको अभियोग लागेका अनिल राईलाई भारतबाट पक्राउ गरेर ल्याएको थियो । 

null

-सन् २०१५ पनि दुई अभियुक्त ल्याइयो, उनीहरू ठूला मुद्दाका अभियुक्त थिए । सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने सुटर सञ्जय स्माइली मगरलाई साउदी अरेबियामा पक्राउ गरेर ल्याइएको थियो । त्यस्तै, गैँडाको खाग तस्करी गिरोहका नाइके राजकुमार प्रजालाई मलेसियाबाट पक्राउ गरी ल्याइएको थियो । उनीहरू लुक्नकै लागि अरूको नामको पासपोर्टमा विदेश गएका थिए । हाल दुवैजना जेलमा छन् । 

-सन् २०१७ मा अमेरिकादेखि युएईसम्म लुकेर बसेका चारजनालाई ल्याइयो । हत्या मुद्दामा फरार भई अमेरिका पुगेका जीवनबहादुर अधिकारी, ३३ किलो सुन तस्करी मुद्दामा युएईमा लुकेका गुप्तलाल भुसाल र राजनप्रसाद पन्त तथा प्रेमिकालाई अपहरण गरी हत्या गर्ने प्रकाश लामिछानेलाई नेपाल ल्याइएको थियो । 

-सन् २०१८ रेड नोटिस जारी भएका अभियुक्त पक्राउमा प्रहरीलाई ठूलो सफलता मिल्यो । १० जना पक्राउ गरेर नेपाल झिकाइए । हत्या मुद्दामा फरार तुलबहादुर सिँजालीलाई कतारबाट ल्याइएको थियो । त्यस्तै, हत्या मुद्दाकै फरार अभियुक्त मुखिया गुरुङलाई भारत र एमडी सकिल हुसेनलाई कतारबाट ल्याइयो । वन्यजन्तु तस्करीका कुख्यात अभियुक्त लोडु डिमेलाई पनि भारतबाटै ल्याइएको थियो । 

-कुवेतमा बसेर मानव तस्करी गर्ने गिरोहका मीना लामा र उनका श्रीमान् श्याम लामालाई पनि स्वदेश झिकाइयो । उनीहरू हाल जेलमा छन् । त्यस्तै, वैदेशिक रोजगार ठगीमा फरार रहेकी सुभद्रादेवी बराम दुबई जाने क्रममा पक्राउ परेकी थिइन् । बलात्कार मुद्दामा फरार भई युएई पुगेका सिंहलाल थिङलाई पनि गत वर्ष नै पक्राउ गरी ल्याइएको थियो । 

-ठगी मुद्दामा वर्षाैंसम्म फरार सोमनाथ निरौलालाई चीनबाट ल्याइयो भने ३८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका फरार बेनु श्रेष्ठलाई युएईबाट पक्राउ गरी ल्याउन नेपाल प्रहरी सफल भयो । 

-सन् २०१९ मा नेपाल प्रहरीले चारजनालाई ल्याइसकेको छ । बैंककमा बसेर वर्षौँसम्म मानव तस्करीको गिरोह चलाएका परशुराम गुरुङलाई गत जेठमा ल्याएको हो । त्यस्तै, साइबर क्राइम मुद्दाका अभियुक्त सुरेश गुरुङ तथा बैंकिङ कसुर मुद्दामा रेड नोटिस जारी मनोज श्रेष्ठलाई पक्राउ गरेर ल्यायो । लीलाराज गौतमलाई बुधबार मात्र प्रहरीले अमेरिकाबाट ल्याएको छ । 

-अन्य केहीलाई ल्याउने प्रक्रिया भइरहेको प्रहरीका सहप्रवक्ता तथा एसएसपी उमेशराज जोशीले बताए । दुबईबाट मात्र तीनजनालाई नेपाल ल्याउने प्रक्रिया चलिरहेको छ । संगठित सुन तस्करीको अभियोगमा फरार रमेश उप्रेती, कृष्णगोपाल अग्रवाल र हरिशरण खड्कालाई ल्याउने प्रक्रिया चलिरहेको छ । यो समाचार आजको कान्तिपुर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *