पेरुमा संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान

  

असाेज १४, लिमा ।  पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन् । पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको घोषणा गरेका हुन् । 

राष्ट्रपति भिजकाराले संसदले भ्रष्टाचार रोक्न ल्याइएका सुधारका कार्यमा अवरोध गरेको तथा सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशको छनौटको विधि परिवर्तन गर्न नचाहेको भन्दै संसदको आलोचना गरिरहेका थिए ।   

यी दुई विषयलाई लिएर राष्ट्रपति र संसदबीच लामो समयदेखि विवाद र असमझदारी रहेको छ । टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेको केहीपछि नै संसदले राष्ट्रपतिलाई नै एक वर्षका लागि निलम्बित गर्नेगरी मतदान गरेको थियो । राष्ट्रपतिमा ‘नैतिक अक्षमता’ रहेको भन्दै संसदले उपराष्ट्रपति मर्सिडेज आराओजलाई कार्यवाहक राष्ट्रप्रमुखमा मनोनयन गरेको छ । 

संसदका सभामुख पेड्रो ओलेचाले संसदको बैठक शुक्रबारका लागि डाकिएको र त्यसले राष्ट्रपति भिजकारालाई पदबाट हटाउने जानकारी दिए । ‘हामी अहिले सत्ताविद्रोहको अवस्थामा छौं,’ विपक्षी सांसद जोर्ज डेल कास्टिल्लोले भने । ‘मुलुकको सशस्त्र फौज र प्रहरी राजनीतिकर्मीहरुको यस खेलबाट टाढै रहने मेरो विश्वास छ ।’ 

यो घटना पनि पेरुमा वर्षौंदेखि जारी राजनीतिक विवादकै एक शृङ्खलाका रुपमा देखिएको विश्लेषकहरुले टिप्पणी गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएदेखि नै भिजकाराले संसदसँग पटकपटक संघर्ष गर्नुपरेको थियो । संसदमा केइकी फुजिमोरी नेतृत्वको पपुलर फोर्स पार्टी बहुमतमा रहेको छ । केइकी फुजिमोरी आफैं पनि भ्रष्टाचारको आरोपमा जेलमा रहेका छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *