भारतबाट ल्याएको धानमा बाला लागेन, हरियै बोट काट्दै छन् किसान्, नफल्ने बिउ सिफारिस गर्नेलाई कारबाहीको माग

कात्तिक २, चितवन । गरिमा जातको धान नपसाएपछि चितवनका किसानहरूले धानको हरियो बोट काट्न थालेका छन्  । उनीहरुले गत वर्ष लगाएको गरिमा जातकै धान भने राम्रो उत्पादन भए पनि यस वर्ष सोही जातको धान अन्य धान थन्काई सकेपनि बाला नलागेपछि अहिले किसानहरु धमाधम हरियो बोट काट्न थालेका हुन् ।   

अन्य जातको धान लगाउने किसानहरू अहिले धान भित्र्याउन व्यस्त छन् । तर गरिमा जातका धान लगाएका किसानहरू भने नपसाएको धान काट्न थालेका छन् । किसानहरुले भारतबाट आयातित वर्णशंकर गरिमा जातको धानको बिउ लगाएका थिए ।   

विगतका वर्षहरुमा राम्रो उत्पादन गरेको अनुभव सुनाउँदै खैरहनी ११ पिद्रहनीका किसान कृष्ण लामाले बाला नलागेपछि हरियो बोट काटेको बताए ।   

क्षतिपूर्ति माग   

कृषि प्राविधिकहरुले धानमा बाला लाग्ने बताएपछि केही समय प्रतिक्षा गरेको तर हालसम्म पनि त्यस्तो कुनै लक्षण नदेखेपछि बोट काटेको किसान लामाले बताए । बाली थन्काउन नपाएका किसानहरुले सुरुदेखिकै खर्च सरकारले व्यहोर्नु पर्ने उनको माग छ ।   

‘सरकारले सिफारिस गरेर सूचिकृत गरेको धान हामीले लगाएका थियौ किसान लामाले भने रोपाईदेखी अहिले सम्मको खर्च सरकारलेनै व्यहोर्नु पर्छ ।’ उनले भने ।     

चितवनमा लगाएको धानमा बाला नलागेपछि राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमबाट असोज पहिलो साता विज्ञको टोलीले स्थलगत निरीक्षण गरेका थियो । त्यसपछि विज्ञहरूले उक्त धानमा २५ दिनपछि बाला लाग्ने बताएको तर २४ दिन बितिसक्दा पनि धानमा बाला लाग्ने छाँट नदेखिएपछि आफूहरूले बोट काटेर फाल्नु परेको किसानको भनाई छ ।   

यसअघि खैरहनी ९ का किसानहरुले पनि गरिमा जातको धानमा बाला नलागेपछि हरियो बोट मेसिन लगाएर काटेका थिए । उक्त धान गरिमा प्रजाति को हो कि होईन भन्ने यकिन गर्न परीक्षणको लागि नमुना लगिएको भएपनि त्यसको प्रतिवेदन आई सकेको छैन ।  चाँडो फल्ने भनेर गरिमा धान लगाएका किसानहरुले तरकारी खेती गर्न ढिलो हुन थालेकाले हिरयोमा नै बोट काटेका हुन् । पूर्वी चितवनमा धान काटेर तरकारी लगाउने सिजन हो ।   

 किसानहरूले धानको कमसल बिउ उपलब्ध गराउनेलाई पनि कारबाही हुनुपर्ने भन्दै आफूहरूले गरेको खर्चको क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेका छन् । धानको बिउ बिक्री गरेको तथ्यांकलाई आधार मानेर हेर्दा चितवनमा करीब ९ सय ५० बिगाहमा गरिमा जातको धान लगाइएको हुनसक्ने अनुमान कृषि ज्ञान केन्द्र चितवनले गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *