मुस्कानको मुहारमा खुशी थप्न पुगे राजेश हमाल

असोज २८, काठमाडौं । महानायक राजेश हमालले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेटेका छन् ।
वीरगञ्जकी १४ वर्षीय मुस्कान खातुनलाई मंगलबार किर्तिपुर अस्पताल पुगेर राजेश हमालले भेटेको सामाजिक अभियान्ता उज्जवल थापाले जानकारी दिए ।
सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै उज्जवलले सोमबार फेसबुकमा लेखेका छन्, ‘महानायक राजेश हमाल ज्यु ले मेरो अनुरोध मा आज किर्तिपुर अस्पताल आएर मुस्कान लाई भेट्नु भयो । भेटघाटमा उहाँले सधैँ मुस्कानको अवस्थाबारे जानकारी लिनु भएको थियो ।’

नायक हमालले सरल, असल रहन र शिक्षामा ध्यान दिन सम्झाएको उनको भनाइ छ ।
मुस्कानलाई यसअघि बलिउडका अमिताभ बच्चन, शाहरुख खान वरुण धवन, कृति सेनले पनि भिडियो सन्देश पठाइसकेका छन् । मिस नेपाल श्रृंखला खतिवडा, राजु लामाले पनि मुस्कानलाई भेटेर हौसला प्रदान गरेका थिए ।
गएको भदौ २० गते मुस्कान स्कुल जाँदै गर्दा पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने १६ वर्षका सम्साद मिया र सोही उमेरका माजिद आलमले उनीमाथि एसिड प्रहार गरेका थिए ।
प्रेम प्रस्ताव अस्वीकार गरेका कारण खातुनमाथि एसिड प्रहार गरेको ती युवाहरुले प्रहरी अनुसन्धानका क्रममा बयान दिएका थिए ।
सरकारले मुस्कानको उपचारका लागि ३ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ ।








