चाडपर्वको माैका छाेपेर लिएकाे बढी भाडा फिर्ता भएपछी यात्रु हर्षित

असाेज २८ सोलुखुम्बु । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफै सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन् । चाडपर्वको अवसरमा विभिन्न बहाना पारी यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाइ गर्दै आएको छ । 

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरिया आफैँ सडकमा आएर नागरिकको गुनासो सुनेको यो पहिलो पटक हो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलीले बढी भाडा लिने सवारीलाई कारवाही गर्दै यात्रुको रकम फिर्ता गराइरहेको छ । 

बारम्बार सचेत गराउँदासमेत विभिन्न बहाना पार्दै यात्रुलाई बढी भाडा लिए पनि कतिपय यात्रु स्वयंले ढाँटेर दोषीलाई उन्मुक्ति दिने काम गरेको पाइएको प्रमुख जिल्ला अधिकारी खनालले बताए  । उनले भने, “ट्राफिक प्रहरीको सक्रियता सन्तोषजनक छ, तर पनि स्थलगत गुनासो सुन्ने र आगामी योजना निर्माण गर्ने गरी राति नै सडकमा गयौँ, हेर्यौ धेरै कुरा बुझ्यौँ ।” 

Image result for गाडी भाडा फिर्ता

४४ जना यात्रुको भाडा फिर्ता 

आइतबार ओखलढुङ्गाबाट सोलुखुम्बु भित्रिएको सवारीसाधानमा जाँच गर्दा सात यात्रुबाट रु ५० का दरले बढी लिएको पाएपछि रकम फिर्ता गराइएको प्रहरी नायब उपरीक्षक चिमोरियाले जानकारी दिए । ओखलढुङ्गा सल्लेरीका लागि रु ४५० भाडा कायम गरिएको छ । 

सोमबार पनि थुलुङ दूधकोशीको दिप्लीघाटबाट सल्लेरी आउने जीपले निर्धारण गरिएको भन्दा रु ३०० बढी भाडा लएपछि फिर्ता गराइएको प्रहरीले जनाएको छ । २९ यात्रुको जनही रु ३०० भाडा फिर्ता गरिएको ट्राफिक प्रहरी नारयणबहादुर बस्नेतले जानकारी दिए । दिप्लीघाटदेखि सल्लेरीसम्मको रु ७०० भाडा निर्धारण गरिएको भए पनि यातायात व्यवसायीले रु एक हजार लिँदै आएका छन् । 

यस्तै सोमबारै काठमाडौँ जाने आठ यात्रुबाट बढी लिएको भाडा फिर्ता गराएको प्रहरीले जनाएको छ । सल्लेरी–काठमाडौँ रु एक हजार ६०० भाडा निर्धारण गरिएको भए पनि दुई जनाबाट रु दुई हजार र अन्य छ जनाबाट रु एक हजार ८०० भाडा लिएको पाइएको ट्राफिक प्रहरी बस्नेतले जानकारी दिए । 

भाडा फिर्ता पाएपछि यात्रु हर्षित 

बढी तिरिएको रकम फिर्ता पाएपछि यात्रु भने निकै खुशी भएका छन् । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले चेकिङ गर्दै थिए पत्रकारसमेत रहेका जुबुका डाकमान राईले भने, “मलाई यो कार्य देखेर अत्यन्तै खुशी लाग्यो, यस्तो चेकिङ निरन्तर भयो भने अझै राम्रो हुन्छ ।” 

कुनै सवारीसाधनले बढी भाडा लिएको खण्डमा १०० नम्बरमा फोन गरेर जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ । 

अहिले पनि टिकट काउण्टरका कर्मचारीले गाडी अभाव तथा सिट नभएको भन्दै सल्लेरीदेखि काठमाडौँका लागि रु दुई हजारसम्म लिँदै आएका छन् । पछिल्लोपटक जिल्ला प्रशासनमा यातायात व्यवसायीसहितको बैठकले सल्लेरी–काठमाडौँ रु एक हजार ६०० भाडा निर्धारण गरेको छ । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *