करोडौं नगदसहित पक्राउ परेका २५ जुवाडेलाई ७ दिन थुनामा राख्न अनुमति

कार्तिक १४, काठमाडौं । शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका २५ जुवाडेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप गरिएको छ ।   

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जुवा खेलिरहेको अवस्थामा जुवा खालबाट करोडौं रकमसहित पक्राउ परेका २५ जना जुवाडेलाई ७ दिन थुनामा राख्न बिहीबार अनुमति दिएको हो ।   

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले अनुसन्धानका लागि उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालय, काठमाडौं पेस गरेको थियो । उनीहरुमाथि अनुसन्धानका लागि प्रहरीले १५ दिनको समय मागेको थियो ।  जिप्रकाले ७ दिनको मात्रै म्याद थप गरेको हो ।   

तिहारको समयमा प्रहरीले महाराजगन्जको साम्बाला होटेलपछाडि विक्रम गौतमको घरमा जुवा खेलिरहेका २५ जनालाई नियन्त्रणमा लिएको थियो ।   

प्रहरीले छापा मारी क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई पक्राउ गरेको हो। 

उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद, बैंक अफ काठमाण्डुको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *