घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागी संखुवासभा कोशेली घर सञ्चालन

असाेज २८, विराटनगर ।  संखुवासभाको घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागी संखुवासभा कोशेली घर सञ्चालनमा छ । सदरमुकाम खाँदबारीमा रहेको यो कोशेली घरमा संखुवासभामा उत्पादन गरिएका घरेलु सामाग्रीहरुको बिक्री गर्ने गरिएको छ ।  

विगत ९ वर्ष अघि अल्लो तथा खाडीका कपडा बिक्रिका लागि सुम्निमा सौंगात गृह सञ्चालन गरिएको थियो । तर चार महिना अघिदेखि यहीँ गृहलाई संखुवासभा कोशेली घर नाम राखेर सञ्चालन गरिएको सञ्चालक विश्व लिम्बूले बताए । 

कोशेली घरमा हस्तकलाका सामाग्रीहरु, अल्लोका कपडा, अल्लोबाट निर्मीत सामाग्रीहरु जुत्ता, चप्पल, झोला, थैली, कोट, चैनपुरे करुवा, बाँसबाट निर्मित सामाग्रीहरु बिनायो, काइयो, चमर, राडी, ढाका टोपी, रुद्राक्षको माला, खाडीका कपडाहरु बिक्रीका लागि राखिएको छ । 

कोशेली घर सञ्चालनले स्थानीय उत्पादनको बजार बिस्तारका साथै स्थानीय उत्पादनका उद्योगधन्दालाई व्यवसायिक बनाउन सहयोग पुगेको लिम्बूको भनाई छ । गाउँ र शहरमा घर बुना र हस्तकलाका सामाग्रीहरु बिक्रीका लागि कोशेली घरमा ल्याइने गरेको छ । कोशेली घर सञ्चालनका लागि गत साउनमा घरेलु तथा साना उद्योग विकास समिति संखुवासभाले ३ लाख र डिभिजन वन कार्यालय संखुवासभाले २ लाख रुपैंया ऋण उपलब्ध गराएको लिम्बूले बताए । उक्त ऋण आर्थिक वर्ष २०७८/०७९ मा फिर्ता गरिसक्नु पर्ने छ । 

कोशेली घर सञ्चालन पछी पर्यटकहरुलाई एकै ठाउँबाट स्थानीय उत्पादनका सामाग्रीहरु हेर्न र खरिद गर्न सहज भएको छ । कोशेली घरबाट अन्य व्यवसायमा जस्तो आर्थिक लाभ नभए पनि घरेलु उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सञ्चालन गरिएको उनी बताउँछन् । आफ्नै देशमा केही गरौं भन्ने उदेश्यले कोशेली घर सञ्चालनमा ल्याएको उनी बताउँछन् । 

कोशेली घरमा राखिएका सामाग्रीहरु अन्य जिल्ला र विदेशी पर्यटकहरुले संखुवासभाको चिनो स्वरुप लैजाने गरेका छन् । त्यस्तै जिल्लामा आएका विशिष्ट पाहुना र विशेष व्यक्तिलाई रुद्राक्षको माला लगाएर स्वागत गरिन्छ । कतिपय सम्मानका कार्यक्रमहरुमा अल्लोको दोसल्ला ओढाएर सम्मान गर्ने चलन छ । त्यस्तै जिल्लाबाट बाहिरिएका विशेष व्यक्तिहरुलाई चैनपुरे करुवा, खुकुरी लगायतका सामाग्री मायाको चिनो स्वरुप दिइने गरिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =