जहदा गाउँपालिकाको निर्माणाधिन सामुदायिक भवनमा आर्थिक हिनामिनाको आरोप, अख्तियारमा उजुरी

कातिक, ५ विराटनगर । मोरङको जहदा गाउँपालिका ३ स्थित निर्माणाधिन सामुदायिक भवनमा लाखौ भ्रष्टाचार भएको छ । स्थानीय वासिन्दाहरुलाई विवाह, ब्रतबन्ध लगायतका अन्य कार्यक्रम गर्न सहज होस भन्ने उद्देश्यका साथ निर्माण गरिएको सामुदायिक भवनमा ठुलो मात्रामा हिनामिना भएको हो ।   

सामुदायिक भवन निर्माणमा अनियमितता भएपछि स्थानीय जनताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा उजुरी समेत गरेका छन् । 

२/५ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त भवन जम्मा ७७ लाखको बजेटमा निर्माण कार्य सुरु भएको थियो । हाल सो भवनको निर्माण कार्य रोकिएको छ । क्षेत्र नं ५ का संघिय सांसद शिव कुमार मण्डलको पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट ७० लाख र जहदा गाउँपालिकाको तर्फबाट ७ लाख गरी जम्मा ७७ लाखको बजेट विनियोजन भएको थियो ।   

सोहि बजेट अनुरुप भवनको निर्माण कार्य गत जेठ ८ गते बाट निर्माण कार्य प्रारम्भ गरिएको उक्त सामुदायिक भवन असार २० गते सम्ममा सम्पन्न गरिसक्नु पर्ने भएपनि उक्त भवन लथालिङ्ग अवस्थामा छ ।   

भवनको निर्माण कार्य सम्पन्न हुन पूर्व नै ७० लाख बजेट सकाइएको छ । भवन निर्माण कार्य पुरा नहुँदै केन्द्रबाट आएको ७० लाख बजेट सकिए पछी स्थानियले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा गत साउन १५ गते भ्रष्टाचार मुद्दा दायर गरेका थिए । 

अख्तियारमा मुद्दा परेदेखि नै उक्त भवनको निर्माण कार्य ठप्प भएको छ । मधेश समृद्धि कार्यक्रम अन्तर्गत निर्माण सुरु भएको सामुदायिक भवनमा व्यापक लापरबाही भएको जहदा गाउँपालिका ३ का स्थानिय सुरज कुमार राजवंशीले बताए । भुकम्प प्रतिरोधात्मक भवन निर्माण गर्ने भए पनि उक्त भवनको बेसमेन्ट बिना नै तयार पारिएको उनले बताए । ‘भवनको बेसमेन्ट समेत छैन, कमजोर संरचनाले बनाइएको भवन भुकम्पको उच्च जोखीममा पूर्ण भएपनि सरोकारवालाले ध्यान नदिएपछि अख्तियारमा उजुरी दिइएको हो ।’ उनले भने ।   

उक्त भवनको निर्माण कार्यमा आर्थिक हिनमिना हुन सरोकारवालाहरुकै हात रहेको राजवशीले आरोप लगाएका छन् । उनले ३० देखि ३५ लाखको वजेटमा बनेको उक्त भवनलाई ७० लाखको भवन प्रमाणित गरेर बाँकी रकम हिनमिना गरेको बताए । ‘भवन बनाउन ३०, ३५ लाख मात्रै खर्च भएको छ ।’ उनले भने ।   

निर्माणाधिन सामुदायिक भवनको जग्गा स्थानीयवासी रामदेव शाहले दान दिएका हुन् । शाहले निर्माण कार्य सुरु हुनु अगावै उक्त जग्गा गाँउपालिकासँग जग्गा दानमा दिने सहमति गरेका थिए । त्यसपछि गाउँपालिकाद्धारा एकलौटी ढङ्गबाट शाहलाई उपभोक्ता समितिको अध्यक्ष बनाईएको स्थानीयको भनाई छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *