ग्राण्डी अस्पतालले भन्यो– प्रधानमन्त्रीको स्वास्थ्यबारे केही लुकाएका छैनाैँ, आजै डिस्चार्ज गर्छौँ


कार्तिक १४, काठमाडौं । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने बताएको छ ।
बिहीबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै ग्राण्डी अस्पतालले प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने जानकारी गराएको हो ।
उनी बिहीबार बेलुकी ८–९ बजे अस्पतालबाट बालुवाटार जाने ग्राण्डीका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले जानकारी दिए । प्रधानमन्त्रीको स्वास्थ्यबारे अस्पतालले केही नलुकाएको उनको दाबी छ ।
बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा दुई पटक डायलासिस भइसकेको छ । अस्पतालले पनि सो बारे औपचारिक रुपमा जानकारी गराएको छ ।
अस्पतालका अनुसार प्रधानमन्त्रीको अवस्था सामान्य छ ।
श्वासप्रश्वासमा समस्या आएपछि प्रधानमन्त्री ओली बुधबार ग्राण्डीमा भर्ना भएका थिए ।
