आजका छापाः सभामुख कृष्णबहादुर महरालाई करणीको बात देखि दशैंमा यातायात ब्यवसायीको लूट र युनिटीजस्तै ठगीधन्दा

असोज १४, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले जवरजस्ती करणीको आरोप लगाइएको समाचारले प्राथमिकता पाएको छ । कान्तिपुर दैनिक, नागरिक दैनिक, राजधानी दैनिक, अन्नपूर्ण पोस्ट, नयाँ पत्रिकाले अग्र प्रष्ठमा महराको समाचार प्रकाशित गरेका छन् । यो सँगै आजका दैनिकहरुले अन्य समाचारलाई पनि प्राथमिकता दिएका छन् ।
खाल्टाखुल्टीका कारण मुख्य राजमार्गहरूमा सहजरूपमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुँदै आएको छ । सरकारले स्तरोन्नति गर्ने सडकमा वर्षेनी टालटुल मात्र गर्ने नीतिका कारण अधिकांश सडकमा खाल्टाखुल्टी पर्ने गरेको छ । व्यवस्थित राख्नुपर्ने मुख्य राजमार्गमा खाल्टाखुल्टीका कारण यातायात सञ्चालन गर्न कठिनाइ त छँदै छ समयमा नै यात्रुले गन्तव्यमा पुग्न नसक्ने सास्ती पनि खेप्दै आएका छन ।
सरकारले सडकको स्तरोन्नति गर्नेतर्फ भन्दा पनि टालटुल गर्न ध्यान दिएका कारण मर्मत गर्न खर्चिएको लगानी बालुवामा पानीजस्तै भएको छ । टालिएका सडक दुई महिना पनि टिक्दैनन्। तर, सरकारले भने सडक टाल्ने कामलाई नै प्राथमिकता दिँदै आएको छ । नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । भने, नेपाल समाचार पत्रमै चिनियाँ राष्ट्रपति सी जिन पिङ यही असोज २७ मा नेपाल आउने र राष्ट्रपति विद्यादेवी भण्डारी त्यसको अर्को साता जापानतिर लाग्ने समाचार पनि छ ।

भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो । तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘हामी घोडा चढेर तिब्बततर्फ जाँदै थियौं । भारतीय सेनाले गस्ती गरिरहेको भेट्यौं,’ दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले टेलिफोनमा अन्नपूर्णसँग भने,‘हामीले फोटो खिच्यौं र उनीहरुलाई रोक्न भन्यौं । तर उनीहरु नसुनेझै गरेर गए ।’
साउद नेतृत्वमा ८ जनाको टोली त्यहाँ पुगेको थियो । क्याम्पस प्रमुख साउद, उपप्राध्यापक मदनसिंह कार्की र पदमसिंह बडाल भने तिब्बतको नरी प्रिफेक्चर पुराङ काउन्टीसम्म पुगेका थिए । छ्यालेकमा नेपालको प्रहरी चौकी छ । अन्नपूर्ण पोस्ट्मा सुरेन्द्र काफ्ले लेख्छन् ।
राज्यले निजी क्षेत्रसँग सहजीकरण गरी रोजगार सिर्जना, आय विस्तार, उत्पादकत्व वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा उद्यम र व्यावसायलाई नियमन गर्न एकसाथ धेरै नियम ल्याइएको छ । यसबाट निजी क्षेत्र त्रसित बनेको छ । चालु आर्थिक वर्षदेखि सरकारले एक हजारमाथि कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्नेदेखि आयातकर्ता, थोक वितरक र आन्तरिक उत्पादनका वितरकले सामान ओसारपसार गर्दा मालवाहक सवारीको ट्र्या्किङ गर्ने प्रणाली (भीसीटीएम) लागू गरेको छ ।
सरकार र निजी क्षेत्र सम्मिलित अध्ययन टोलीको प्रतिवेदनपछि सरकारले यसमा पुनर्विचार गर्ने आश्वासन दिए पनि टुंगो लागेको छैन । भीसीटीएम लागू गर्दा दूरदराज र इन्टरनेट नचल्ने ठाउँमा वस्तु ढुवानी गर्न अव्यावहारिक हुने निजी क्षेत्रको गुनासो छ । अन्नपूर्ण पोस्ट्मा पुष्पराज आचार्यले लेखेका छन् ।
दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ ।
बसको टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री भइरहे पनि सरकार भने मूकदर्शक बनेको छ । चावहिलस्थित सुपर खोटाङ भोजपुर यातायात प्रालि, मध्यमोलुङ यातायात प्रालिलगायतले तोकिएको भाडादरभन्दा बढी दरमा टिकट बेचिरहेका छन् । काठमाडौंबाट भोजपुर जाने बसमा पनि रिजर्भका नाममा ठगी भइरहेको छ । कोटेश्वरस्थित चोमलुङ्मा यातायात प्रालिले पनि २ सय बढी लिएर यात्रुबाट बढी भाडा असुलिरहेको पाइएको छ ।
अधिकांश हायस तथा सुमोले महँगो भाडा असुल गरिरहेको यात्रुले गुनासो गरेका छन् । चाडमा जसरी पनि घर जानैपर्ने भएकाले महँगो भाडा दिन बाध्य भएको उनीहरूको दुखेसो छ । आजको राजधानी दैनिकमा टेनिस रोका समाचार लेख्छन् ।
प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पानीजहाज) सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज (सानो पानीजहाज) सञ्चालन गरेको छ । रङ्गमहल रिभर ल्यान्ड प्रा.लि.ले मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक सुरुआत भने दशैँको फूलपातीबाट गरिने प्रा.लि.का अध्यक्ष रमन भट्टराईले जानकारी दिए ।
मिनी क्रुज झट्ट हेर्दा सानो पानीजहाजकै स्वरूपमा छ । यसलाई स्थानीय पानीजहाजकै नामले चिन्दछन् । मिनी क्रुज पहिलोपटक आइतबार मात्रै नारायणी नदीमा टेस्ट ड्राइभ गरिएको हो । यसको सोमबार पनि टेस्ट ड्राइभ जारी थियो । आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले लेखेका छन् ।
नागरिक दैनिकमा ‘फेरि युनिटीजस्तै ठगीधन्दा’ शीर्षकको मुख्य समाचार छ । भारतीय ओरियन्स नामको कम्पनीले युनिटीले जस्तै नेपालीहरुलाई ठग्दै आएको समाचारमा उल्लेख छ । ‘भारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय खोलेको ओरियन्सले लामो समयदेखि नेपालमा ५० किसिमका अवैध औषधि बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ व्यवसाय चालेको फेला परेको हो,’ नागरिक दैनिक लेख्छ । यसैगरी सरकारले उपप्रधानमन्त्री, मन्त्री र सांसदहरुलाई मात्र होइन, उनीहरुको सल्लाहकार र स्वकीय सचिवलाई समेत दशैं खर्च दिने निर्णय मन्त्रिपरिषद बैठकबाट गरेको समाचार आजको नागरिक दैनिकमा छ ।
यता कान्तिपुर दैनिकले हचुवाको भरमा नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको समाचारलाई मुख्य समाचार बनाएको छ । ‘खुलामै शौच, हचुवामा घोषणा’ शीर्षक दिएर कान्तिपुर लेख्छ ‘सरकारले पूर्ण सरसफाइका सामान्य मापदण्ड नै पूरा नगरी मुलुकलाई दक्षिण एसियामै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा गरेको छ । सरकारी तथ्यांकहरुअनुसार मुलुकमा १ करोड ४८ लाख ५० हजारभन्दा बढी घरपरिवार रहेकामा करिब ५६ लाख ६० हजार मात्र शौचालय छन् ।’
यसैगरी आजको कान्तिपुरमा चिनियाँ राष्ट्रपति सी जिनफिङ, उनकी श्रीमती पेङ लियुआन, विदेशमन्त्री वाङ यीसहितको उच्चस्तरीय भ्रमणलाई लक्षित गरेर आन्तरिक व्यवस्थापन र सुरक्षा तयारी अघि बढाइएको समाचार छ ।
राजधानी दैनिकमा सशस्त्रका २२ पूर्ववरिष्ठ अधिकृतहरुले असुरक्षित महसुस गरिएको भन्दै सरकारसँग सुरक्षा माग गरेको मुख्य समाचार छ । १२ एआईजी र ११ डीआईजी गरी २२ जनाले सुरक्षा माग गरेको लेखिएको छ । ‘सुरक्षा निकायमा पूर्ववरिष्ठ अधिकृतहरुले कैयौं सुरक्षाकर्मीलाई सुरक्षाको बहानामा घरेलु कामदारका रुपमा राखिरहेको तथ्य सार्वजनिक भएपछि गृह मन्त्रालयले तीन महिनाअघि मात्रै प्रहरीका पूर्वअधिकृतको घरमा राखिएका सबै सुरक्षाकर्मीलाई फिर्ता गरेको थियो । गृह मन्त्रालयले फिर्ता गरेको तीन महिना बित्न नपाउँदै पूर्वअधिकृतले सुरक्षाको बहानामा पुनः सुरक्षाकर्मी माग गरेका हुन् ।’ समाचारमा भनिएको छ ।
सुरक्षा माग गर्नेहरुमा पूर्वएआईजीहरु रविराज थापा, रोहित थापा, नारायणराज पाण्डे, कृष्णबहादुर श्रेष्ठ, डाक्टर ठाकुरमोहन श्रेष्ठ, ऋषवदेव भट्टराई, जीवनकुमार थापा, डा. कृष्णकुमार तामाङ, जितबहादुर पुन, प्रेमकुमार शाही, प्रकाश ओझा, निराकारविक्रम शाह छन् ।
सरकारी मुखपृष्ठ गोरखापत्र दैनिकले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको, नेपाल समाचारपत्र दैनिकले ग्रान्डी अस्पतालले बच्चाको उपचारमा लापरबाही गरेको र कारोबार दैनिकले अमेरिकी अनुदानका आयोजना कार्यान्वयनका लागि सम्झौता भएको समाचार प्रकाशित गरेका छन् ।








