भोलिदेखि सुरु हुने कागेश्वरी महामेलाको तयारी पूरा, डेढ लाख पर्यटक भित्र्याउने घोषणा

भाद्र १८, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा अवस्थित् कागेश्वरी महादेव मन्दिरमा भोलीबाट महामेला लाग्ने भएको छ । २१ गतेसम्म लाग्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको कागेश्वरी महामेला व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।   

कागेश्वरी नगरपालिकाका नगर प्रमुख एवम् महामेला व्यवस्थापन समितिका संरक्षक कृष्णहरि थापाले महामेला भव्य र सभ्य हुने बताउँदै देशभित्र र बाहिरका सबै भक्तजनहरुलाई निम्तो दिए । उनले मेलामा पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै एक लाख पचास हजार पर्यटक भित्र्याउने उद्देश्य राखेको बताए ।   

नगरपालिकाको नामनै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा उक्त मन्दिरमा लाग्ने मेलालाई नगरपालिकाले बिशेष महत्व दिएको छ । नगरपालिकाले तीन दिनसम्म बिशेष कार्यक्रम गर्ने कार्यतालिका बनाएको छ ।   

धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले २२७ किलो धातुको कागको मूर्ती स्थापना गरी कागेश्वरी महादेब मन्दिरको पहिचान बनाएको थापाले जनाए । भाद्र १९ गते कागेश्वरी मेलाको उद्घाट्न गरी साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, २० गते धार्मिक प्रबचन र महात्म्य सञ्चालन हुने र २१ गते मन्दिरको सरसफाई गर्ने कार्यक्रम छ । 

उनले मन्दिरको डिजाईन पुरातात्विक विभागबाट गराएको र ६ करोडको बजेट छुट्याएको साथै मन्दिर वरपर पर्यटकलाई लक्षित गरी भ्यू–टावर, पिकनिक स्पट बनाउने बताए । उनले मन्दिरमा जानका लागि सुन्दरीजल, गागलफेदी, कागेश्वरी नगरपालिका हुँदै छोटो बाटोको प्रयोग गरी जान सकिने पनि जानकारी दिए ।   

कागेश्वरी–मनोहरा नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् महामेला व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द गजुरेलले महामेलाको सम्पूर्ण तयारी भएको र कार्यक्रममा सानो ठाउँको बाबजुतपनि भक्तजनहरुलाई मेलामा उपस्थितिका लागि आमन्त्रण गरेका छन् । कार्यक्रममा सानो क्षेत्रलाई जतिसक्दो व्यवस्थित् गर्ने र आगामी वर्षमा मेलालाई मध्येनजर गर्दै ठाउँ व्यवस्थापन गर्ने पनि विश्वास दिलाए ।  मेलामा नगरपालिकाभित्र सार्वजनिक विदा दिने परम्परालाई यसपालिपनि निरन्तरता दिईएको छ ।   

ॐकार ध्वनीका संस्थापक मुकुन्द शर्माले चराचर जगतको महिमा सुनाउँदै तीन दिनको अनुष्ठान् मेलाका लागि अभियान सुरु भएको अभियान  अत्यन्त राम्रो र धार्मिक भएको प्रतिक्रिया दिए ।  उक्त मेलामा जाने भक्तजनहरुले गोसाईकुण्डको जल लिएर गए पवित्र हुने विश्वास रहेको पनि उनले सुनाए । उनले कागले छोए वा विस्टाएमा दशा लाग्ने रुढीबादी परम्परा भएको र कागले छोएमा कागेश्वरीको दर्शन गर्न जानु भन्ने परम्परा रहेको बताए । 

‘यस मन्दिरमा मकै ल्याएर कागलाई अर्पण गर्नु, यहाँ अवस्थित् पर्वतमा चढ्यो भने अश्वमेघ यज्ञ गरेको फल पाईने किम्बदन्ती छ ।’ उनले भने । कागेश्वरी मन्दिर स्वर्गको नमूनाको रुपमा रहेको र उक्त मन्दिरबाट काठमाडांै उपत्यकाको पनि मनोरम दृश्यहरुको दर्शन गर्न पाईने पनि शर्माले जनाए ।   

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित उक्त क्षेत्रमा अहिले आन्तरिक एवं बाह्य पर्यटकको संख्या दैनिक बढ्दै गएको आयोजकको दाबी छ । नेपालको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित कागेश्वरी महादेव मन्दिरमा हरेक वर्ष कागेअष्टमीका दिन विशेष मेला लाग्ने गर्दछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *