आज सातौँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैः प्रधानमन्त्री भन्छन्-विज्ञान र प्रविधिलाई सुख र खुशीयालीसँग जोड्नुपर्दछ

अशोज १, काठमाडौँ । आज सातौँ राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्षको मूल नारा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनः सामाजिक आर्थिक रुपान्तरण’ तय गरिएको छ । यसैबीच दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट देशका कुनै पनि प्रतिभाले उपेक्षित हुनु नपर्ने बताएका छन् ।
राष्ट्रिय विज्ञान दिवस–२०७६ का अवसरमा आज सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने ध्येयका साथ वर्तमान सरकारले ज्ञान र वैज्ञानिक सोचमा आधारित समाज निर्माण गर्ने विश्वव्यापी मान्यतालाई अङ्गीकार गरेको बताए ।
‘विज्ञान, प्रविधि र नवप्रवत्र्तन, आर्थिक–सामाजिक रुपान्तरणको नारासहित मनाइँदै गरेको यस वर्षको विज्ञान दिवसले देशको आर्थिक–सामाजिक रुपान्तरणमा विज्ञानको महत्वलाई अझ बढी उजागर गर्ने छ भन्ने मेरो विश्वास छ’ उनले विज्ञप्तीमा भनेका छन्, ‘नेपालको संविधानले वैज्ञानिक अध्ययन–अनुसन्धान तथा प्राविधिक उन्नयनलाई विकाससम्बन्धी नीतिमा समाहित गर्ने भावना अघि सारेको छ । सोहीअनुरुप सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अभिवृद्धि गर्दै वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।’
null
सन्देशमा उनले विश्वव्यापी रूपमै अर्थतन्त्रको धार ज्ञान निर्देशित हुँदै गएको परिप्रेक्षमा समृद्ध राष्ट्र निर्माणका लागि नवीनतम ज्ञान र प्रविधिको प्रयोग अत्यावश्यक हुने बताए । उनले नेपालको शैक्षिक र वैज्ञानिक परम्परा शताब्दीऔं पुरानो भएको उल्लेख गर्दै वैज्ञानिक ढङ्गले विश्वकै अध्ययन गर्ने हाम्रा पूर्वजप्रति हामीले गर्व गर्नुपर्ने बताए । ‘बाँकी दुनियाँ अन्धकारमा रहेका बेला यही भूभागमा अनेकन आविष्कार भएका थिए’, उहाँले भन्नुभएको छ, ‘हामीले आफ्नो गौरवमय परम्पराको स्मरण गर्दै फेरि यहाँ विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले राष्ट्रिय विकासको दीर्घकालीन सोचबमोजिम सन् २१०० सम्म समुन्नत राष्ट्रको स्तरमा पुग्ने गरी विकासको गतिलाई बढाउन वर्तमान सरकार दृढ–सङ्कल्पित रहेको उल्लेख गर्र्दै सो लक्ष्य हासिल गर्न सरकारले विज्ञान तथा प्रविधिको अपरिहार्य भूमिकालाई उच्च महत्व प्रदान गरेको स्पष्ट गरे ।
उनले विज्ञान शिक्षालाई चेतनाको मेरुदण्ड उल्लेख गर्दै विज्ञान शिक्षाकै आधारमा गुणस्तरीय प्राविधिक शिक्षामार्फत उत्पादनशील जनशक्तिको विकास गर्दै नवप्रवत्र्तनलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताए । ‘विज्ञान–प्रविधिको विकासबाट आर्थिक समृद्धि हासिल गर्न यस दिवसले हामीलाई थप प्रेरणा दिने विश्वास लिएको छु’, सन्देशमा भनिएको छ ।
प्रदेश र स्थानीय तहमासमेत यही भदौ २६ गतेदेखि शुरु भएको दिवसको सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम भइरहेको छ भने असोज १ गते मूल समारोह समितिको कार्यक्रम हुँदैछ। दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।
कार्यक्रममा कक्षा १२ मा विज्ञान विषयमा उत्कृत अङ्क ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक–एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिने कार्यक्रम छ । यसैगरी विज्ञान विषयमा कलम चलाउने दुई पत्रकार र नयाँ अनुसन्धान गर्ने संस्थालाई पुरस्कृत गरिने कार्यक्रम छ।
सोही दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कुलपति नवप्रवर्तन पुरस्कारको घोषणा गर्ने मन्त्रालयका सचिव डा सञ्जय शर्माले बताए। दिवसका अवसरमा विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी, विज्ञान शिक्षक समाज, रोबोटिक्स एसोसिएशन लगायतले पनि विभिन्न प्रदर्शनी गर्नेछन्।
साताव्यापी कार्यक्रम असोज ५ गतेसम्म चल्नेछ। नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ मङ्सिर ८ गते निर्णय गरी हरेक असोज १ का लागि दिवस मनाउने तय गरेको थियो। नेपाल सरकारले राष्ट्रिय विज्ञान नीति पनि जारी गर्ने तयारी पनि गरेको छ।








