ईन्द्रजात्रामा बिभिन्न देशका ५ मेयर सहित ४८ विदेशी पाहुना सहभागी हुने

भाद्र २५, काठमाडौँ । नेवार समूदायको विशेष पर्व ईन्द्रजात्रामा यस वर्ष ४८ जना विदेशी पाहुना सहभागी हुने भएका छन् ।
बुधबार काठमाडौं महानगरपालिकाले पत्रकार सम्मेलन गरी बिभिन्न देशका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुन लागेको जानकारी दिएको हो ।
मेयर विद्यासुन्दर शाक्यका अनुसार नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन पहिलो पटक इन्द्रजात्रालाई पनि समावेश गरी ५ मेयर सहित ४८ जना विदेशी पाहुनालाई सहभागी गराउन लागिएको हो ।

उनले नेपालको धर्म, संस्कृति र परम्पराको प्रचार गरेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पुर्याउन उनीहरुलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा गरिएको पनि बताए ।
काठमाडौं महानगरपालिकाकाले इन्द्रजात्रा व्यवस्थापन समितिका लागि १० लाख खर्चको व्यवस्था गरेको र इन्द्रजात्रामा सहभागी हुन आउने ४८ जना विदेशी पाहुनाहरुको खर्चको व्यवस्था पनि महानगरपालिकाले नै उठाउने मेयर शाक्यले जानकारी दिए ।
आउँदो २७ गते शुक्रबार ती विदेशी पाहुनाहरु इन्द्रजात्राको विशेष कार्यक्रममा सहभागी हुनेछन् भने उक्त कार्यक्रमको लागि बिहिबारदेखी ति पाहुनाहरु नेपाल भित्रिन सुरु गर्नेछन् ।
मंगलबार देखी सुरु गरिएको इन्द्रजात्रा बिहान ९ः१७ बजेको साइत पारेर गुर्जु पल्टनले भक्तपुरबाट ल्याएको ३२ फिट अग्लो लिंगो ठड्याएर शुभारम्भ गरिएको थियो ।
८ दिने सम्म चल्ने यस जात्रा आठौँ दिन लिंगो ढालेपछि समाप्त भएको मानिन्छ । ईन्द्रजात्राको विशेष दिन शुक्रबार राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति विद्याभण्डारीले वसन्तपुर कुमारीको रथयात्रामा सहभागी भई टीकाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।









