बच्चालाई ज्वरो आउँदा यी कुरामा ध्यान दिनु जरूरी

भाद्र ३१ । शिशुलाई हुर्काउन सारै गाह्रो छ । उनीहरुलाई कति बेला के हुने हो कसैलाई थाहा हुन्छ । एकैछिनमा ज्वरो आइहाल्छ । आफ्नो शिशुलाई ज्वरो आउँदा अभिभावक पनि शारिरिक र मानसिक रुपमा पीडित हुन्छन्।
तर ज्वरो संक्रमणबिरुद्ध जुध्ने शरिरको आफ्नै तरिका हो। कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो जुन आफैं बिस्तारै निको हुन्छ। यसको अर्थ यो होइन कि बच्चालाई उपचार र हेरचाहको आवश्यकता छैन।
शिशुलाई उच्च ज्वरो आउँदा निम्न विषयमा बिचार पुर्याउनुपर्छ। एन्टिबायोटिक दिन हतार नगर्नुहोस्। हो कतिपय अवस्थामा १०१, १०२, १०३ डिग्री ज्वरो आएका बालबालिकालाई पनि एन्टिबायोटिक आवश्यकता पर्दैन। सामान्य प्यारासिटामोल सिरप खुवाएर पनि ज्वरो घटाउन सकिन्छ। स्मरणीय होस् ब्याक्टेरियाको संक्रमणले ज्वरो आएको चिकित्सकले पहिचान गरेपछि मात्र एन्टिबायोटिक दिइन्छ।

हातको विशेष सरसफाई गर्नेः संक्रमणलाई न्यून गर्न पनि बारम्बार बिरामीको हात मन तातो पानीले धोइदिनुपर्छ। खाना खानु अगाडि र पछि एन्टिसेप्टिक प्रयोग गर्नुपर्छ। सधै ताजा खानेकुरा खान दिनुहोस्। फलफुल, घरमै बनाएको फलफुलको जुस, घरमै बनाएको अन्य खानेकुरा खुवाउँदा बच्चाको प्रतिरोधी क्षमता राम्रो हुन्छ। ज्वरोसँगै बच्चालाई वान्ता र पखला लागेको छ भने उसलाई जबरजस्ती नखुवाउनुहोस्। बरु झोलिलो कुरा र पानी पिउन दिनुहोस्। फलफूलको जुस र पानीले डिहाइड्रेसनबाट बचाउँछ।
बच्चाको खानेकुरामा प्रशस्त सागसब्जी (प्रोबायोटिक डाइट) समावेश गर्नुहोस्। यसले पाचन पक्रियामा सहयोग गर्नुका साथै प्रतिरोध क्षमतालाई सुर्धाछ। शरिरको तापक्रम घटाउन मन तातो पानी वा चिसो पानीमा नरम लुगा भिजाएर टाउको र पैतलामा राखिदिनु राम्रो हुने मेडिसिटी अस्पतालकी बालरोग विशेषज्ञ डा. अन्ना शर्माको भनाई छ ।
तापक्रम बढ्ने वित्तिकै यो प्रक्रियालाई दोहोर्याउन सक्नुहुन्छ। बच्चाले पिसाब गरेको छ छैन भन्ने तर्फ पनि ख्याल गर्नुहोस्। ज्वरो आउदा बच्चाले पाँच छ घन्टासम्म पनि पिसाब फेरेको छैन भने उसलाई डिहाइड्रेसन भएको हुन सक्छ। यस्तो अवस्थामा ग्लुकोज पानी चढाउनुपर्ने हुन्छ।
वान्ता गरेपछि तरल वा अन्य कुनै खानेकुरा खान नदिनुहोस्। कुनै खानेकुरा वा जुस दिनुअगाडि वान्ता गरेपछि कम्तिमा ३० मिनेट कुर्नुहोस्। बच्चाको ज्वरो तीन दिनसम्म पनि घटेन र दिनमा पाँच पटकसम्म वान्ता गरेमा तपाईंले वाल विशेषज्ञको सहयोग लिनुपर्छ। यस्तो अवस्थामा अस्पतालमा बच्चाको रगत र पिसाब जाँच गरिन्छ। धैर्य रहनुहोस्। अभिभावकको शान्त स्वाभावले पनि बच्चालाई छिटो निको हुन सजिलो बनाउँछ। एजेन्सी









