चाड पर्व लक्षित स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा सुरु, सस्तोमा सामान पाइने

असोज १, काठमाडौं । चाड पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । इभेण्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको मेलाको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरे । 

मेला उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन समय समयमा आयोजना हुने एक्स्पो तथा मेलाले टेवा पुर्याउने बताए । ‘मेलाले आम उपभोक्तालाई सस्तो मूल्यमा एकै छाना मुनि सामान किन्ने अवसर प्रदान गर्ने भएकाले नै चेम्बरले एक्सपोलाई प्रवद्र्धन गरेको हो ।’ उनले भने । 

ब्राण्डिङमा व्यवसायीलाई पनि मेलाले सहयोग पुर्याउने बताएका चेम्बर अध्यक्ष श्रेष्ठले प्रदर्शनीस्थलको सही व्यवस्थापन नहुँदा आयोजक तथा प्रदर्शकहरुले समस्या झेल्नु परिरहेको बताए । असोज २ देखि ६ गतेसम्मका लागि बुकिङ भैसकेको अवस्थामा समाज कल्याण परिषदले एकाएक मेलालाई एक दिन अघि सार्न लगाएको भन्दै सम्झौता अनुसारको काम गरेर व्यवसायीलाई दुःख दिन नहुने बताए । 

चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । 

विगत वर्षका मेला अधिक रुचाइए पछि यस वर्ष पनि मेलालाई निरन्तरता दिइएको हो । मेलामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत सञ्चालन गरिएको छ ।   

मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको सहभागिता छ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्पोर्टस, क्याजुअल तथा पार्टस सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै दशैंको फूलपातीसम्म विभिन्न मेलामा उद्यमी समुहले निरन्तर सहभागिता जनाउने छ । 

‘अफरै अफरको ब्यापारिक मेला शपिङ गर्ने यहि हो बेला’ भन्ने अर्को नारासहित सुरु भएको मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । मेलामा घरायसी प्रयोजनका सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् । एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गरेको हो । ६० हजार उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *