जापानिज भाषा परीक्षा कात्तिकमा, साउदी हिँडेका दुई नेपाली युवती ओमानको ट्रान्जिटबाटै बेपत्ता, अस्पतालमै मिर्गौलाको कालो धन्दा

भदौ १८, काठमाडौँ । नयाँ पत्रिका दैनिकले जापान जाने कामदारको परीक्षा कात्तिकमा हुने विषयमा समाचार छापेको छ । लामो समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ ।
जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको हो । जापानी श्रम मन्त्रालयले जारी गरेको सूचनाअनुसार असोज दोस्रो सातादेखि आवेदन खुल्ला गरी कात्तिक दोस्रो साता परीक्षा सञ्चालन हुनेछ ।
जापान सरकारले नेपाललगायत अन्य चार मुलुकका लागि परीक्षाको मिति निश्चित गरेको हो । जापान जाने कामदारसँग निश्चित शुल्क लिन पाइँदैन् । बिचौलियालाई निरुत्साहित गर्न नेपाल र जापान दुबै देशका सरकारले आफ्ना निकायमार्फत काम कारबाही अघि बढाउने भएका छन् । परीक्षाका लागि भने प्रवेश शुल्कवापत करिब एक हजार रुपैयाँ लाग्ने छ ।
null
आजको अन्नपूर्ण दैनिकले निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैको मिर्गौला झिकेर प्रत्यारोपण गराईएको तथ्य फेला फरेको विषयमा समाचार लेखेको छ । ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगलले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन)को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो । श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा कुशल र अनुभवी चिकित्सक मानिन्छन् ।
उनले हजारौं मिर्गौला बिरामीको उपचार गरिसकेका छन् । श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढङ्गले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ । यसरी मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल स्वयम् चर्को आर्थिक प्रलोभनमा परेको हुन सक्ने स्रोतहरुले जनाएका छन् ।
योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिएका थिए । तर, मिर्गौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मिर्गौला झिकिएको थियो ।
नयाँ पत्रिका दैनिकले साउदी हिँडेका दुई नेपाली युवती ओमानको ट्रान्जिटबाटै बेपत्ता भएको समाचार लेखेको छ । नयाँ पत्रिकाका अनुसार तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् ।
काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ ।
प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई मानव तस्करीमा संलग्न समूहले ओमनमै बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मानव बेचबिखनको घटनामा यो नयाँ शैली देखिएको ब्युरोका निर्देशक एसएसपी ईश्वरबाबु कार्की बताउँछन् ।








