‘नेपाल अन्तर्राष्ट्रिय आतंककारीको उच्च जोखिममा’, काबुलका नेपाली भन्छन्–‘सरकार, हामीलाई बचाऊ’, मेलम्चीमा गोली चल्यो

भदौ २०, काठमाडौँ । सरकारले गठन गरेको महत्वपूर्ण प्रतिष्ठानको सुरक्षासम्बन्धी सुझाव तथा सिफारिस समितिले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआइपी) का कार्यालय तथा निवास क्षेत्र आसपास व्यापाररव्यावसाय प्रयोजनाका अग्ला भवन निर्माणमा अंकुश लगाउन सिफारिस गरेको छ ।
आतंककारी समूहबाट हुन सक्ने अवाञ्छित गतिविधिको जोखिम औंल्याउँदै समितिले राष्ट्रपति उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिका कार्यालय तथा निवास आसपास क्षेत्रमा भवन निर्माण गर्दा जिल्ला सुरक्षा समितिको स्वीकृति लिनुपर्ने प्रावधान राख्न पनि सिफारिस गरेको छ ।
गृह मन्त्रालयद्वारा गठित उक्त समितिको प्रतिवेदनमा ‘नेपाल अन्तर्राष्ट्रिय आतंककारी तथा संगठित अपराधको समूहबाट हुन सक्ने आक्रमणको उच्च जोखिममा रहेको’ उल्लेख छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
null
कान्तिपुर दैनिकले नै काबुलमा रहेका नेपालीहरुका विषयलाई समेटेर समाचार लेखेको छ । कान्तिपुरका अनुुसार दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो सुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरका छन् ।
सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जनलाइदिएका हुन् । स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रणमा लिएका थिए ।
त्यस्तै आजको अन्नपूर्ण पोस्टले मेलम्ची खानेपानी आयोजनामा स्थानीय मजदुरले गरेको प्रदर्शनको समाचार लेखेको छ । मेलम्ची खानेपानी आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि बिहीबार सुरक्षाकर्मीले गोली चलाएको छ । गोली प्रहारबाट बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् ।
इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले बताए ।








