‘नेपाल बैदेशिक लगानी गर्न सबैभन्दा उत्कृष्ठ गन्तब्य’ पर्यटन मन्त्री

भाद्र २५, काठमाडौं । वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा उपयुक्त गन्तब्य भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् । 

आजबाट राजधानीमा सुरु भएको नेपाल पुर्वाधार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले देशका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकै ठाउँमा उभिएकाले यतिबेला मुलुकमा लगानीको उत्कृष्ठ वातावरण भएको बताए ।   

कार्यक्रममा बोल्दै उनले नेपालमा हवाई यात्रुहरुको संख्या उल्लेख्य मात्रामा बृद्धि भइरहेकोले निकट भविष्यमै दुईवटा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको जानकारी दिए । उनले अवको ५ वर्षभित्र निजगढ अन्तराष्ट्रिय विमानस्थल पनि तयार हुने बताए ।   

Image result for पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई

उनले युरोपेली संघले हवाइ सेवाका लागि नेपाललाई कालोसूचीमा राखेकोप्रति दुःख व्यक्त गर्दै चाँडै नै यो समस्या सुल्झने र त्यसका लागि युरोपेली संघसँग नियमित वार्ता भइरहेको जानकारी गराए । 

सम्मेलनमा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले भूपरिवेष्ठित मुलुकहरुले सम्पत्ति सृजना गर्नका लागि भौतिक पुर्वाधार, अन्तर आबद्धता, सूचना प्रविधि, दीर्घकालिन योजनाजस्ता निश्चित क्षेत्रमा लगानी बढाउनुपर्ने औंल्याए । उनले नेपालको सहरी विकास र ग्रामीण विकासको खाडल ठूलो भएकाले यसको असामञ्जस्य कम गर्न सरकारले लगानी बढाउनु पर्नेमा जोड दिए । डा. वाग्लेले सरकारले थुप्रै यथार्थबादी कुरा गरे पनि केही विषयमा विना अध्ययन ल्याइएका हावादारी योजनाले सरकारको आलोचना बढाएको जिकिर गरे ।   

कार्यक्रममा बोल्दै एसियाली विकास बैंकका पुर्वमहाप्रबन्धक नोरीतादा मोरिताले एसियाको अहिलेको आवश्यकता भनेको अन्तरआबद्धता रहेको जिकिर गरे । उनले यसअघि दक्षिण र पूर्वी एसियाको आवश्यकता शान्तिस्थापना भएकोमा अब भौतिक पुर्वाधार निर्माण र जनताको आयस्तर बढाउन केन्द्रित हुनुपर्ने धारणा राखे ।   

यता परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नेपालले छिमेकी मुलुकहरुसँग ब्यापारिक सम्बन्ध बढाएको बताउँदै क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा ऊर्जा, विद्युत् प्रशारण लाइनको अन्तरआबद्धता, दूरसञ्चार, रेल, पानीजहाज, हवाइ सम्बन्धजस्ता बहुपक्षीय सञ्जाल विकास गर्नेगरी योजना तयार गरेर काम अघि बढाइएको जानकारी दिए । 

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपालले ऊर्जा क्षेत्रका लागि दीर्घकालीन योजना तयार पारिसकेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले चाँडै नै कम्तिमा ५ हजार मेगावाट विद्युत् छिमेकी मुलुकमा विक्री गर्ने बताए । 

सम्मेलनमा बोल्दै भारतीय योजनाविद् राजीव मल्होत्राले नेपाल भारतजस्ता विकाशोन्मुख मुलुकहरुले दीगो र दीर्घकालिन विकासका योजना बनाएर अघि बढ्नुपर्ने औंल्याउँदै ब्यापार बृद्धि गर्नका लागि यातायात तथा ढुवानीका क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । 

यस अघिको सेसनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको निजी क्षेत्र पूर्वाधारमा लगानी गर्न अझै सक्षम नभएको जिकिर गरेका थिए । उनले पूर्वाधारमा सरकारले नै लगानी गर्नुपर्ने बताएका थिए ।   

सरकारले पूर्वाधारमा लगानी गरेपछि निजी क्षेत्रले वस्तु र सेवा उत्पादन गरेर राजस्व वृद्धिको आधार बनाउनुपर्ने उनको भनाइ थियो । निजी क्षेत्रले ऊर्जामा लगानी बढाउनु फाइदाजनक हुने बताउँदै भारत, चीन, भुटान र बंगलादेशसम्म नेपालको विजुली बिक्री गर्न सकिने डा. भट्टराईले बताएका थिए ।   

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल एसियाली विकास बैंकका महानिर्देशक वूचोङ उम लगायतले बोलेको थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *