प्रधानमन्त्रीको पानीजहाज सपना मात्रै, छुटको जग्गा मासिने जोखिम, सामग्री खरिद छानविन गर्दै सेना, चिनियाँ स्टेट काउन्सिलर नेपाल आउँदै

अशोज १, काठमाडौँ । आजका विभिन्न पत्रपित्रकाले फरक फरक विषयलाई आफ्नो मूख्य समाचारको रुपमा छापेका छन् । आजको नयाँ पत्रिका दैनिकले प्रधानमन्त्रीको पानीजहाज सपना शीर्षकमा साचार छापेको छ । प्रधानमन्त्री केपी ओलीले पटक–पटक आफ्नो सपनाको रूपमा अथ्र्याउँदै प्रमुख प्राथमिकतामा राखेको पानीजहाज आयोजना सञ्चालन गर्ने कार्यालय नै एक महिनादेखि नेतृत्वविहीन बनेको छ । तर, पानीजहाज कार्यालयमा नयाँ नेतृत्व नियुक्त हुनुको सट्टा भएका अर्का इन्जिनियर पनि सरुवा गरिएका छन् ।
गत २ फागुनमा प्रधानमन्त्रीले तामझामका साथ उद्घाटन गरेको पानीजहाज कार्यालय हाँक्न तीन इन्जिनियर नियुक्त गरिएका थिए । उनीहरूको सहयोगका लागि थप १३ दरबन्दी राखेर कर्मचारी खटाइएका थिए ।
तर, कार्यालय प्रमुखका रूपमा नियुक्त मेकानिकल इन्जिनियर ऋषिराज कोइरालाले ३२ साउनमा अनिवार्य अवकाश लिएपछि नयाँ नेतृत्व नियुक्त गरिएको छैन । बरु, शाखा अधिकृत तहका अर्का इन्जिनियर सन्दीपा राईलाई पनि ऊर्जा मन्त्रालयमा सरुवा गरिएको छ । हाल द्वितीय श्रेणीका इन्जिनियर विपिन राजभण्डारीले कार्यालय हाँकिरहेका छन् । प्राविधिकको अभावमा दैनिक कार्यसम्पादन नै प्रभावित भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवाली भने काम प्रभावित नभएको दाबी गर्छन् ।

आजको अन्नपूर्ण पोस्टले राष्ट्रसंघ महासभामा नेपालः मन्त्रीले नेतृत्व गर्ने, उपप्रधानमन्त्री सहभागी शीर्षकमा समाचार छापेको छ ।
अन्नपूर्ण पोस्टका अनुसार उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारको नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ । प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४ औं महासभामा सहभागी नहुने भएपछि नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दै छन् ।
सोही महासभाको एक छलफलमा भाग लिन उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि जान लागेका छन् । महासभाको मुख्य बैठकमा राष्ट्रका तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन् । पदीय मर्यादामा उपप्रधानमन्त्री परराष्ट्रमन्त्रीभन्दा माथि हुन्छन् । मन्त्रिपरिषद्को बरियातामा पनि यादव ३ नम्बरमा छन् भने ज्ञवाली ५ नम्बरमा ।
महासभाको प्रमुख आकर्षणमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आयोजना गर्ने रात्रिभोज र सहभागीको सपत्नी फोटो खिचाउने चलन एउटा हो । राष्ट्रसंघीय नियोगका एक अधिकारीका अनुसार यस्तो कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुनेछन् । उपप्रधानमन्त्री यादव भने महासभाअन्तर्गतको स्वास्थ्यसम्बन्धी छलफलमा संलग्न हुनेछन् ।
आजको कान्तिपुर दैनिकले सामग्री खरिद छानविन गर्दै सेना शीर्षकमा समाचार छापेको छ । कान्तिपुरका अनुसार नेपाली सेनाले पछिल्ला दुई वर्षमा बन्दोबस्ती सामान खरिदमा भएका अनियमिततामाथि छानबिन सुरु गरेको छ ।
खरिद प्रक्रियामा रहेका तथा आपूर्ति भइसकेका घतक र गैरघतक सैनिक बन्दोबस्तीका सामानमा घोटला भएको आशंकामा प्रधानसेनापति पूर्णचन्द्र थापाले आन्तरिक छानबिन थालेका हुन् ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार संगठनमा भएका आर्थिक हिनामिना छानबिन गर्न निरीक्षणाधिकृत विभागका उपरथीको नेतृत्वमा जंगी अड्डाले मार्सल टिम बनाएको हो ।
कान्तिपुर दैनिकमा नै हदबन्दी भन्दा बढीको जग्गा सम्बन्धी समाचार लेखेको छ । कान्तिपुरका अनुसार ‘भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्बाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दीभन्दा बढी राख्न दिएको हजारौं बिघा जग्गा मासिने जोखिम बढेको छ ।
प्रतिनिधिसभाबाट यसअघि नै पारित विधेयक राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिपक्षी कांग्रेसलगायतको विरोधीबीच बहुमतबाट पारित गरेकोे हो । विधेयक भूमाफियाको स्वार्थमा ल्याएको र त्यसमा उल्लेखित प्रावधानले हदबन्दीभन्दा बढीको जग्गा अब हिनामिना हुने जानकारहरु बताउँछन् ।
विधेयकको दफा १२ ‘उद्योग, प्रतिष्ठान, कम्पनी, संस्था कुनै कारणले विघटन भएमा या लिक्विडेसनमा गएमा त्यस्ता उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको दायित्व फरफारक गर्ने प्रयोजनका लागि जग्गा बिक्रीवितरण गर्न बाधा परेको मानिनेछैन’ भन्ने व्यवस्था छ ।
आजको नेपाल समाचार पत्रले चिनियाँ स्टेट काउन्सिलर नेपाल आउने विषयलाई आफ्नो मूख्य समाचारको रुपमा प्रकाशन गरेको छ । नेपाल समाचार पत्रका अनुसार चिनीयाँ राष्ट्रपति सी चिनपफिङको नेतृत्वमा रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ यही आइतबार नेपाल आउँदै छन् ।
स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली खछ्याङ, विदेशमन्त्री वाङ यीलगायत हुनुहुन्छ । चिनीयाँ राष्ट्रपति सी जिन चिनफिङको नेपाल भ्रमण पूर्व चिनियाँ उच्च अधिकारीको भ्रमणले निरन्तरता पाएकोे छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेको दुई हप्ताभित्रै चिनियाँ स्टेट काउन्सिलर नेपाल आउन लागेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणमा चिनियाँ काउन्सिलर सोङ थाओ नेपाल आउन लागेका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका प्रवक्ता हू चाओ मिङले सोङ थाइल्याण्ड, इन्डिोनेसिया र नेपाल भ्रमणमा निस्केको अन्तर्राष्ट्रिय समाचार माध्यमलाई जानकारी दिएका छन् ।
अन्य पत्रपत्रिकाले आफ्नो फ्रन्ट पेजमा फरकफरक विषयलाई समाचार बनाएको छ । अन्य पत्रपत्रिकाले आफ्नो फ्रन्ट पेजमा फरकफरक विषयलाई समाचार बनाएको छ ।








