पाइपलाइन मार्फत आयो तेल, आजैबाट पेट्राेल र डिजलको मुल्य घट्यो (लाइभ सहित)

भाद्र २४, वीरगन्ज । नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन उद्घाटन भएको छ । मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको आज मंगलबार औपचारिक उद्घाटन गरिएको छ ।   

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको औपचारिक उद्घाटन गरे । नेपालका प्रधानमन्त्री ओलीले सिंहदरबार र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाट रिमोर्टमार्फत पाइपलाइनको उद्घाटन गरे । 

कुल ६९.२ किलोमिटर पाइपलाइन मध्ये मोतिहारी–अमलेखगञ्ज पाइपलाइन नेपालतर्फ ३६ किमी र बाँकी २७.२ किमी भारततर्फ बिछ्याइएको छ ।   

नेपाल आयल निगमले पेट्रोलियम पाइपलाइनको सुरुवात भएसँगै अब नेपालमा तेल ढुवानी सहज हुने बताएको छ । अब ढुवानी लागत, बाटोको कठिनाइ, जोखिमता लगायतका विविध समस्याहरु हल हुने र यसले पेट्रोलियम पदार्थको बजार मूल्यमा समेत फरक पार्ने निगमको भनाई छ ।   

उद्घाटनसँगै पहिलो चरणमा पाइपलाइन मार्फत डिजेल आपूर्ति गरिएको छ । पर्याप्त पूर्वाधार र भण्डारण व्यवस्थापन पछि भने मट्टीतेल र पेट्रोल समेत सोही पाइप मार्फत ढुवानी गरिने इन्डियन आयल निगम र नेपाल आयल निगमले जनाएका छन् । अमलेखगञ्ज पेट्रोल पम्प डिपोमा १६ हजार किलोलिटर तेल भण्डारण क्षमता रहेको छ ।   

डिपोमा तेल आपूर्तिसँगै तेलको परीक्षण, सप्लाई र भण्डारण सम्मका सबै व्यवस्थापन गरिएको छ । यसअघि ट्याङ्करले भारतबाट नेपाल तेल ढुवानी गर्दै आएको थियो । पाइपलाइनबाट तेल आयात हुने भएपछि सर्वसाधारणमा उल्लास थपिएको छ । 

पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताए । 

अमलेखगन्जमा इन्डियन आयल कर्पोरेसनका अधिकारीले पाइपलाइनबाट आएको तेल बोतलमा थापेर नेपाल आयल निगमका अधिकारीलाई हस्तान्तरण गरेका थिए  । सो तेल भण्डारण गृहमा खन्याइएको थियो । अहिले दुवै देशका प्रधानमन्त्रीहरु भिडियो कन्फरेन्समा जोडिएका छन् ।   

आजैबाट पेट्रोल डिजेल र मट्टितेलको मूल्य घट्ने भएको छ । आज रातिबाट पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर २ रुपैयाँका दरले मुल्य घट्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । 

उनका अनुसार भारतबाट बाराको अमलेखगञ्जमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउन थालेपछि मूल्य घटाइने भएको हो । नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झर्नेछ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । 

https://youtu.be/oilOB5uG8q8 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *