विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी, नारामा मात्रै निरक्षरता, कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर, थप चार मुलुकसँग हवाई सम्झौताको तयारी

भदौ २२, काठमाडौँ । विद्यालयमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । यहाँका एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्छन् । उनीहरुले शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पठाए, कति समयपछि कोठाबाट निस्किए भनेर समेत बिवरण राख्दछन् ।
दार्मा गाउँपालिकाका–१ स्थित जनकल्याण प्राथमिक विद्यालयमा विद्यार्थीमैत्री वातावरण बनाउन विद्यार्थीलाई शिक्षकको हाजिरी गराउन लगाइएको हो । यसले शिक्षक र विद्यार्थी दुवैलाई सक्रिय बनाएको छ । शिक्षकका विषयमा राखिने अभिलेखको रिपोट विद्यार्थीले नियमितरुपमा प्रधानाध्यापकलाई बुझाउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
त्यसैगरी कान्तिपुर दैनिकले नै लेखेको छ नारामा मात्रै निरक्षरता शीर्षकको समाचार । कान्तिपुरका अनुसार २०६५ सालमा सरकारले निरक्षरता उन्मूलन गर्ने अभियान घोषणा गर्यो । र भन्यो, ‘दुई वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउँछौं ।’ अभियान थालेको ११ वर्ष भयो । तर त्यसले पूर्णता पाएको छैन ।
null
गत माघमा मन्त्रिपरिषद्ले २०७६ लाई साक्षर नेपाल वर्ष मनाउने अवधारणा स्वीकृत गर्यो । र, निरक्षरलाई कम्तीमा हस्ताक्षर गर्न सक्ने बनाउने अभियान अघि बढाइयो । त्यसले पनि सार्थक रूप लिन सकेको छैन ।
साक्षर नेपाल वर्ष घोषणाको ६ महिनामा मोरङ, डडेलधुरा, उदयपुर र बैतडी मात्र पूर्ण साक्षर जिल्लाको सूचीमा थपिएका छन् । ७७ मध्ये ५१ लाई मात्रै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । साक्षर नेपाल वर्ष सुरु हुनुअघि ४७ जिल्लालाई साक्षर घोषणा गरिएको थियो ।
साक्षरता घोषणा गरिएका जिल्लामा समेत सरकारी तथ्यांकअनुसार निरक्षरता उन्मूलन नभएको भन्दै अभियानको आलोचना हुँदै आएको छ । साक्षर नेपाल वर्षमा स्थानीय तहहरूलाई पनि साक्षर घोषणा गर्दै जाने लक्ष्य छ । तर अभियानको गति सुस्त छ । २०७७ सालभित्र पूर्ण साक्षर नेपाल बनाउने गरी कार्यक्रम अघि बढाइएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।
आजको आर्थिक अभियानले कालोसूचीमा पर्ने ऋणीको संख्याको विषयमा समाचार लेखेको छ । आर्थिक अभियानका अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कालोसूचीमा परेका ऋणीको संख्या आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढेर २८४२ पुगेको छ । आव २०७४र७५ मा १३३५ ऋणी कालोसूचीमा परेका थिए ।
त्यस्तै आर्थिक अभियानले नै हवाई सम्झौता सम्बन्धी समाचार लेखेको छ । सरकारले थप चार देश फिनल्यान्ड, इन्डोनेशिया, रुस र अस्ष्ट्रेलियासँग हवाई सम्झौताको तयारी गरेको छ । हालसम्म नेपालको ३९ देशसँग हवाई सम्झौता भइसकेको छ । सम्झौताको तयारी गरेका देशमध्ये फिनल्याण्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुची देखाएको हो भने अन्य मुलुकसँग नेपालले चासो बढाएको पर्यटन मन्त्रालयले जनाएको छ ।
यी मुलुकमध्ये रुस पहिले सम्झौता तथा उडानसमेत भएको तर हाल उडान बन्द भएको मुलुक हो । अन्य मुलुक नयाँ हुन् । नेपालसँग हवाई सम्झौता गर्ने ३९ औं मुलुक कम्बोडिया हो ।








