प्रदेश २ मा संविधान दिवस मनाउनेमा मतभेद, राजपाका नेताहरु संविधान दिवसका दिन कालो दिवस मनाउने

भाद्र २१, जनकपुर । प्रदेश २ का मन्त्रीहरु संविधान दिवस मनाउने वा नमनाउने विषयलाई लिएर विभाजित देखिएका छन् ।  प्रदेश २ सरकारका सत्तारुढ समाजवादी पार्टीका मन्त्रीहरु संविधान दिवस मनाउने पक्षमा उभिँदा राष्ट्रिय जनता पार्टी नेपालका मन्त्रीहरु भने संविधान दिवसका दिन कालो दिवस मनाउने अडानमा छन् ।   

राजपाले संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने निर्णय गरेपछि प्रदेश दुई सरकारमा सहभागी राजपाका मन्त्रीहरु समेत पार्टीकै निर्देशनमा अगाडी बढ्ने मनस्थितिमा छन् । समाजवादी पार्टीका मन्त्रीहरु भने, पार्टीको निर्णय जे आएपनि सरकारको हैसियतले आफैं स्वविवेक प्रयोग गर्ने मनस्थितिमा छन् ।   

प्रदेश २ सरकारमा राजपाको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश दुई सरकारले असोज ३ गते भव्यतापूर्वक संविधान दिवस मनाउने बारे आफू लगायत राजपाका कुनै मन्त्रीलाई जानकारी नगराईएको बताए । ‘प्रदेश दुई सरकारको मन्त्रीपरिषदबाट जुन दिन संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय भएको थियो त्यो दिन म उपस्थित थिइन भने, उक्त दिन राजपाका हाम्रा साथीहरु पनि उपस्थित थिएनन् ।’ उनी भन्छन् ।   

संविधान संशोधनको मुद्दा यथावत नै रहेकोले यथास्थितिमा संविधान दिवसका दिन हर्ष गर्न सक्ने स्थिति नरहेको सोनलले बताए । ‘जुन संविधान जारी गर्नका लागि मधेशी जनता माथि लाठी चार्ज गरियो, कफर््यु लगाइयो, गोली दागियो त्यो संविधानका विभेदपूर्ण बुँदा संशोधन नभएसम्म हामी कालो दिवसकै रुपमा मनाउँछौँ ।’ उनले भने । संघ सरकारका एक मन्त्रीले संविधान दिवसकोे बिरोध गर्नेलाई कारबाही गर्छौं भन्ने प्रश्नमा मन्त्री सोनलले ‘आवाज उठाउँदैमा कारबाही गर्ने ? हिम्मत छ भने कारबाही गरेर देखाओस ।’ भन्ने प्रतिक्रिया दिए ।   

यता प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले संविधान दिवस मनाएपनि उत्साहपूर्वक नमनाउने बताए । उनले प्रदेश सरकारले संविधान दिवस मनाउने निर्णय गरेको दिन राजपाका मन्त्रीहरु अनुपस्थित रहेको स्वीकार गर्दै छिट्टै उनीहरुलाई पनि जानकारी गराइने बताए । ‘संविधान दिवस मनाउँदैमा हामीले संविधान संशोधनको मुद्दा बिर्सि सकेका छौँ भन्ने होइन, हामीले यो संविधानलाई आलोचनात्मक रुपमा स्वीकार गरेका छौँ ।’ उनले भने ।   

यादवले यही संविधानको बलमा हामी सरकारको नेतृत्व गरिरहेको बताउँदै सोही संविधानको नाममा सपथ ग्रहण गरेर मन्त्री भएकोले नैतिकरुपमा संविधान दिवस मनाउनु पर्ने बताए । समाजवादी पार्टीले संविधान दिवसको बिरोध गर्ने निर्णय गर्छ भने त्यसपछि के गर्नु हुन्छ प्रश्नमा मन्त्री यादवले पार्टीको निर्णय आएपछि मात्रै त्यस विषयमा विचार गर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *