बम विस्फोटको नेपाली कांग्रेसद्वारा भत्सर्ना, प्रहरी भन्छ–‘विप्लब आतंक निस्तेज हुन्छ’

भाद्र २०, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको दिल्ली पब्लिक स्कुल र इटहरी स्थित गोदावरी कलेजमा भएको बम आक्रमणमा नेपाली कांग्रेसले भत्सर्ना गरेको छ ।   

नेपाली कांग्रेस जिल्ला कार्य समिति सुनसरीले विज्ञप्ति प्रकाशित गर्दै शैक्षिक संस्थामा भएको आक्रमण निन्दनीय भएको भन्दै अस्पताल र शैक्षिक संस्थामा भएको बिस्फोटको तत्काल छानविन हुनुपर्ने बताएको छ ।   

कांग्रेस सुनसरी जिल्ला सचिब सुजेन्द्र तामाङद्वारा जारी विज्ञप्तिमा यो घटनाले धरान इटहरीको मात्र नभइ जिल्लाकै शान्ति सुरक्षा माथि खतरामा बढेको जिकिर गरीएको छ ।   

कांग्रेसले शान्ति सुरक्षाको व्यवस्था मजवुद बनाई भयरहित वातावरणमा जिउन पाउने अवस्था सिर्जना गर्न र यस्ता घटनाका दोषीलाई अविलम्व कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।   

मध्यराती सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरी स्थित गोदावरी कलेजमा कुकर बम बिष्फोट भएको थियो ।  उक्त विस्फोटबाट कुनैपनी मानवीय क्षति नभएपनि विद्यार्थी तथा सर्वसाधारणमा त्रास उत्पन्न भएको छ । 

दुवै विष्फोटहरु विप्लव माओवादीले गराएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले केहि दिन यता सुनसरीका शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्चाइरहेको र केहि दिनअघि विप्लवकै जिल्ला तहका एक नेतालाई प्रहरीले पक्राउ गरेपछि उक्त समुहले जनतामा त्रास फैलाउने नियतले बम विस्फोट गराएको हुन सक्ने बताए ।   

उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्रिय रहेको र बम विस्फोट गराउने समुहलाई चाँडै नियन्त्रणमा लिइने बताए । ‘शैक्षिक संस्था र स्वास्थ्य संस्था भित्र भएको आक्रमणकारीलाई चाँडै नियन्त्रणमा लिन हामीले विशेष तयारी गर्दैछौं, अब जिल्लामा रहेका विप्लबमा आतंक निस्तेज हुन्छ ।’ उनले भने । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *