चिकित्सक भन्छन्–‘डेंगु महामारी होइन समयमै उपचार गराइहाल्नुपर्छ’

भाद्र २०, काठमाडौं । देशभर डेंगुको त्रास बढिरहँदा चिकित्सकहरुले महामारी नभएको तर, समयमा उपचार गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै चिकित्सकहरुले रोग नियन्त्रणका लागि घर देखि गल्लीसम्म जनचेतना र सरसफाईको अभियान चलाइएको जानकारी दिएका हुन् ।   

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले हालसम्म ४२ भन्दा बढी जिल्लामा यो रोगको संक्रमण देखिएको र साउन १ गतेदेखि भदौ १७ गतेसम्म २५५९ जनामा डेंगु रोगबाट संक्रमित भएको तथाङ्क प्रस्तुत गरे ।   

हालसम्म प्रदेश १ मा ७५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १०९३ जना, प्रदेश ४ मा ५७२ जना,प्रदेश ५ मा १०५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना संक्रमित रहेको उनले बताए । यो रोगबाट कास्की, मकवानपुर, सुनसरी, चितवनमा बढी संक्रमण देखिएको छ । 

डेंगुबाट चार जनाको मृत्यु भईसकेको जानकारी दिँदै चिकित्सकले उच्च पहाडी क्षेत्रमा समेत यसको संक्रमण देखिन थालेकोले सचेत हुनुपर्ने जनाए । अहिलेसम्म १३० वटा मुलुकमा यो रोगको संक्रमण देखिएको छ । रोग नियन्त्रणका लागि जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुका साथै गैर सरकारी संस्था, स्थानीय निकायको अगुवाईमा नेपालभर डेंगु संक्रमणका लक्षण र बच्ने उपायका बारेमा घरघरमा जनचेतना फैलाउने काम भईरहेको डा. विवेक लालले जानकारी दिए । लालले भने–‘देशभरका स्थानीय तहमा न्यूनतम ८७ लाख र अधिकतम ८९ लाख बजेट छुट्याएको र हालसम्म ८५ वटा स्थानीय तहमा बजेट विनियोजन गरिएको छ ।’ 

यो रोगबाट गत वर्ष ३ जनाको मृत्यु भएको थियो । विरामीहरुमा डेंगु संक्रमणको कारण मात्र नभई स्क्रबटाइफस, कलेजोको रोग, उच्च रक्तचाप, मृगौलाको संक्रमण जस्ता कारणहरुबाट पनि विरामीको मृत्यू हुने गरेको उनले बताए । लामखुट्टेले १०० जनालाई टोकेमा १० जनालाई डेंगु संक्रमण हुने र संक्रमण भएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने गर्दछ । बढी संक्रमण भएकाहरुमा रक्तश्राव हुने, हड्डी भाचिए जस्तो दुखाई हुने, बान्ता हुने, खान मन नलाग्ने शरीर शिथिल हुँदै जाने जस्ता लक्षणहरु देखिन्छ । 

शुक्रक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले हरेक दुई दुई वर्षको अन्तरालमा डेंगु संक्रमणको रिसर्च हुने गरेको र हरेक तीन वर्षमा यो रोगको प्रकोप देखिने गरेको बताए । ‘डेंगु संक्रमण ६ देखि ७ हजार फिटसम्मको उचाइसम्म पुगिसकेको छ ।’ उनले तर, अहिलेको डेंगु संक्रमण गम्भीर खालको नभएको बताए । यो रोग लामखुुट्टेले संक्रमितलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा सर्ने गर्दछ ।   

उनले अस्पतालमा भदौ १९ गते २५० जनालाई उपचार गरेकोमा ११७ जनामा डेंगु संक्रमण देखिएको बताए । विरामीहरुको चाप बढेसँगै अस्पतालको बेडले अपुग भएको कारण बेड थप्नका लागि स्वास्थ्य मन्त्रालयसँग प्रस्ताव राखेको र हाल २५ हजार विरामीको उपचार भइरहेको उनले बताए । विरामीहरुमा अन्य संक्रमण भएको कारण सबै विरामी डेंगु संक्रमणबाट मृत्यु भएका होइनन भन्ने उनको भनाई छ । ‘डेंगु संक्रमण क्लासिकल लामखुट्टे र सेविसियल लामखुट्टेको टोकाइबाट मात्र हुन्छ ।’   

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पुर्व प्रमुख डा.बाबुराम मरासनीले पानीको खाल्डाखुल्डी भएको ठाउँ, टायर भएको ठाउँमा यसको बढी संक्रमण हुने बताए । यसका लागि सांगठनिक संरचना कमजोर भएको, जलवायु परिवर्तन यसका मुख्य कारण बताए । लामखुट्टेको अध्ययन गर्दा यो २० वर्ष भन्दा पहिले भित्रिएको थियो । त्यसभन्दा पछाडि नभएको र यसबाट बच्नका लागि लाम्खुट्टेको सर्भे गर्ने सांगठनिक संरचना बलियो बनाउँदै जाने, लामखुट्टेले मार्ने काम कुन निकायको हो निर्धारण गर्ने, देशमा लामखुट्टेको रिसर्च गरेर नियन्त्रण उपाय पत्ता लगाउनुपर्ने बताए । ‘सबैभन्दा बढी संक्रमण हुनमा टायर कम्पनी तथा टायर राख्ने ठाउँ, स्कुल, कलेज, स्वास्थ्य मन्त्रालय समेतले चर्पीको गलत तरिकाले प्रयोग गरेको कारण हुन्छ ।’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *