निर्मला हत्या प्रकरणः अनुसन्धानका लागि गृहको प्राविधिक टोली

असोज ८, काठमाडौँ । गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ । 

मन्त्रालयले  एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीले प्राविधिक टोली गठन गरी अनुसन्धान थालेको पुष्टि गरे ।   

‘यो नितान्त प्राविधिक टोली हो, यसको आफ्नै कार्यक्षेत्र छ त्यसकारण यो विषयमा बढी प्रचारवाजी गर्न जरुरी छैन, अनुसन्धान भइरहेको छ,’ प्रवक्ता सुवेदीले भने । गत वर्ष साउन १० गते पन्तको बलात्कारपछि हत्या गरिएको थियो । साथीका घरबाट गृह कार्य गरेर घर फर्किरहेकी पन्तको अर्को दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =