ओम अस्पतालले १९ पटक मान्छे मारिसक्यो, सरकारले कारवाही गर्नुपर्छः ज्ञानेन्द्र शाही
असोज ७, काठमाडौं । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही ओम अस्पतालमा पटक–पटक बिरामीको मृत्यु भएको विषयलाई लिएर स्वास्थ्य मन्त्रालय पुगेका छन् ।
आज (मंगलबार) दिउँसो उनी स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई ओम अस्पतालको लापरवाहीबारे ध्यानाकर्षण गराउन स्वास्थ्य मन्त्रालय पुगेका हुन् । तर मन्त्रीलाई भने भेट्न पाएनन् ।
‘अस्पतालको सम्बन्धित मान्छेलाई भन्दा पनि मन्त्रालयमा कुरा गर्ने हो । अस्पतालले त गल्ती गरीसक्या छ । उसले गल्ती गरीसकेपछि उसलाई भेटिरहन आवश्यक छैन । सम्बन्धित सरकारको मन्त्रालयले त्यसलाई कानूनी कठघरामा उभ्याउनु पर्यो नि होइन र ?’, उनले भने ।
उनी जानेबित्तिकै सुरक्षाकर्मी समेत थप गरिएको थियो । भित्रै छलफलका लागि बोलाउँदा उनले सबै मिडियालाई भित्र जान नदिने भए राज्यमन्त्री नै बहिर आउनुपर्ने अडान राखेका थिए । पछि उनलाई मात्रै भित्र बोलाइएको थियो । भित्र जाँदा आफूमाथि चेकिङ भएको, मोबाइल समेत लैजान नदिएको उनको आरोप छ ।
शाहीले मन्त्रालय परिसरभित्र सञ्चारकर्मीहरुसँग सरकारले बनाएको कानून जनतालाई मात्रै लाग्ने गरेको टिप्पणी गरे । ‘लोकतन्त्रमा एउटा नियम कानून बन्या छ । जनता तर्साउने मात्रै । कानून बनाएर आफैँ लुटिरहेका छन् ।’
आफूले उठाएको विषय जनताको भएको भन्दै उनले ओम अस्पतालको लापरवाहीको जवाफ स्वास्थ्य मन्त्रालयले दिनैपर्ने अडान राखे । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले अहिलेसम्म १९ जना बिरामी मारिसकेको उनले स्पष्ट पारे । ‘मन्त्री छैनन् भने राज्यमन्त्रीले जवाफ दिए पनि भइहाल्यो नि । किन डराउनुपर्यो मसँग । जवाफ दिन नसक्ने मान्छे किन पदमा बस्नु ? पदबाट राजीनामा दिए हुन्छ । मन्त्रीज्यू कहाँ जानुभयो ? अस्पतालमै नागरिकको मृत्यु भन्दा सिरियस म्याटर अरु के हुन सक्छ ?’
उनले ओम अस्पतालको लापरवाहीले नयाँ शंका उब्जिएको बताए । ‘एकपटक मात्रै हो र ? १९ पटक भइसक्यो । १९ पटक मान्छे मारिसक्यो । किड्नी झिकेर बेच्ने अनि बिरामीका परिवारलाई पैसा दिएर थुमथुमाउने ?’, उनले भने, ‘शिकारु डाक्टर ल्याएर जनताको ज्यान जोखिममा पार्ने ? यसले त अर्को शंका पनि उब्जाएको छ । ओम अस्पतालले नयाँ नयाँ औषधीको पो प्रयोग गर्छ कि, रिसर्चका लागि । यस्तै हो भने जनताले अस्पताललाई कसरी विश्वास गर्ने ? धामीलाई देखाए भइहाल्यो नि । कमसेकम अलि बढी त बाँचिन्छ ।’
ओम अस्पताल नभइ मृत्यु घर नामाकरण हुनुपर्ने पनि उनले टिप्पणी गरे । पथ्थरीले हत्तपत्त मान्छे नमर्ने उनले बताए ।