चितवनमा धान जोन क्षेत्र कार्यक्रम लागु हुँदै


असोज ३, चितवन । चितवनमा लागू गर्न लागिएको धान जोन क्षेत्र निर्धारण सम्बन्धमा शुक्रबार सरोकारवालासँग अन्र्तक्रिया गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनले खैरहनी नगरपालिकामा आयोजना गरेको कार्यक्रममा धान जोन कार्यक्रमका बारे जानकारी गराउनुका साथै सुझाव समेत संकलन गरिएको थियो ।
परियोजनाले पूर्वी चितवनको रत्ननगर,खैरहनी र राप्ती नगरपालिकामा धान जोन लागू गर्दैछ । कार्यक्रममा यहाँका जनप्रतिनिधीहरुले किसानले उत्पादन गरेको कृषि उपजको वजार ग्यारेन्टी हुने गरि परियोजना लागू गर्नु पर्ने सुझाव दिए ।
खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले तीन सरकारबीच समन्वय र सहकार्य नभएसम्म परियोजना सफल हुन नसक्ने दावी गरे । प्रमुख चौधरीले प्रदेश र संघबाट आउने कार्यक्रमहरु संचालनका विषयमा स्थानीय सरकारलाई जानकारी नै नहुने गरेको भन्दै गुनासो गरे ।
रत्ननगर नगरपालिका प्रमुख नारायण वनले किसानले उत्पादन गरेका धानले वजार पाउने ग्यारेन्टी प्रदेश र संघीय सरकारले लिनु पर्ने धारणा राखे । जिल्ला समन्वय समिति प्रमुख कृष्ण कुमार डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्ण प्रसाद खनालले भुउपयोग निति नबनाउँदा सम्म परियोजना सफल हुन नसक्ने औंल्याए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश तीनका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषिमा आमुल परिवर्तन गर्न परम्परागत रुपमा गरिने खेती प्रणालीलाई आधुनिनिकरण गर्नुपर्नेमा जोड दिए ।
कृषि र कृषकको विकासका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा विभिन्न अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएका मन्त्री लामाले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाका अनुसार चालु आर्थिक वर्षदेखी लागू हुने गरी धान जोन कार्यक्रम लागू गर्न लागिएको छ । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको धान उत्पादन हुने वडाहरुलाई समेटेर जोन लागू हुने तिमल्सीनाले बताए ।
जोन लागू गर्न ५ सय हेक्टर धान खेती हुने क्षेत्रफल भए पुग्ने भएपनि तीन नगरपालिकामा ५ हजार ८२३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको परियोजना कार्यान्वयन ईकाई चितवनका कृषि अधिकृत इन्द्र ढुंगानाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा धान जोन कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
