बालुवाटार जग्गा किनबेचमा सर्वोच्चका न्यायाशीश रेग्मी संलग्न, नेपाली कर्मचारी भारतबाट तलब बुझ्दै

काठमाडौं, १७ साउन । आजका दैनिक पत्रिकामा फरक फरक समाचारले प्राथमिकता पाएका छन् । कान्तिपुरले बालुवाटार जग्गा किनबेचमा सर्वोच्च अदालतका न्यायाशीश कुमार रेग्मी संलग्न भएको समाचार छापेको छ । कान्तिपुरले सर्वोच्चका न्यायाधीश कुमार रेग्मी बालुवाटारको सरकारी जग्गा किनबेचमा संलग्न भएकोबारे लेख्छ, ‘तत्कालीन कानुन व्यवसायी कुमार रेग्मीले २०६१ माघ ११ मा तीन कित्ता जग्गा मीनबहादुर गुरुङबाट किनी साढे दुई वर्षपछि टुक्रा टुक्रा पारेर बेचेका थिए ।’ कान्तिपुरसँग कुराकानी गर्दा रेग्मीले जग्गा किनेको स्वीकार पनि गरेका छन् ।
रेग्मीले भनेका छन्, ‘अलअलि पैसा लिनु थियो । सँगै भएका बेला उनीसँग धेरै मान्छेले जग्गा लिएको हुनाले मैले पनि लिएँ । पछि त्यहाँ बाटो छैन, के छैन, त्यो राखेर पो के गर्ने भन्ने भएपछि एक-दुई वर्षमै बिक्री भइहाल्यो । जति टुक्रा थियो, त्यति नै टुक्रा गरेर बेचेका हुन् । त्यतिबेला जग्गाको पृष्ठभूमि केही थाहा थिएन । मीनबहादुर व्यापारिक पृष्ठभूमिको भएकाले नाफा होला भनेर लगानी गरेको हो ।’
कान्तिपुरमा कोसी र गण्डक ब्यारेजका नेपाली कर्मचारीहरुले भारतबाट तलब बुझ्ने गरेको समाचार पनि छ । कान्तिपुर लेख्छ, ‘कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झन्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृतसहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य सरकारबाट नियमित तलब थाप्दै आएका छन् ।’
null
अन्नपूर्ण पोष्ट दैनिकले एनसेलका ३५ टावरमा आगजनी गरिएको समाचार र राजधानी दैनिकले १४ मंसिरमा उपनिर्वाचन गर्ने सरकारको निर्णय भनेर समाचार छापेको छ ।
सरकारी मुखपत्र गोरखापत्र दैनिकले भने प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पौने २ लाखले रोजगारी पाएको समाचार छापेको छ ।








