कामै नगरी ८० लाख झ्वाम: भोक्राहा नरसिंह गाउँ सभा सदस्यहरुले मागे कामको विवरण

 

साउन १५, भोक्राहा । गाउँपालिकाको वडा नम्बर ८ मा वडाध्यक्ष र इन्जिनियरको मिलेमितोमा लाखौं भ्रष्टाचार भएको बारे मकालु खबरले समाचार प्रकाशन गरेपछि उक्त गाउँपालिकाका आधा दर्जन गाउँसभाका सदस्यहरुले गाउँपालिकाले गरेको सबै कामकाजको विवरण माग गरेका छन् । गाउँपालिकाका सदस्यहरुले भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग विवरण माग गरेका हुन् । 

प्रदेश नम्बर १ सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराएको करिब ८० लाख रुपैयाँ बराबरको रकम भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष हातिम अन्सारीले नियोजित ढङ्गबाट भ्रष्टाचार गरेको सूचना बाहिरीएपछि आईतबार र सोमबार गाउँपालिका पुगेको सयबढी स्थानीयहरुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई लिखित निवेदन बुझाउदै आर्थिक वर्ष ०७५/०७६ मा विकास निर्माणका गतिविधि बारे लिखित जानकारी माग गरेका हुन् । 

null

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले सडक निर्माणमा वडाध्यक्ष र इन्जिनियरले मिलेमतो गरेर भ्रष्टाचार गरेको तथा उपभोक्ता समितिमा वडाध्यक्षले आफ्ना नातागोताका मान्छे राखेको भन्ने उजुरी आएको मकालु खबरलाई बताए । 

 

‘इन्जिनियर र वडाध्यक्षले कामै नगरी भ्रष्टाचार गरेको र उपभोक्ता समितिमा आफ्नालाई राखेको भन्दै छानविन गर्न भनेर उजुरी आएको छ, अख्तियारमा पनि उजुरी परेको रहेछ, अख्तियारले कागजात माग गरेको खण्डमा हामी सबै बुझाउँछौं ।’ प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए । उनले वडाध्यक्षलाई समेत यस विषयमा सोधपुछ गरेको बताए । 

भोक्राहा नरसिंह गाउँपालिका वाडा नम्बर ८ का अध्यक्ष अन्सारीले आफनै नातेदारहरुलाई उपभोक्ता समितिमा राखी बनाएको फर्जी समितिको नाममा झुटो विवरणको आधारमा प्रदेश सरकारको ८० लाख बराबरको रकम भ्रष्टाचार गरेको सुचना यस अघि नै बाहिरी सकिएको छ । 

गाउँपालिकाका इन्जिनियर पप्पु कुमार यादवलाई लाखौं रकम घुस दिई फर्जी कामको बिल समेत अन्सारीले बनाएका थिए । सो वडाको आर्थिक अनियमितता सम्वन्धित समाचार प्रकाशन भएपछि भोक्राहा नरसिंह गाउँपालिकाका आधा दर्जन गाउँ सभा सदस्य समेत घटना छानबिनको माग गर्दै गाउँपालिकामा निवेदन दर्ता गराएका छन् । निवेदन गराउनेहरुमा गाउँसभा सदस्यहरु सुनिल कुमार साह, तपेश्वर यादव, कलवा उराँव, शिवनारायण साह, श्यामदेव ठाकुर र अरसद अन्सारी रहेका छन् । 

यता गाउँपालिकाका इन्जिनियर पप्पु यादवले भने आफुले कुनै भ्रष्टाचार नगरेको जिकिर गरे । ‘सडक निर्माणमा पक्रिया पुर्याइएरै काम गरिएको छ, यसमा कामै नभइ भुक्तानी भएको हैन, यो विपक्षीहरुले बदनाम बनाउन गरेका हुन् ।’ इन्जिनियर यादवले मकालु खबरसँग भने । 

गाउँसभा सदस्यहरुले आर्थिक वर्ष ०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन तथा गाउँसभाद्धारा समिक्षा र अनुमोदन गरीएका निर्णयहरुको प्रतिलिपि, गत आ.व ०७४÷०७५ मा गाउँसभा बाहेक कार्यपालिकाले छनौट गरेका योजनाहरुको विवरण आव ०७४/०७५ मा लक्षित वर्ग तर्फ भएका विभिन्न कार्यक्रमको पूर्ण विवरण लगायत १२ वटा बुँदामा आधारित विषयबस्तुसँग सम्वन्धित प्रक्रिया र खर्चको पूर्ण विवरण माग गरेका छन् । 

गाउँपालिकाका प्रशासकीय अधिकृतले विवरण उपलब्ध गराउन तोक आदेश गरेपनि निवेदकहरुले माग अनुसारको सुचना प्राप्त गर्न नसकेको गाउँसभा सदस्य सुनिल कुमार साहले बताए । 

यता वडा नं. ८ का वडाध्यक्ष हातिम अन्सारीले आफुले कुनै भ्रष्टाचार नगरेको जिकिर गर्दै विपक्षीले रिसिइवी साध्न आरोप लगाएको बताए । ‘यो सब मेरो विपक्षी पार्टी राप्रपाका हसबुल मियाले लगाएको आरोप मात्र हो । काम भएको छ, प्रदेश सरकारले १ करोड ३० लाख बजेट दिएको थियो, त्यसमा उपभोक्ता समिति मार्फत सरिता निर्माण सेवाले ३० प्रतिशत विलोमा टेण्डर प्राप्त गरेको हो, जसमा सडक माटो ग्राभेल गर्ने भनिएको छ । इष्टिमेट अनुसार ठेकेदारले काम गरेपछि मात्र भुक्तानी भएको छ ।’ उनले भने । 

अन्सारीले आफुले कुनैपनि होटलमा बसेर इन्जिनियरलाई पैसा दिएको सिसिटिभी फुटेज भेटिए जस्तो सुकै कारवाही भोग्न तयार समेत रहेको जिकिर गरे । ‘आरोप लगाउन पनि आधार हुनुपर्छ नी, इनरुवाको रोयल होटलमा मैले इन्जिनियरलाई भेटेर पैसा दिएको देखिए म कारवाही भोग्न तयार छु ।’ मकालु खबरसँग वडाध्यक्ष अन्सारीले भने । 

अन्सारीले संसदीय निर्वाचनमा आफुले उपेन्द्र यादवको गफार अन्सारीलाई निर्वाचनमा सहयोग गरेको बदला लिन हसबुल मियाले मान्छे उचालेको जिकिर गरे । अन्सारीले हसबुल मियाले सोहि वडाको शनियाइ टोलमा ६६० मिटर सडक कालोपत्रे गर्दा इष्टिमेट अनुसार काम नगर्दा आफुले बजेट भुक्तानी रोकिदिएकोले त्यसको रिस समेत साँधेको बताए । 

‘जसले यो विषय उठाइरहेको छ, उसैले मेरै वडाको सडक कालोपत्रे बनाउँदा इष्टिमेट अनुसार सववेस नहाली वेस बनाएर सडक बनाएको पाइएको थियो पछि समितिले राम्रो काम नगरेपछि भुक्तानी रोकिदिँदा उसले मलाई पख म देखाइदिन्छु भनेको थियो, त्यही रिस फेरेको हो ।’ उनले भने ।  हसबुल मियाले उक्त सडक ७३ लाखमा कालोपत्रे गर्ने ठेक्का पाएपनि सववेस नहाली सडक बनाउँदा वडाले भुक्तानी दिन रोकेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *