वीपी प्रतिष्ठान धरानमा युरो गाइनोकोलोजी फेलोसिप शुरु

भाद्र २, धरान । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ वर्षे युरो गाइनोकोलोजी फेलोसिप कार्यक्रम शुरु हुने भएको छ ।   

प्रतिष्ठानका फेलोसिप कार्यक्रम निर्देशक डा. मोहचन्द्र रेग्मीका अनुसार नेपालमै पहिलोपटक शुरु हुन लागेको फेलोसिपका लागि एमडी गरेर एक वर्षको अनुभव भएका चिकित्सकहरूले आवेदन दिन सक्नेछन् ।  आगामी सेप्टेम्बर १ देखि शुरु हुने फेलोसिप कार्यक्रमका लागि आवेदन दिएकामध्ये प्रतिष्ठानभित्रका १ र अन्य १ नेपालीले फेलोसिपमा अध्ययन गर्ने मौका पाउने बताइएको छ । 

प्रतिष्ठानले हालै युरोगाइनोकोलोजीमा भर्नाका लागि सार्वजनिक सूचना पनी जारी गरेको छ । सुचना अनुसार फाउण्डेसन फर इण्टरनेशनल युरोगाइनोकोलोजीकल एसिष्टेन्स (फ्युगा) को सहयोगमा शुरु हुनलागेको फेलोसिप बारे फ्युगाले नेपाल प्रोजेक्टका रूपमा आफ्नो वेबसाइटमा यो कार्यक्रमलाई राखेको छ ।   

विश्वका विकसित देशमा हुने गरेको युरोगाइनोकोलोजी फेलोसिप छिमेकी मुलुक भारतमा समेत भर्खरै शुरु गरिएको  फेलोसिप कार्यक्रम निर्देशक डा.रेग्मीको भनाई छ । उनका अनुसार युरोगाइनोकोलोजी फेलोसिपले मुलुकमै दक्ष जनशक्ति उत्पादनमा ठूलो सहयोग पुग्नेछ । 

प्रतिष्ठानले युरोगाइनोकोलोजीसँगै स्पाइन सर्जरी र इमर्जेन्सी मेडिसिनमा पनि फेलोसिप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरु खनालले बताए । यसमध्ये इमर्जेन्सी मेडिसिनमा सन् २०१३ देखि नै फेलोसिप कार्यक्रम शुरु भएको हो भने स्पाइन सर्जरी यसै वर्षदेखि शुरु भएको प्रतिष्ठानको भनाई छ ।   

निमित्त उपकुलपतिले पछिल्लो समय प्रतिष्ठानले विशिष्टिकृत चिकित्सा शिक्षालाई प्रमुखताका साथ लिएको बताउँदै आउँदा दिनहरुमा अन्य विषय पनी थप गर्ने योजना रहेको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *