राप्ती प्रतिष्ठानका नौ जना मेडिकल अधिकृतलाई करार सेवाबाट हटाइयाे, उपकुलपतिकाे राजीनामा माग

भाद्र ८, राप्ती । असन्तुष्टि जनाउँदै राजीनामा दिएका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत नौ जना मेडिकल अधिकृतलाई करार सेवाबाट हटाइएको छ । प्रतिष्ठानले राजीनामा दिएका मेडिकल अफिसरहरूमध्ये नौ जनाको राजीनामा स्वीकृत गर्दै आइतबार उनीहरूको करार सेवा भंग गरेको हो । 

नियम अनुसार नचल्ने नौ जना मेडिकल अफिसरहरूको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले प्रतिष्ठानको करार सेवा भंग गरिएको बताइन् । उनीहरुलाई प्रतिष्ठानमा आउने बिरामीलाई बाहिर पठाउने, निजी मेडिकलबाट रकम असुल्नेजस्ता गतिविधि गरेको आरोप छ ।   

प्रतिष्ठानका डा. मनोज यादवले प्रष्ठिानमा आएका बिरामीलाई बाहिर पठाउने र त्यहाँबाट कमिसन लिने काम गरिरहेको भेटिएको प्रतिष्ठानकी उपकुलपति डा. भण्डारीले बताइन् । राजीनामा दिएका अन्य करार डाक्टरहरूको गतिविधिबारे समेत प्रतिष्ठानले अनुसन्धान थालेको बताइएको छ । 

उपकुलपति भण्डारीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका अन्य सरकारी डाक्टरहरूलाई काममा फर्कन आग्रह गरिएको छ । त्यसमध्ये चार जना विशेषज्ञ सरकारी डाक्टरमध्ये तीन जना काममा फर्किसकेको उपकुलपतिको भनाई छ । सामुहिक राजीनामा दिएका मध्ये डा. अनिल यादव फर्कन बाँकी छ ।   

प्रतिष्ठानका डिन, रेक्टरलगायत तीन जना काममा फर्किसकेका छन् । उपकुलपति भण्डारीले घुर्की र अनावश्यक दबाबका लागि राजीनामा दिइएकाले त्यस्तो कदमबाट आफू बिचलित नहुने भन्दै प्रतिष्ठान आउने,  हाजिर लगाउने अनि दिनभर बाहिर निजी मेडिकलमा काम गर्ने प्रवृत्तिविरुद्ध प्रतिष्ठान कडाइसाथ उभिने बताइन् । 

राजीनामा दिएका अन्य १३ जना सरकारी डाक्टरलाई स्वास्थ्य मन्त्रालयमा आइतबार नै फिर्ता पठाएको प्रतिष्ठानका रेक्टर डा. विएन यादवले बताए । प्रतिष्ठानमा आएका सरकारी डाक्टरले प्रतिष्ठानमा कम र बाहिर धेरै समय बिताएको आरोप लाग्दै आएको छ । आइतबारदेखि नै प्रतिष्ठानले डिजिटल हाजिरी सुरू गरेको र समयमा नआउने डाक्टरको उक्त दिनको हाजिरी रेकर्ड नै नराख्ने नियम पनि बनाइएको छ । 

चिकित्सकहरूले सामूहिक राजीनामा दिएपछि प्रतिष्ठानको सेवा प्रवाहमा समस्या आएको छ । आइतबारबाटै ओपिडी सेवा प्रभावित भएको छ ।   

सरकारी चिकित्सकसँग विवाद बढिरहेको समयमा प्रतिष्ठान आफैंले नियुक्त गरेका चिकित्सकले समेत राजीनामा दिएपछि प्रतिष्ठानमा अहिले आवश्यक चिकित्सक छैनन् ।   

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एकपछि अर्को विवादमा फस्दै गएको भन्दै ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बआचौं अभियान’ गठन गरिएको छ । 

उपकुलपति संगिता भण्डारी 

सर्वपक्षीय भेलाले विकिरण गौतमको संयोजकत्वमा ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियान’ गठन गरेको छ । अभियानका संयोजक गौतमले आइतबार मात्रै विज्ञप्ति प्रकाशित गरी उपकुलपति भण्डारीको राजीनामा माग गरेका छन् । प्रतिष्ठानका उपकुलपति सरोकारवाला निकायसँग समन्वय नगर्ने, प्रतिष्ठानलाई थप व्यवस्थित गर्न भन्दा सबैसँग विवाद गरेर जुहारी खेल्नमै व्यस्त रहेको र प्रतिष्ठानभित्र व्यापक अनियमितता बढेको आरोप छ । 

नागरिक समाज दाङले पनि प्रतिष्ठान बचाउन अभियानको मागप्रति ऐक्यवद्धता जाहेर गरेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *