दुइ राईको अन्तर्द्वन्द्वमा रुमलिएको धराने कांग्रेसले बामपन्थीको गढ भत्काउन सक्ला त !

  

 

साउन ३०, धरान । सुनसरी जिल्लाकै सुगम तथा पर्यटकीय नगर धरान उपमहानगरपालिकामा रिक्त रहेको मेयरको निर्वाचनको माहौल तातिँदै गएको छ । 

null

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय निकायका ५० स्थानमा रिक्त रहेका जनप्रतिनिधिहरुको उपनिर्वाचन मंसिर ४ गते गर्ने घोषणा गरेसँगै प्रदेश १ को धरान उपमहानगरपालिकाको मेयर पदमा ककसको प्रतिष्पर्धा होला चर्चाको विषय बनेको छ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको असायमिक निधनले रिक्त रहेको मेयर पद खान नेपाली कांग्रेस र नेकपा विच नै प्रत्यक्ष प्रतिष्पर्धा हुने निश्चित छ । 

बामपन्थीहरुको गढकारुपमा रहेको धरानमा कांग्रेस सदैव पराजीत हुँदै आएको छ । २०४६ पछि भएका सबै निर्वाचनमा धरानले कांग्रेसलाई पत्याउन सकिरहेका छैनन् । हुनत धरानमा कांग्रेसीहरुको बाहुल्यता नभएको पनि हैन । तर, अहिलेसम्म भएका निर्वाचनहरुका कांग्रेस बामपन्थी विशेष गरेर तत्कालिन नेकपा एमालेसँग पराजीत हुँदै आइरहेको छ । 

२०४९ र २०५४ को स्थानीय निर्वाचनमा मेयर र उपमेयर दुवैमा एमालेले जित जित हासिल गर्दा २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा समेत एमालेकै बर्चस्व कायम रह्यो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट मेयरका प्रत्यासी मनोजकुमार मेन्याङवो पराजीत भएपनि लालकिल्ला भने तोडिएन । 

त्यसपछिको दोस्रो संविधान सभामा तत्कालिन नेकपा एमालेले आफ्नो गुमेको विरासत फिर्ता लिँदा नेपाली कांग्रेस पुनः दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भयो । नयाँ संविधान जारी भएपछिको निर्वाचनमा समेत बाम गठबन्धन उम्मेद्वार नै विजयी हुँदै कांग्रेसको सपनामा तुषारपात गरिदियो । पञ्चायती ब्यवस्थासँगै बहुदलिय ब्यवस्थाको ३० वर्षे राजनीतिमा कांग्रेसले कहिल्लै लालकिल्ला तोड्न नसकेको इतिहास हेर्दा अब मंसिर ४ गते हुने उपनिर्वाचनमा पनि कांग्रेस विजयी हुन सक्छ भन्ने आधार बन्न सकेको छैन । 

धरानमा कांग्रेसले तारतारे झण्डा फरहराउन नसक्नुमा बामपन्थीको एकताले हैन कि, आफ्नै आन्तरिक किचलो जिम्मेवार छ । धराने कांग्रेसीहरुमा फुटतन्त्र र गुटतन्त्र मज्जाले मौलाएको छ । 

जतिबेला स्वर्गिय गिरिजाप्रसाद कोइराला र बर्तमान पार्टी सभापति शेरबहादुर देउवा विच अन्तर्संघर्ष हुँदा पार्टी ६० र ४० मा विभाजित भयो । त्यहि देखिको धराने कांग्रेसीहरु कित्ताकाट भए । नेपाली कांग्रेसबाट राजनीति गरिरहेका पूर्व नगरसभापति किशोर राई, बर्तमान नगर सभापति तिलक राई, क्षेत्रिय सभापति चन्द्रप्रसाद श्रेष्ठ, अहिलेकी प्रतिनिधिसभाका सदस्यहरु मिन विश्वकर्मा, मिना सुब्बा लगायतहरु शेर बहादुर देउवा र गिरिजा प्रसाद कोइराला पक्ष विच विभाजित भए । देशभर नै कांग्रेसीहरु ६० र ४० मा विभाजित हुँदा धरान त्यसबाट चोखो रहन सक्ने अवस्था पनि थिए । यो भागवण्डामा धरानका दुई स्थानीय नेताहरु किशोर राई र तिलक राई पक्षधरविच ठूलो अन्तर्द्वन्द्व सृजना भयो । 

यातायात ब्यवसायी समेत रहेका तिलक राईले फुटवल क्षेत्रमा परिचित किशोर राईलाई देख्न सकेनन् । भने एन्फामा रहेर अन्तराष्ट्रिय स्तरसम्म नाम कमाएका किशोर राईले तिलक राईलाई मन पराउने कुरा पनि भएन । किशोर राईको राजनीति र फुटवलमा तिलक राईले हस्तक्षेप गर्दा, किशोर राईले पनि तिलक राईको खेदो खन्न बाँकी राखेनन् । अन्ततः धरानले हरेक निर्वाचनमा यी दुई राई विचको आन्तरिक दुस्मनीले पराजयको सामना गर्नुपर्यो । जितको नजिक पुगेर पनि हारिरहनु पर्यो । 

धरानले कांग्रेसमा यसपटक हुने उपनिर्वाचनमा पुनः त्यहि नियती देखा नपर्ला भन्न सकिन्न ? 

मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसबाट मेयरको लागि उम्मेद्वारी दिने घोषणा गर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले जागीरबाटै राजीनामा दिइसक्नुमा उनको उम्मेद्वारी निश्चित जस्तै देखिएको छ । करिब डेढ दशकदेखि प्रतिष्ठानमा कार्यरत तामाङले एकाएक राजीनामा दिएर उम्मेद्वार बन्ने घोषणा गरिरहँदा धराने कम्युनिस्ट झस्कीएका छन् । 

 

वीपी प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरू खनाललाई राजिनामा पत्र बुझाउँदै सुजेन्द्र तामाङ  

अहिले धरानको नेकपा भित्र आन्तरिक कलह छ । नेकपा एमाले र माओवादी विचको एकतामा भागवण्डा नमिल्दा बामपन्थीहरु विभाजित छन् । यहि कलहको फाइदा उठाउँदा पार्टी भन्दा एक कदम अघि बढेर सरकारी जागीरलाई नै तिलाञ्जली दिएर चुनावी रण मैदानमा उत्रिने उद्घोष गरेका सुजेन्द्र तामाङलाई आदीबासी जनजाति र कांग्रेसीले इमान्दार भएर मत दिए उनको जित सुनिश्चित छ । तथापि, सुजेन्द्र तामाङलाई उपनिर्वाचन त्यत्ति सजिलो भने छैन । पार्टी भित्रको रडाको, जातिय राजनीतिको प्रभाव, बाहिर फुटेपनि भित्रभित्रै मिल्ने कम्युनिस्टहरुको रणनीतिले तामाङलाई सकस छ । तामाङलाई घर बाहिरको हैन घर भित्रकै कलहले सिध्याउन सक्छ । अर्थात, किशोर राई र तिलक राईको कलहमा सुजेन्द्र तामाङ ‘बलिको बोको’ नहोलान् भन्न सकिन्न । 

 

उपनिर्वाचनको मिति घोषणा हुनु अगावै नेकपाका अध्यक्ष प्रचण्डबाट टिका लगाएर विप्लव माओवादीबाट नेकपामा प्रवेश गरेका किरणकुमार राईको धरानमा खुबै चर्चा छ । जनयुद्ध ताका विभिन्न युद्धमोर्चामा बहादुरीपूर्वक लडेका किरणकुमार अहिलेपनि जिउभर गोलीका छर्रा लिएर हिडिरहेको भनिन्छ । 

पहिलो संविधानसभा निर्वाचनमा धरानका भेट्रान एमाले नेता तत्कालिन धरान नगरपालिकाका मेयर मनोजकुमार मेन्याङवोलाई पराजित गर्दै चर्चामा किरणकुमार राई यसपटक धरानको मेयरमा उठ्ने चर्चा चलाइएको छ । तथापि, नेकपाले यसलाई आधिकारिक पुष्टि गर्न बाँकी छ । 

संविधानसभा सदस्य समेत भइसकेका नेता स्थानीय निकायको निर्वाचनमा उठ्न आँटेको, पदकै लागि विप्लवलाई लात हानेको भन्दै आलोचना पनि भइरहेको अवस्था छ । तर, यतिबेला धरान नेकपामा अनुभवी र स्थानीय जनताकै प्रतिनिधित्व गर्न सक्ने उम्मेद्वारको खडेरी भने देखिएको छ । 

नेकपाका अवइन्द्र वेघा, चोत्लुङको हैसियल खासै देखिएको छैन । पार्टी भित्र समेत यिनीहरुको भूमिका सन्तोषजनक नभइरहेको जिकिर गरीएको छ  । उपमहानगरपालिकामा उपमेयर नेकपा एमालेकै मञ्जु भण्डारी भएकोले मेयर माओवादी पक्षधरबाट हुनुपर्ने एकाथरी नेकपावालाको धारणा छ । कतिपय कम्युनिस्टले नगरका कार्यवाहक मेयर मञ्जु भण्डारीमा देखिएको दम्भ साइजमा ल्याउन पनि नेकपा पक्षधरलाई मेयरमा उठाइनु पर्ने बताइरहेका छन् । 

कम्युनिस्टहरुको गढका रुपमा परिचित धरानमा चार तारे झण्डा फरहराउन कांग्रेसलाई जति गाह्रो भइरहेको छ । यस पटक कम्युनिस्ट विराशत जोगाउन योग्य, इमान्दार र जनताले रुचाएको नेतृत्व छान्न नेकपालाई सकस परेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *