सुनसरी टेक्निकल कलेजको होस्टल इन्चार्ज थिए फरार किरण राजभण्डारी, कलेज भन्छ–‘चिट प्रकरणको जिम्मेवारी लिँदैनौं’

  

भाद्र २, सुनसरी । आफ्नै कलेजका विद्यार्थी र कर्मचारीको संलग्नतामा चिट चोर्ने चोराउने कार्य भइरहेकोमा सुनसरी टेक्निकल कलेज धरानले घटनाको जिम्मेवारी नलिने बताएको छ । हिजो एक विज्ञप्ति प्रकाशित गरी सिटिइभिटिको फाइनल परीक्षा दिइरहेका विद्यार्थी पक्राउ परेको र उनीहरुलाई चिट चोराउन आफ्नो कर्मचारी संलग्नताको बिषयमा कलेजले कुनैपनि जिम्मेवारी नलिने जनाएको छ । 

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक लेखीराज सुब्बाले चिट चोरेको आरोपमा पक्राउ परेका विद्यार्थीहरु तथा कर्मचारी किरणराज भण्डारी आफ्नो कर्मचारी भएपनि उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको जिकिर गर्दै जिम्मेवारी नलिने भनेका हुन् । ‘त्यो कर्मचारीले हाम्रो नाम लिएर बदमासी गरेछ, विद्यार्थीले पैसा ख्वाएछन् । त्यसलाई हामीले कारवाही गरीसक्यौं ।’ कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक लेखिराज सुब्बाले मकालु खबरसँग भने । उनले कलेजमा एक डेढ सय कर्मचारी रहेको र कसले के गर्छ आफुले हेर्न समेत नसक्ने भन्दै गैरजिम्मेवारपूर्वक जवाफ दिए । उनले किरण राजभण्डारी कलेजको सामान्य कर्मचारी भनेर जवाफ दिएपनि किरणले भने आफ्नो फेसवुक पेजमा कलेजको होस्टल इन्चार्ज भनेर परीचय खुलाएका छन् । 

‘तपाईकै योजना अनुसार चिट चोराउने कार्यभएको र सिटिइभिटिका कर्मचारीहरु तपाईकै इशारामा चल्छन् रे ?’ भन्ने मकालु खबरको प्रश्नमा सुब्बाले तपाईले खेलाई खेलाई प्रश्न गर्दै हुनुहुन्छ भन्दै कुनै कर्मचारीले कलेजको नाम लिएर त्यस्तो गरे आफु जिम्मेवारी लिन नसक्ने बताए । ‘कलेजले कहाँ चलखेल गर्छ हो ! परीक्षा लिने सिटिइभिटि, परीक्षा केन्द्र किरातेश्वर मावि, त्यहाँको सुपरीटेन्डेड स्कुलको प्रिन्सिपल, परीक्षाको प्रश्नहरु सिटिइभिटिले ल्याउँछ, सुरक्षा दिने प्रहरी, कलेजलाई कहाँ थाहा हुन्छ ?’ उनले उल्टै प्रश्न गरे ।   

सञ्चालक सुब्बाले आफुहरुलाई सिटिइभिटिको कुन विषयको कहाँ परीक्षा भइरहेको समेत थाहा नहुने जिकिर गरे । ‘हाम्रो जाँचहरु वर्षैभरी भइरहेको हुन्छ, सिटिइभिटिको एकातिर हुन्छ, टियूको अर्कोतिर हुन्छ, कसले कहाँ चलखेल गर्छ हामीले कसरी जिम्मेवारी लिनसक्छौं ?’ भन्दै उनले यो प्रश्न सिटिइभिटिलाई सोध्न भने ।   

सुब्बाले परीक्षा लिने सिटिइभिटि, सुरक्षा दिने प्रहरी भएकोले परीक्षा स्थलमा कलेजको कोही पनी जान नसक्ने दावि गरे । तथापि, कलेज सञ्चालक सुब्बाका राइटहेण्ड किरणराज भण्डारी नै परीक्षा स्थलमा गएर चिट वितरण गरेको बुझिएको छ । उनले कलेज र कलेज सञ्चालकको नाम लिएर प्रति विद्यार्थी २५ हजारसम्म लिएको स्रोतको दावि छ ।   

कलेजका एक विद्यार्थीले पनी नाम उल्लेख नगर्ने शर्तमा निज भण्डारीले कलेज सञ्चालक लेखिराज सुब्बा, क्याम्पस चिफ अमित कुमार गुप्ताको नामै लिएर सिटिइभिटिको माथिल्लो तहसम्म सेटिङ भएकोले परीक्षामा सजिलै पास गराउन सक्ने भन्दै २५ हजार पैसा आफुसँग पनी मागेको बताए । ‘मलाई पनी उसले २५ हजार तिरेर ढुक्कसँग पास हुन भनेको थियो, मसँग पैसा नभएकोले दिन सकिन ।’ ती विद्यार्थीले भने ।   

कलेजले घटनामा संलग्न भनिएका कर्मचारी भण्डारीलाई भने कलेजबाट बर्खास्त गरेको जनाएको छ । ‘कलेजको एक कर्मचारी र विद्यार्थीको मिलेमतोमा भएको भनिएको अमर्यादित र अनुशासन विपरीत कार्यको कलेजले भत्र्सना गर्दै जिम्मेवारी नलिने पनि यसै विज्ञप्तीमार्फत जानकारी गराउँदछौं, घटनामा संलग्न भनिएका कर्मचारीलाई कलेजले कारबाही स्वरुप बर्खास्त गरेको समेत जानकारी गराउँदछौं ।’ कलेजले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कलेजले आफुले जानेको ज्ञान र क्षमतालाई प्रस्तुत नगरी चिट चोर्ने र चोराउने कार्य आफैमा निन्दनीय र अमर्यादित कार्य भएको ठहर गरेको छ ।   

कलेजका अध्यक्ष सुब्बाले प्रहरीको घेराभित्र भएको परीक्षामा सिटिइभिटिको उत्तरपुस्तिका र प्रश्नपत्र कसरी बाहिर गयो तथा  उत्तर पुस्तिकाहरु पुनः कसरी परीक्षा हलमा पुग्यो ? भन्दै प्रश्न गरेकाछन् । साथै कलेजले परीक्षा हलमा बाहिरबाट सिंगो उत्तरपुस्तिका पुग्दा परीक्षामा खटिएका केन्द्राध्यक्ष, सिटिइभिटिका बाह्य सुपरीवेक्षक, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, इलाका प्रशासनका प्रतिनिधि साथै परीक्षा हलमा खटिएका निरीक्षकहरु कहाँ गएका थिएँ ? भन्दै प्रश्न उठाएका छन् ।   

सिटिइभिटिले साउन २९ गते लिएको डिप्लोमा इन फार्मेसीअन्र्तगतको केमेष्ट्री बिषयको परीक्षामा चिट चोरी गरेको आरोपमा कलेजका ११ जना विद्यार्थी पक्राउ परेका छन् भने ५ जना अझै फरार छन् । उनीहरुलाई बाहिरबाट रेडिमेड उत्तरपुस्तिका उपलब्ध गराउन कलेजका कर्मचारी भण्डारीको मात्र प्रमुख भुमिका रहेको बताइएको भएपनि उक्त घटनामा कलेजको समेत संलग्नता रहेको बुझिएको छ ।   

सुनसरी टेक्निकल कलेज धरानको मात्र नभएर पूर्वमै सबैभन्दा बढि सिटिइभिटिको कोर्ष पढाउने कलेज हो । कलेजले त्रिभुवन विश्वविद्यालयका कोर्षसमेत अध्यापन गराउने गर्दछ । कलेजले सिटिइभिटिको इटहरी कार्यालयका कर्मचारीसँगको साँठगाँठमा विद्यार्थी पास गराउने गरेको स्रोतको दावि छ । ‘यो कुरा वर्षौदेखि चलिरहेको छ । सिटिइभिटि इटहरीका हाकिम र ठूला कर्मचारीहरु नियमित रुपमा कलेजबाट नजराना लिन्छन् ।’ स्रोत भन्दछ । स्रोतले क–कसले यस्तो काम गर्छन् नाम दिनुस भन्दा कर्मचारीको नाम खुलाउन चाहेन । ‘सिटिइभिटिका धेरै कर्मचारी महिनै पिच्छे कलेजमा जान्छन्, कलेजका शिक्षकहरु यहाँ आउँछन् । किरणराज भण्डारी भन्ने त, यहाँका हाकिमहरुको नामै लिएर भेट्न आउथ्यो ।’ इटहरी स्रोत भन्छ । उनी इटहरी स्थित सिटिइभिटिको कार्यालयमा जाँदा कार्यालयका कर्मचारी समेत नमस्कार गर्दथे । 

स्रोतले दिएको सुचना अनुसार कलेजका क्याम्पस चिफ अमित कुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत दधी आचार्यको योजना अनुसार विद्यार्थीबाट पैसा उठाउने कार्य गर्दथे । कलेजले विद्यार्थीकालागि होस्टल समेत सञ्चालन गर्ने गरेकोमा किरणलाई उक्त होस्टलको इन्चार्ज बनाएरै पैसा उठाउने धन्धा चलाइरहेको स्रोत जिकिर गर्दछ ।   

यस विषयमा सिटिइभिटि इटहरी कार्यालयका प्रमुख शिवराज दाहालसँग कुरा गर्न खोज्दा उनको मोवाइल अफ पाइयो । कार्यलयका एक सहयोगीले प्रमुख दाहाल केहि दिन यता कार्यालयको कामले अति ब्यस्त रहेकोले कोहिसँग पनी कुरा गर्न नसक्ने जवाफ दिए । उनले सुनसरी टेक्निकल कलेजका विद्यार्थीमा यस्ता समस्या पटकपटक आइरहेको बताए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *