‘मसँग जित्नुको विकल्प छैन, जनतालाई निराश बनाउँदिन’

 

साउन १६, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री योगेश भट्टराईले मन्त्रालयले गर्ने निर्णयका विषयमा आम जनतालाई बताएर परिणाम देखिने गरी काम गर्ने बताएका छन् । 

बिहीबार तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् । 

null

परिणाम देखिन कति समय लाग्ला भन्ने सञ्चारकर्मीहरु प्रश्नको जवाफ दिँदै उनले भने, ‘भर्खर त काम थाल्दैछु । बल्ल त ब्याटिङ गर्न आएको छु । हानौँला नि चौका छक्का त ।’ 

आफूसामु निकै ठुलो चुनौति रहेको स्वीकार्दै उनले आफूसँग जित्नुको विकल्प नभएको बताए । ‘मेरो सामु चुनौति र दबाब छ । त्यो दबाबले मलाई उत्साहित पनि बनाएको छ । मैँले असाध्यै राम्रो खेल प्रदर्शन गर्नुपर्छ । मेरा दर्शक, स्रोता, जनताहरुलाई निराश बनाएर स्टेडियमबाट फर्काउँदिन । मैँले जित्नैपर्छ । मसँग जित्नुको विकल्प छैन’, उनले भने । 

पर्यटनमन्त्री भट्टराईले जनतालाई निराश नबनाउने तथा प्रधानमन्त्री ओलीको विश्वासमाथि कुठाराघात नगर्ने प्रतिबद्धता पनि जनाए । 

पूर्वमन्त्री अधिकारीले सुरु गरेका कामलाई नयाँ उचाईमा लैजाने समेत उनले घोषणा गरेका छन् । उनले आफू अस्वभाविक बाटोबाट आएको भन्दै यसलाई स्वभाविक मार्ग दिएर आफ्नो कर्तव्यका साथ अघि बढ्ने पनि सुनाए । 

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपश्चात् रिक्त भएको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भट्टराईलाई नियुक्त गरेका थिए । मन्त्री अधिकारीको गत फागुन १५ गते मृत्यु भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाल्दै आएका थिए । 

अधिकारीको मृत्यु भएको ५ महिनापछि उक्त मन्त्रालयमा भट्टराईलाई नियुक्त गरिएको हो । हिजै सपथ लिएका मन्त्री भट्टराईले मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *